आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- विश्वमा धेरै आत्महत्या हुने देशमध्ये नेपाल आठौँ स्थानमा परेको छ ।
नेपालमा औसतमा दैनिक १३ नेपालीले आत्महत्या गर्ने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आत्महत्याका घटना गुयनामा भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसपछि उत्तर कोरिया, दक्षिण कोरिया, श्रीलंका, लिथुआनिया, सुरिनाम, मोजाम्बिक, नेपाल र तान्जानिया छन् ।
नेपालमा आत्महत्याका घटना बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार पाँच वर्षयता आत्महत्याका घटना ५० प्रतिशतले वृद्धि भएका छन् । आव ०६६/६७ मा तीन हजार तीन सय नौजनाले आत्महत्या गरेका थिए ।
०७०/७१ मा चार हजार पाँच सय चारजनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । ०६१र६२ देखि ०७०/७१ सम्म २९ हजार नौ सय पाँचजनाले आत्महत्या गरेको नेपाल प्रहरीका डिएसपी पवन गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार विष सेवन गरेर, आगो लगाएर, झुन्डिएर, नदी तथा भीरबाट हामफालेर, करेन्ट लगाएर, डुबेर तथा हातहतियार एवं औजार प्रयोग गरेर आत्महत्याका घटना हुने गरेका छन् । आत्महत्या गर्नेमा बढी महिला छन् ।
प्रहरीले घटना विश्लेषणका आधारमा उमेर समूह, पेसा तथा व्यवसायमा संलग्नहरूको प्रतिशत पनि निकालेको छ ।
प्रहरीले ०७०/७१ मा आत्महत्या गरी ज्यान गुमाउनेमध्ये एक हजार ६ सय ६० घटनाको नमुना परीक्षण र अध्ययन गरेको थियो ।
सो अध्ययनमा आत्महत्या गर्नेमा महिलाको संख्या पुरुषभन्दा ४।८ प्रतिशतले बढी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया