आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

कमल थापाले भेटे प्रधानमन्त्रीलाई
काठमाडौं- राप्रपा नेपालले पुस २७ गते पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भेटवार्ता गरी पुस २७ गते पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

भेटमा संविधान निर्माणको सम्बन्धमा पनि विस्तृत रुपमा कुराकानी भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा नेपालका अध्यक्ष थापाले निर्धारित समयभित्र संविधान निर्माण हुनुपर्ने र त्यो संविधानमा नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनु पर्ने आफ़्नो पार्टीको अडान प्रधानमन्त्री समक्ष दोहोर्‍याएका छन् ।

अध्यक्ष थापाले सहमति निर्माणको क्रममा मुलुकको चौथो महत्वपूर्ण राजनीतिक शक्तिलाई निषेध गरिएको बिषयलाई आफूहरुले अत्यन्त गम्भिरतापूर्वक लिएको समेत बताए । हालै वेलायती राजदूतले धर्म परिवर्तन गर्ने/गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनि दिएको विवादास्पद अभिव्यक्तिप्रति राप्रपा नेपालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रत्युत्तरमा प्रधानमन्त्री कोइरालाले मुलुक वास्तवमै गम्भिर मोडमा रहेकाले सकेसम्म सहमतिबाटै संविधान निर्माण गर्ने, सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने, नभए विधि र प्रक्रियाबाट भएपनि माघ ८ गतेभित्र संविधान जारी गर्न आफु प्रतिवध्द रहेको प्रतिनिधिमण्डललाई विश्वस्त तुल्याए । प्रधानमन्त्री कोइरालाले निर्धारित मितिमा संविधान जारी नभए मुलुक अस्थिरतातर्फ जान सक्ने खतरा रहेकाले आफूलाई सहयोग गर्न राप्रपा नेपालसँग आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले राप्रपा नेपाललाई निषेध गर्ने आफ़्नो नियत र मनसाय नरहेकाले सवैको सल्लाह अनुसार आफू अघि बढ्ने र बढिरहने धारणा राखे । बेलायती राजदुतको भनाई अत्यन्त आपत्तिजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने र आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने पनि विश्वास दिलाए ।
राप्रपा नेपालका अध्यक्ष थापाले बुझाउनु भएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संसारभर राष्ट्रनिर्मातालाई इज्जत र सम्मान दिएको प्रसंग उल्लेख गर्नु हुँदै पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफु अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिए । राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिनिधि मण्डलमा राप्रपा नेपालका अध्यक्ष थापा, उपाध्यक्षद्धय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए । ***

तपाईको प्रतिक्रिया