शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

इलाम- इलामको पूर्वी भारतसँग जोडिएको पशुपतिनगर नाकाबाट सन् २०१४ को जनवरीदेखि अक्टोबरसम्ममा ३० जना युवती हराएका छन् ।
भारतसँग सीमा जोडिएको उक्त नाकाबाट १० महिनामा ३० जना युवती हराएको माइती नेपाल पशुपतिनगरमा उजुरी परेको छ ।

हराएकामध्ये १३ जनालाई उध्दार गरी आफन्तको जिम्मा लगाइएको माइती नेपालका पशुपतिनगरका संयोजक होम ढकालले जनाउनुभयो ।
भारतका दार्जिलिङ, सिलिगुडी, सिक्किमबाट भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई उध्दार गरिएको हो । दलालको फन्दामा परेर आफूहरू भारतका विभिन्न कोठीमा पुग्न बाध्य भएको उध्दार गरिएका ती युवतीले बताएका छन् ।
भारतमा बेचिनेमा १२ वर्ष देखि ४० वर्ष उमेर समूहका महिला रहेको माइती नेपालले जनाएको छ । दलालहरूले रोजगारीको प्रलोभन देखाउने तथा नक्कली विवाह, प्रेम नाटक गरेर घुम्न जाने बहानामा भारतमा पुगेका अधिकांश महिलालाई घरेलु कामदारका रूपमा लगाइने गरेको छ ।
श्रीअन्तुको छिरुवा, गोर्खेको मानेभञ्ज्याङ, पशुपतिनगरको फाटक, चारमाईलगायतका स्थानबाट युवतीलाई भारत पुरयाईने गरिएको पाइएको छ ।  हराइरहेका १७ जनाको खोजी कार्य भइरहेको माइती नेपाल पशुपतिनगरले जनाएको छ । खोजीका लागि हराएका महिलाका अभिभावकले संस्थामा उजुरी दिने गरेका छन् । ***

तपाईको प्रतिक्रिया