आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि आजबाट छलफल सुरु भएको छ । समितिका सभापति बाबुराम भट्टराईले समितिको प्रतिवेदनमाथि छलफल गरियोस भन्ने प्रस्ताव राखेपछि सभाध्यक्ष सुवास नेम्बाङले छलफल आरम्भ गरेका हुन् ।

बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सभासद रामचन्द्र पौडेलले संवाद समितिको प्रतिवेदन चौंथो पटक पनि असहमतिकै पेस भएको भन्दै अब दलहरुले चुनावमा जाँदा जनतासँग गरेको प्रतिवद्धता सम्झनुपर्ने समय आएको बताए ।
‘हामीले एक वर्ष भित्र संविधान गर्ने प्रतिवद्धता जनतासँग गरेका छौं’, पौडेलले भने, ‘माघ आठ आउन अव धेरै दिन बाँकी छैन, हामीले ट्रयाक वान ट्याक टु दुबैमा छलफल गरेर पनि सहमतिमा पुग्न सकेनौं, त्यसैले लामो समयको अलमल टुंग्याउनु आवस्यक छ ।’

उनले कांग्रेस–एमाले, राप्रपा र स्वतन्त्र सभासदसहितले राखेको प्रस्ताव अघि बढ्नका लागि सन्दर्भ सामग्री हुन सक्ने भएपनि त्यसो हुन नसकेको बताए ।
‘नेताहरुले बनाएको संविधानले हुन्थ्यो भने ४७ सालमै संविधान बनिसकेको थियो,’ उनले भने, ‘अहिले पनि जनताका प्रतिनिधिलाई छलफल गर्न नदिएर नेताहरुबीच मात्र छलफल गरेर एउटा गल्ति भएको छ ।’

पौडेलले ढिलै भएपनि छलफल आरम्भ भएकाले अब सहमतिसँगै प्रक्रियाका विषयमा पनि अघि बढ्नु पर्ने बताए ।
‘सहमतिका लागि भनेर संविधान नै नबन्ने अवस्था आउन हुँदैन’, उनले भने ।

तपाईको प्रतिक्रिया