आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- सरकारले नेपालका लागि वेलायती राजदूत एन्ड्रयू जेम्स स्पाक्र्ससँग स्पष्टिकरण सोध्ने भएको छ ।

राजदूत एन्ड्रयूले नेपालको भावी संविधानमा धर्म परिवर्तनको अधिकार सुनिश्चित गरिनुपर्ने भन्दै सभासदहरुका नाममा खुला पत्र जारी गरेका थिए ।

उनको भनाइ कूटनीतिक मर्यादा विपरित, नेपालको राष्ट्रिय मामिलामा हस्तक्षेप भएको भन्दै कांग्रेस संसदीय दलको आजको बैठकमा सभासदहरुले कुरा उठाएका छन् ।

कांग्रेसका प्रभावशाली सभासद शेखर कोइरालाले दलको बैठकमा वेलायती राजदूतको भनाइप्रति आपत्ति जनाउँदै उनको अभिव्यक्तिलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताएका थिए ।

स्रोतका अनुसार संसदीय दलमा प्रधानमन्त्री कोइरालाले अनौपचारिक रुपमा केही सभासदलाई यस सम्बन्धमा राजदूत एन्ड्रयूसँग स्पष्टिकरण सोध्ने तयारी सरकारले गरेको बताएका छन् ।

कोइरालाले वेलायती राजदूतसँग स्पष्टिकरण सोध्ने कुरा आज बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि बताएका छन् ।

बिहान प्रधानमन्त्रीसँगको भेटमा थापाले वेलायती राजदूतको अभिव्यक्तिमा सरकारले प्रतिक्रिया दिनुपर्ने बताएका थिए ।

जवाफमा प्रधानमन्त्रीको भनाइ उदृत गर्दै राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘बेलायती राजदूतको भनाई अत्यन्त आपत्तिजनक रहेको उल्लेख गर्नु हुँदै प्रधानमन्त्री कोइरालाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदूतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने पनि प्रतिनिधिमण्डललाई विश्वास दिलाउनु भयो ।’

प्रधानमन्त्री कोइरालालाई भेट्न अध्यक्ष थापा सहितको प्रतिनिधिण्डल बालुवाटार गएको थियो । ***

तपाईको प्रतिक्रिया