डायस्पोराका नेपालीहरुलाई गोलबन्द गर्दै मुलुकका हितका खातीर क्रियाशील रहने उद्देश्यले सन् २००३ मा गठित एनआरएनले हालैमा छैठौं बिश्व सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ । सम्मेलनले अष्ट्रेलियामा उदाएका नवधनाढ्य शेष घलेको नेतृत्व चयन गरेको छ । छोटो समयमै प्रगतिको छलाङ मारेर आफै उदाहरणको पात्र बनेर देखाएका उद्यमी घलेलाई डायस्पोराका नेपालीले अगुवा छान्दै अब काम गरेर देखाउन म्यान्डेट सुम्पेका छन् ।
नेपालीहरुले बिदेशमा आर्जन गरेका ज्ञान, सीप, पूँजी, अनुभव र दक्षतालाई मुलुकको आर्थिक समृद्धिमा उपयोग गर्ने लोकप्रिय नाराका साथ उदाएको एनआरएनएन अभियानको एक दशकको समीक्षा गर्नुपर्दा अपेक्षा गरिएअनुसार उपलब्धिमुलक बन्न सकेन । पहिलो कुरो त संस्था दर्ता नै हुन नसक्दा धेरै टिकाटिप्पणीहरुले खेल्ने ठाउँ पाए । सुरुवाती दिनमा जसरी एनआरएनहरुबाट मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो, त्यो अपेक्षा पूरा हुन नसकेपछि अभियानप्रतिको आकर्षामा कमी आउन थाल्यो । एनआरएनहरु दसैंको मौका छोपेर नेपाल आउँछन् अनि ठूल्ठूला गफ गरेर फ़र्कन्छन् भन्ने आमरुपमै आलोचनाको बिषय बन्न पुग्यो जुन पुरै सत्य नभए पनि पुरै गलत पनि थिएन । यसरी एनआरएनमाथि उठेका संगीन आरोप र प्रश्नचीन्हमाथि समयमै गम्भीर समीक्षा र सम्बोधन हुनु जरुरी थियो त्यो हुन सकेन अर्थात जरुरी ठानिएन ।
यति हुँदाहुँदै दस बर्षो अवधिमा एनआरएनले नेपालको आर्थिक विकासमा उपस्थिति नै नजनाएको भने होइन । जलविद्युत, सञ्चार, पर्यटन, बैंकिङ आदि क्षेत्रमा लगानी भएका छन् । इलाम, लमजुङ आदि ठाउंमा जलविद्युतमा लगानी गरिएका छन् र कैयौ परोपकारी कामहरु सम्पन्न भएका छन् र हुंदै पनि छन् । यद्यपि जसरी एक दशकअघि एनआरएनहरुले नेपालको समृद्धिका लागि ठूलो लगानी गर्ने महत्त्वाकांक्षा प्रकट गर्दै सरकारले त्यसका लागि आवश्यक वातावरण नबनाइदिएको भनेर गुनासो गर्ने गरेका थिए, समग्रमा सो अनुरुप लगानी भित्रिएको भने छैन जुन कुरा एनआरएन नेतृत्वले पनि स्वीकार्दै आएको छ । एनआरएनले आफ्नो उद्देश्य फराकिलो पार्दै आर्थिक लगानीसंगै सीप र क्षमता भित्र्याउने लक्ष्यमा खरोरुपमा उत्रन नसके पनि थुप्रै राम्रा कामहरुको सुरुवात भने अवश्य भएका छन् । सिंगो पृथ्वीभरिका नेपालीजन एउटै प्लेटर्फममा बसेर बहस गर्ने वातावरणको निर्माण भएको छ । यो बिश्वब्यापी नेर्टवर्कलाई एनआएनले बिगत एक दशक लगाएर हासिल गरेको महत्वपूर्ण उपलब्धिकारुपमा लिन सकिन्छ ।
