काठमाडौं- नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना बी टेपलेट्जले आज बिहान शिष्टाचार भेट गर्नुभएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटमा नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध, अमेरिकाले नेपालको आर्थिक-सामाजिक विकासमा पुर्याएको योगदान, नेपालको पछिल्लो राजनीतिक अवस्था र सभापति कोइरालाको आसन्न अमेरिका भ्रमणका विषयमा कुराकानी भएको थियो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका कोइरालाले राजनीतिक दलहरुबीच समझदारी र सहमति कायम गरी लोकतान्त्रिक संविधान निर्माण गर्ने लामो प्रक्रियालाई निष्कर्षमा पुर्याइएको बताउनुभयो । उहाँले अहिले नेपालका सबै राजनीतिक दल लोकतान्त्रिक पद्दतिको एकै छातामुनि आउनु निकै सुखद् पक्ष भएको बताउनुभयो ।
सभापति कोइरालाले नेपालमा लोकतन्त्रको स्थापना, विकास र लोकतान्त्रिक संविधान निर्माणमा निरन्तर नैतिक समर्थन तथा नेपालको आर्थिक र सामाजिक विकासमा निरन्तर दिँदै आएको सहयोगप्रति अमेरिकाको प्रशंसा पनि गर्नुभयो । उहाँले भूकम्पपछि अमेरिकाबाट प्राप्त सहयोग प्रसङ्ग पनि उल्लेख गर्नुभएको थियो ।
सो अवसरमा सभापति कोइरालाले नेपालमा हाल देखिएको असहज अवस्थाको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार र आन्दोलनकारी दलबीचको वार्ता परिणाममुखी हुनेमा आफू विश्वस्त भएको बताउनुभयो ।
सभापति कोइरालाले अमेरिकामा स्वास्थोपचारपछि राजनीतिक भेटघाटमा पनि सरिक हुने बताउनुभएको थियो । सो अवसरमा अमेरिकी राजदूत टेपलेट्जले कोइरालाको नेतृत्वकालमा नेपालमा लोकतान्त्रिक संविधानको निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको थियो ।