आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- विवादमा मुछिएका नेपालस्थित बेलायती राजदूत एण्डी स्पार्कसले नेपाल छाडेका छन् ।

धर्म परिवर्तनका पक्षमा खुलमखुला वकालत गरेर विवादमा मुछिएका राजदूत स्पार्कस छुट्टी लिएर सोमबार बेलायत गएका हुन् । नेपाल सरकारले स्पष्टीकरणको तयारी गरेपछि राजदूत स्पार्कस बिदामा बसेका हुन् ।
राजदूतको विवादास्पद भनाइ बाहिर आएपछि प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई उनीसँग स्पष्टीकरण सोध्न निर्देशन दिएका थिए । सोही बमोजिम मन्त्री पाण्डेले परराष्ट्र मन्त्रालयमा बोलाउने तयारी गरिरहेका थिए ।

राजदूत स्पार्कसले केही दिनअघि एउटा दैनिक पत्रिकामार्फत नयाँ बन्ने संविधानमा धर्म परिवर्तनलाई कानुनी अधिकारका रुपमा स्वीकार गर्न सभासदहरुलाई अपिल गरेका थिए ।
यसैबीच, हिन्दू युवा संयोजन अभियान नामक संस्थाले धर्म परिवर्तनको पक्षमा वकालत गरेका राजदूत स्पार्कसलाई माफी माग्न माग गरेको छ ।

नेपालस्थित बेलायती दूतावासमा ज्ञापनपत्र बुझाउँदै संस्थाले आफ्नो विवादास्पद अभिव्यक्ति सम्बन्धमा सार्वजनिक रुपमा माफी माग्न अन्यथा नेपाल छाड्न माग गरेको थियो ।

राजदूत स्पार्कस दुई साता लामो बिदा लिएर लण्डन गएकाले कार्यबहाक राजदूत गाइ हेरिसनलाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया