आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

नेपालीका लागि २ हजार र विदेशीका लागि २५ सय भाडा
काठमाण्डाै-पोखरा यातायात व्यवसायीले हवाइजहाजकाे भन्दा पनि सुविधाजनक पोखरा-काठमाण्डाै बस सेवा सञ्चालनमा ल्याउने भएको छ । सुपर डिलक्स मार्फत यात्रुलाई सेवा दिन व्यवसायी लागि परेकाे हाे । पृथ्वी राजमार्ग बस व्यवसायी समिति मार्फत सञ्चालन हुने बस पाेखरा जगदम्बा ट्राभल्सले ल्याउन लागेकाे हाे ।

करीव ३ कराेड ५० लाखकाे लागतमा दुई बसबाट सञ्चालन हुन लागेकाे यो सेवा विदेशी तथा व्यवसायी पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्न लागेको ट्राभल्सको भनाई रहेको छ ।
अशोक लेल्याड कम्पनीको २०३ चिता मोडलको बसलाई अत्याधुनिक सुविधासम्पन्न बनाउन बस पोखरा अाईसकेको छ । अबको एक हप्तापछि सेवा शुरू गर्ने ट्राभलका सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए । सुविधा सम्पन्न बनाउनकै लागि ३२ सिट भएको बसलाइ २१ सिट बनाउन लागिएको छ । बसको एउटा सिट मात्रै बनाउन १ लाख ३६ हजार रूपैयाँ लागत लाग्ने बताइएको छ ।

बसमा सिटलाई कस्तो अवस्थामा राख्ने भन्ने कुरा पुरै रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्न सिकने सुविधा छ । बसको सेवा जहाजहरूमा दिने जस्तै बनाउन लागिएको छ । विमानमा हुने एयर होस्टेजजस्तै बसमा पनि क्रियु लेडी रहनेछिन । बस सञ्चालन भएको केही बेरमै यात्रुको इच्छा अनुसार पानी, चिया, कफी, चिसोका साथै खाजाको समेत व्यवस्था हुने संचलान पक्षले जनाएको छ । पोखरादेखि काठमाण्डाैसम्मको भाडा दर नेपाली पर्यटकका लागि २ हजार र विदेशी पर्यटकका लागि २५ सय निर्धारण गरिएको छ । यति धेरै सुविधा भएको बस सेवा एसियामा नै पहिलो भएको पनि सञ्चालन पक्षकाे दावी छ ।  ‘एसी’ र ‘हिटर’को सुविधा रहेको बसमा मिनी बारको व्यवस्था रहेकाे छ । मिनीबारको साइडमा मार्वलहरु राखिएका छन् । यात्रुलाई बसबाट बिदाई गर्ने क्रममा चिसो मौसममा ‘हट’ रुमाल र गर्मीमा चिसो खालको रुमाल उपहार स्वरुप प्रदान गरिने अधिकारीले जानकारी दिए । बसमा चालक, सह-चालक र क्रियु लेडीगरी ३ जना कर्मचारी रहनेछन् । हरियो ‘नम्बरप्लेट’मा सञ्चालन हुने बस पोखराको लेकसाइडबाट र काठमाडौंको दरबारमार्गबाट दैनिक १-१ वटा छुट्नेछन् ।***

तपाईको प्रतिक्रिया