अर्को पाटोबाट हेर्दा एनआरएन गठनको अर्को उद्देश्य विदेशमा रहेका नेपालीहरुको साझा फोरमकारुपमा राजनीतिक, क्षेत्रीय, जातियलगायतका आग्रह, पूर्वाग्रह र आबद्धताबाट अलग रहेको साझा चौतारीको रुपमा बिकास होस् भन्ने धेरैको चाहना रहेको थियो तर दुर्भाग्य राजनीतिक र दलीय आग्रहबाट यो सँस्था पनि अछुतो रहन सकेन । हरेक सम्मेलनहरुमा जस्तै यसपाली पनि महाधिवशेनका प्रत्यासीहरुलाई विभिन्न पार्टी र शक्तिकेन्द्रसंग जोडेर चर्चा गरियो । एनआरएनभित्रको यो बिकृति अभियानका लागि हानिकारक छ । व्यक्ति विशेषको आस्था राख्ने अधिकार आफैमा स्वभाविक छ तर संस्थालाई प्रभावित पार्ने गरी राजनीतिक रंग घोलिनु अभियानको खिलाफमा छ । त्यसैले एनआरएनलाई सबैको साझा सँस्थाकारुपमा बिकास गर्दै राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने चुनौती नयाँ नेतृत्वसामु देखिएको छ । नेतृत्वले दस बर्षको उपलब्धि र कमजोरी दुवैको गम्भीर विश्लेषण गर्दै अब अगाडिको स्पष्ट मार्गचित्र तय गर्नुपर्छ जसले गर्दा एनआरएनहरुलाई ठूलाठूला कुरा मात्र गर्छन् भन्ने लाग्दै आएको आरोप र भ्रमलाई चिर्न सकोस् ।
ढिलै भएपनि एनआरएनले बैधानिकता प्राप्तीसहित नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न छैंठौं बिश्व सम्मेलनबाट एनआरएनहरुमा फेरि एकचोटी नयाँ उत्साहको सञ्चार गरेको छ । एनआरएन अभियानमा नयाँ अध्यायको थालनी भएको छ । आफै कुहिरोमा हराएको कागलेझैं दिशा पक्रन नसकेको एक दशकको अनुभवबाट पाठ सिक्दै एनआरएनहरुले अबको दशकमा मुलुकको अनुहार फेरेर देखाउनका लागि कुरा भन्दा काम, नारा र भाषणभन्दा नीति र कार्यान्वयनमा जोड दिन आवश्यक छ । जसका लागि बिश्वब्यापीरुपमा फैलिनेक्रममा रहेको सञ्जाललाई थप ब्यवस्थित र संगठित गर्दै नेपालको आर्थिक समृद्धिको मुद्दामा एउटा भरपर्दो र गतिलो हिस्सेदार बनेर देखाउनु शेष घले नेतृत्वसामु देखिएको सबैभन्दा ठूलो चुनौती हो भने नेपाल सरकार र नेपाली जनताले ठूलो आशा र भरोसाका आँखाले हेरिएको एनआरएन अभियानलाई निराशामा परिणत हुन नदिई बेलैमा थप उचाई र गति प्रदान गर्दै लैजानुपर्ने थप चुनौतीहरु आफ्ना ठाउँमा छँदैछन् ।
यि सबै बिषयहरुलाई सन्तुलितरुपमा ब्यवस्थापन र सम्बोधन गर्दै नयाँ नेपालको यात्रामा आर्थिक क्रान्तिको बलियो आधारकारुपमा एनआरएन अभियान अब एउटा पिलर बनेर उभिन सक्नुपर्दछ । यसका लागि आजैदेखि आफुलाई तयार गर्दै लैजान एनआरएनहरु चुक्नु हुदैंन, असजिला जंघारहरु आईपरे पनि भाग्नु हुँदैन, अभियानको गन्तब्य भेट्न निस्केका शेष घलेहरु फेदिमै थाक्नु हुदैन ।चुनौतीका पहाडहरु छिचोल्दै अघि बढ्दै गर्दा बिर्सेर पनि नेपाल र नेपालीका सुदूरभबिष्य भुल्नुहुदैन । चुनौतीहरु अवश्य चुलिएका छन् यद्यपि हाम्रा वरिपरि थुप्रै संभावना र अवसरहरु रहेको अर्को दशकको सुनौलो नयाँ अध्याय सुरु भएको छ । ***