आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

भरतपुर- अर्थमन्त्री डाक्टर रामशरण महतले नेपालको लागि पाँच प्रदेश उपयुक्त हुने बताएका छन् । नेपाली काँग्रेसले सात प्रदेशको अवधारणा ल्याइरहेको बेला महतले नेपालको आर्थिक अवस्था सुहाउने पाँच प्रदेश भएको बताएका हुन् ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री डाक्टर महतले राजनीतिक सहमतिको लागि काँग्रेसले सात प्रस्तावको अवधारणा ल्याएको बताए । संघीय व्यवस्था महङ्गो व्यवस्था भएको बताउँदै महतले भने, – ‘संघीयतामा धेरै प्रान्त रहनु पर्छ र यसको आर्थिक भार हाम्रो जस्तो गरिब मुलुकले थेग्न सक्दैन ।’

महतले माघ ८ सम्म संविधानका प्रमुख मुद्दा सुल्झने आशा गरेको बताए । ‘हाम्रो माझमा गम्भीर मतभेदहरु छन्, यसलाई समाधान गर्ने प्रयास भइरहेको छ’ महतले भने, – ‘हाल काँग्रेस र एमालेको अडान ठीक छ र हामीसँग जनमत पनि छ, तर सहमतिमा नै संविधान जारी गर्न हामीले प्रयास गरिरहेका छौँ ।’
माघ ८ मा नै संविधान जारी गर्नु पर्छ भन्ने कुनै कानुन नभएको बताउँदै यो माघ ८ मा संविधान जारी गर्नुपर्ने नैतिक बन्धन भएको महतले बताए । संविधान जारी गर्न सहमति नभएका राजनीतिक मुद्दा सल्टियो भने प्राविधिक कुराको लागि समय नलाग्ने महतले बताएका थिए ।

तपाईको प्रतिक्रिया