मृत्यु हुनेमध्ये १८ को सनाखत
रसुवा- काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना ३ ख ५७०६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो । घटनास्थलमा २९ यात्रुको मृत्यु भएको थियो ।
मृतकका शवहरु अहिले जिल्ला अस्पताल धुन्चेमा राखिएको र बुधबार बिहानदेखि शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांश रसुवाका भए पनि सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त बसमा करिब ८९ यात्रु रहेको बताइएको छ । घाइतेमध्ये तीनजना जिल्ला अस्पताल धुन्चेमा सामान्य उपचारपछि घर फर्केका छन् ।
दुर्घटनामा रसुवाका सरमथली, भोर्ले, लहरेपौवा, धैबुङ, हाकु, गुल्जुङ, गत्लाङ, टिमुरे तथा बारा, सिन्धुली, नुवाकोट लगायतजिल्लाका समेत परेका प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवदेश विष्टका अनुसार मृत्यु हुनेमा महिला १४, पुरुष २०, बालक एक, बालिका एक छन् । तीमध्ये त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा एक, त्रिशूली अस्पतालमा पाँच, जिल्ला अस्पताल धुन्चेमा एक र घटनास्थलमा २९ जनाको मत्यु भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये गुल्जुङ गाविस-५ का तीन वर्षीय बालक निमाटासी तामाङको मात्र सनाखत भएको छ । उक्त बस पासाङल्हामु सडकखण्डको राम्चे गाविस-३ ग्राङस्थित सडकबाट करिब ५०० मि तल खसेर दुर्घटना भएको थियो ।
यसैबीच, रसुवामा मङ्गलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये अहिलेसम्म १८ जनाको सनाखत भएको छ ।
प्रहरी नायब उपरीक्षक अवधेश विष्टका अनुसार सनाखत हुनेमा रसुवा हाकु–८ का ३४ वर्षीय बुद्धिबहादुर तामाङ र ४५ वर्षीय रिसाङ तामाङ, नुवाकोट गेर्खु–८ का २३ वर्षीय विष्णुप्रसाद घिमिरे, चिलिमे–६ का १९ वर्षीय पासाङछिरिङ तामाङ, रसुवा श्रमथली–८ का २८ वर्षीय सुवासकर्म लामा, घोर्ले–७ की ५५ वर्षीया बाटुली तामाङ, घोर्ले–४ की ५५ वर्षीया सोममाया थिङ, २२ वर्षीय लालकाजी तामाङ, ५५ वर्षीय शान्तिमाया थिङ, नुवाकोट जिल्ला चारघरे–५ बस्ने २८ वर्षीय रामजी भनिने भूमिनन्द रिजाल छन् ।
त्यस्तै चारघरे–४ का २९ वर्षीय दुर्गाप्रसाद भट्ट, रसुवा धैबुङ–९ की ४४ वर्षीया चरीमाया लो, १९ वर्षीय दिनेश मोक्तान, २६ वर्षीया इन्दिरा तामाङ, गोल्जुङ–३ का ३८ वर्षीय मेङ्दो साङ्मु, २३ वर्षीय छेवाङ घले, रसुवा चिलिमे–२ का ४० वर्षीय ल्ह्लाक्पा तामाङ र चिलिमे–१ का ल्ह्लाक्पा छोमो तामाङ रहेका छन् ।