आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

ताप्लेजुङ– ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (केक्याप) ले संरक्षण क्षेत्र आयोजनाभित्र विश्वमा नै लोप हुँदै गएको हिमचितुवा र नाउर (जङ्गली भेडा) को सङ्ख्या बढ्दै गएको बताएको छ ।

यस क्षेत्रमा अहिले २४ वटा हिमचितुवा रहेको आयोजनाको दाबी रहेको छ भने नाउरको सङ्ख्या पनि ७०० ले बढेको बताइएको छ ।

ताप्लेजुङमा आयोजित कार्यक्रममा आयोजनाका प्रबन्धक सुजितकुमार श्रेष्ठले बताएअनुसार हिमचितुवाको संरक्षण अभियान थालिएको औपचारिक वर्ष सन् २००९ को प्रारम्भिक नतिजामा बढीमा १८ वटासम्म हिमचितुवा रहेको अनुमान गरिएकामा अहिले बढेर २४ पुगेको हो ।श्रेष्ठका अनुसार याङ्मा र खम्बाचेन इलाकामा क्यामरा ट्रयाप गरिएका दुईवटा हिमचितुवा को घाँटीमा रेडियो कलर गरी उसको दैनिकीबारे गुगलबाट अध्ययन हुँदै आएको छ ।

यस्तै नाउरको सङ्ख्या सन् २००७ मा एक हजार १६७ रहेकामा चालु आव सन् २०१५ भित्र यो सङ्ख्या बढेर एक हजार ८१३ पुगेको समेत श्रेष्ठले जानकारी दिनुभयो । संरक्षण र दिगो विकासको बाँकी काम समुदायद्वारा गठित परिषद्लाई जिम्मा लगाउँदै संरक्षण क्षेत्र आयोजनाले १८ वर्षपछि जिम्मेवारीबाट हात झिकेको छ ।

आयोजनाको सुरुवात २०५४ सालदेखि चालु आवको असोज १५ सम्मको अवधिमा आयोजनाले यहाँका लागि विभिन्न शीर्षकमा ४५ करोड ९७ लाख ३० हजार ४६१ खर्च गरेको जनाएको छ । आयोजना प्रबन्धक श्रेष्ठले सेप्टेम्बर २०१५ पछि आयोजनाको सबै कार्यावधि औपचारिक रुपमा सकिने जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया