खाडि मुलुक, मलेसियालगायत अन्यत्र जाने नेपालीभन्दा जापान आइपुग्ने नेपालीहरुको चेतनाकोस्तर धेरथोर उच्च हुन्छ भनेर अनुमान लगाउनु बढ्ता नहोला । चाहे उनीहरु जुनसुकै उद्देश्यले आएका किन नहोऊन् । किन कि उनीहरु धेरै प्रकारका क्षमता परीक्षा उत्तीर्ण गरेर जापान आईपुगेका हुन्छन् । आर्थिक, बौद्धिक, पारिवारिक वा सामाजिक जुनसुकै प्रकृतिको क्षमता परीक्षा उत्तीर्ण गरेर भए पनि उनीहरु अन्यत्र जानेहरुको तुलनामा जापान आउन सक्ने हैसियत राखेरै आईपुग्ने हुन् । यस मानेमा जापानको नेपाली समुदायका सदस्यहरु समग्रमा समझदारी छन् भनेर मान्नैपर्ने हुन्छ ।
त्यसैले त यहाँका नेपालीहरु संकट पर्दा सँधै चट्टान भएर एक ठाउँमा उभिने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण यहाँका नेपालीहरुले धेरैचोटी प्रदर्शन गरिसकेका छन् । चाहे लोकतान्त्रिक आन्दोलनका बेला होस् वा महाभूकम्प तथा सुनामीको बेला होस् । चाहे गोविन्दप्रसाद मैनालीको रिहाई अभियानमा होस् या बुद्ध चिनाउने शान्ति यात्रामा होस् । जायज अभियान र राष्ट्रिय मुद्धामा नेपालीहरु एकथलोमा उभिन्छन् र उभिनुपर्दछ पनि ।
यति हुँदा हुँदै पछिल्ला समयमा जापानका नेपालीहरुमा अनुहार-एक, भूमिका अनेक, प्रवृत्ति हावी हुन थालेको देखिन्छ । यो चिन्ताकै बिषय हो । एउटै ब्यक्ति फरक फरक आवरण र भूमिकामा प्रस्तुत हुँदा उसलाई हेर्ने र चिन्ने सन्दर्भमा समाज अलमलमा पर्छ । जसले गर्दा स्वयमलाई घाटा पुग्ने कुरा निर्विवाद छ । किनभने सँधै एउटै भूमिकामा प्रस्तुत हुँदा उसलाई समाजले हेर्न, चिन्न र स्वयम उसको परिचय बन्न जति समय लाग्छ, फरक फरक भूमिकामा प्रस्तुत हुँदा उसलाई चिन्ने धारणा निर्माण हुन त्यो भन्दा बढि समय लाग्छ । त्यसैले बिशेष परिस्थितिमा बाहेक एउटै ब्यक्ति फरक फरक जिम्मेवारीमा रहनुले समाजका लागि फाईदा गर्दैन, जति एक ब्यक्ति एक भूमिकामा रहँदा त्यसको प्रतिफल समाजले पाउन सक्छ ।
अर्कोतिर जापानमा स्पष्ट उद्देश्य, पृष्ठभूमि, योजना, बिधि-बिधान, नीति-नियमका दस्तावेज बिना नै २, ४ जना जम्मा भएर एउटा मुद्धामा कुरा मिल्दा बित्तिकै लहडको भरमा एउटा संस्थाको जन्म दिईहाल्ने प्रबृतिले फेशनको रुप लिन थालेको छ । यो पनि अर्को चिन्ताको बिषय हो । यस्ता कार्यलाई सामाजिक सञ्जालहरुले सघाउने हुँदा सार्बजनिकरण गर्न सजिलो हुने नै भयो । यस खालको प्रवृत्ति जापानमा अलि बढि नै देखिन थालेका छन् । यद्यपि यस्ता प्रवृत्तिले दीर्घकालिन असर भने पर्न नसकेको बिगतका उदाहरणबाट ठम्याउन सकिन्छ ।
यसैगरी कुनै संगठनमा नयाँ सदस्यले सामाजिक जिम्मेवारी लिनुपर्दा एकैचोटी उपल्लो तह ताक्ने प्रवृत्ति पनि हामीकहाँ नजानिदों तवरले हुर्कदों छ । अनुभव, क्षमता र हैसियत राख्ने ब्यक्तिको कुरालाई अलग छोडेर भन्नुपर्दा पछि आउने पुस्तामा यसको प्रत्यक्ष असर पर्ने हुँदा सिकेर, अनुभव बटुलेर, पालो पर्खेर जिम्मेवारी लिन सक्ने भएपछि मात्र जिम्मेवारी लिएमा उसले नतिजा पनि राम्रो दिनसक्छ । त्यसैले समग्रमा नेपाली समाजलाई घाटा नहुने कार्यमा सबैको ध्यान जानु चिन्तन हुनु सबैको कर्त्तब्य हो ।
अर्कोतिर आफैले मिहिनेत गरेर आफ़्नै अवधारणा र सिर्जना अनुसार समाजलाई राम्रो सन्देश, ज्ञानबर्द्धक खुराक दिने खालका प्रभावकारी कार्यक्रम उत्पादन गर्नेतिर आजभोलि कसैको ध्यान गएको देखिदैन । अरु कसैद्वारा सुरु गरिसकिएको, अरुद्वारा प्रतिपादित र परीक्षण भईसकेको जोखिमरहित कार्यक्रम टपक्क टिपेर आफुले पनि ठ्याक्कै त्यहि नै कपि गर्नुपर्ने सँस्कारले अहिले जापानको नेपाली समाज गाँजेको छ । यो पनि एउटा मनोरोग नै हो । आफैले खनिखोस्रेको गोरेटोमा हिड्न जति आनन्द आउँछ, अरुले बनाएको राजमार्गमा हिड्दा सजिलो त जरुर होला तर अपनत्वको अनुभूत उसले कहिल्यै गर्न सक्दैन । त्यसैले त भनिन्छ -‘हिम्मत हुनेहरु आफ़्नो गोरेटो आफ़ै बनाउँछन्, काँतरहरु त्यसैको सिको गर्दै हर्ष मनाउँछन् ।’ त्यसैले यस दिशातिर जापानको नेपाली समुदायले जिम्मेवार ढंगले सोच्नु जरुरी भईसकेको छ ।
सँख्यात्मक भन्दा गुणात्मक र देखासिकी भन्दा मौलिक उत्पादन दिन नसक्ने समाज लंगडोसरह मानिन्छ । उसबाट धेरै अपेक्षा गर्नु भनेको डुब्न लागेको सूर्यबाट न्यानोको आशा गरेजस्तै हो । समाज सार्थक रुपान्तरणको दिशातिर जाने सन्दर्भमा कतै बाटो बिरिएको त छैन, बहस जरुरी छ । ‘सकिन्छ सफा राखौ, सकिदैन फोहर नगरौ’ – भन्ने कथनबाट सिक्दै – ‘सके राम्रो सँस्कार बसालौं, नसके नराम्रो सँस्कार नथोपरौं ।’ ***