Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024
dipakraj giriहास्यकलाकार दीपकराज गिरी मापसे प्रकरणका कारण चर्चामा छन् । केही महिनाअघि मापसे चेकिङमा समातिएका गिरी ट्राफिक सचेतना कक्षा लिनको दु:खले लामो समय लाइसेन्स फिर्ता लिन गएनन् । यो समाचार मिडियामा आएपछि विज्ञप्ति निकालेर उनले ट्राफिकसित आफ्नो अर्कै सहमति भएको दाबी गरे । गिरीको विज्ञप्तिमा तत्कालीन डिआइजी उपेन्द्रकान्त अर्यालसित ट्राफिकसम्बन्धी सचेतना भिडियो बनाइदिने सर्तमा लाइसेन्स फिर्ता पाउने सहमति गरेको उल्लेख छ । तर, अर्यालले उक्त सहमति भएको अस्वीकार गरेपछि गिरी सहकर्मी दीपाश्री निरौलासहित मंगलबार ट्राफिक कार्यालय गएर सचेतना कक्षा लिएका छन् । गिरीसँग समग्र घटनाक्रमबारे गरिएको संवाद :
तपाईंको मापसे काण्ड खुबै चर्चित छ नि अहिले बजारमा ? 
हो । यति ठूलो चर्चाको विषय होला भन्ने मैले कल्पनै गरेको थिइनँ । मानौँ, मैले दुई पेग लगाएको होइन, दुईवटा बम पड्काएको हुँ । मानौं, म दुनियाँकै नामुद जँड्याहा हुँ । अहिले कि संविधानसभाको चर्चा छ कि मेरो मापसेको ।
तपाईं जँड्याहाचाहिँ हो कि होइन त ?
म आफ्नो सर्कलमा सबैभन्दा भद्र जँड्याहा  (थोरै रक्सी खाने) मा गनिन्छु । वर्षको तीन महिना, साउन, भदौ र असोजमा त म रक्सी छुँदै छुन्नँ । रक्सी त के, माछा मासु पनि खान्नँ । बाँकी ९ महिना पनि एकदम लिमिटमा खान्छु । मेरो लिमिट भनेको बढीमा ९० एमएल हो । त्यत्तिले मलाई रमरम लाग्छ, आनन्द आउँछ । ‘तीतो सत्य’ चलाउन थालेदेखि मैले मातेर हल्लिने गरी रक्सी खाएको छैन ।
तीन महिना किन बहिष्कार ? 
यो तीन महिनामा महादेवको व्रत सुरु हुने र सोह्र सराद पनि पर्ने भएकाले शाकाहारी बस्ने गरेको छु । अहिले पनि म शाकाहारी पिरियडमै छु । अब घटस्थापनापछि बल्ल खुल्छ ।
ट्राफिकको फन्दामा कसरी पर्नुभयो नि ?
ठीक २५ हप्ताअगाडि हामी तीतो सत्यको पाँच सयौँ भाग मनाइरहेका थियौँ । १० वर्षपछिको उपलब्धिको खुसी साट्ने अवसर थियो त्यो । आर्मी अफिसर्स क्लबमा बेलुकी पार्टी गरिएको थियो । पार्टीमा रक्सी खायौँ, नाच्यौँ, उफ्रियौँ । यतिवेला पनि मैले त्यही ६० र ९० एमएलको बीचमा खाएको थिएँ होला ।
राति ११ बजे पार्टी सकियो । म र दीपाजी छुट्टाछुट्टै गाडीमा तर एकैसाथ निस्कियौँ । दीपाजीको गाडीमा कलाकार कविता शर्मा पनि हुनुहुन्थ्यो । उहाँको गाडी मेरोभन्दा अगाडि थियो । सिंहदरबार वैद्यखानानिर आइपुगेपछि मापसे चेकिङमा परियो ।
पहिला दीपाजीको गाडीलाई रोके । ‘उहाँलाई खाएको छ’ भनेर सोधेछन् । दीपाजीले ‘छैन’ भन्नुभएछ । त्यसपछि मुख नसुँघीकन ‘जानुस्’ भनेर छाडिदिएछन् । दीपाजी उम्किनुभो । त्यसपछि मलाई रोके । असईले मलाई पनि ‘मापसे गर्नुभएको छ’ भनेर सोधे । मलाई झुट बोल्न आएन, ‘छ सर’ भनेँ । त्यसपछि सईले मुखमा हालेर चेक गर भनेर अह्राउँदै थिए । मैले ‘आफैँले स्विकारेपछि किन मुखमा हालिरहनुपर्‍यो र’ भनेँ । त्यसपछि सईले गाडीबाट ओर्लिन लगाए । उनी अलि कडा मिजासका रहेछन् ।
उनीहरूले तपाईंलाई कलाकार दीपकराज गिरी भनेर चिने कि चिनेनन् ? 
पहिल्यै चिनिसकेका थिए । मलाई तीतो सत्यले पाँच सय भाग पूरा गरेकोमा अरूले बधाई पनि दिएका थिए । मैले तीतो सत्यकै पार्टीबाट फर्केको बताएको थिएँ । अरूले राम्रो बोलिवचन गरे पनि सईले राम्रो व्यवहार देखाएनन् । उनी कडा रूपमा प्रस्तुत भए । असईहरूले ‘उहाँजस्तो कलाकारले गल्ती स्विकारी सक्नुभो, छाडिदिऔं न त’ भन्दा सईले ‘तिमीहरू जान्ने हुने होइन’ भनेर हप्काए ।
धेरैबेर विवाद भयो । दीपाजी गाडी अगाडि लगेर मलाई कुरिरहनुभएको रहेछ । सईले आफ्नो गाडी छाडेर दीपाजीको गाडीमा जान भने । ‘उहाँले पनि पिउनुभएको छ,’ मेरो मुखबाट फुत्किगो । त्यत्तिकैमा दीपाजी गाडी फर्काएर ‘दीपक के भो’ भन्दै आउनुभो । त्यसपछि त सईले ‘तपाईंले पनि खानुभएको छ रे, ओर्लिनुस्’ भनेर उहाँलाई पनि ओह्राले ।
बिचरा दीपाजीसित त लाइसेन्स पनि थिएन । २–३ महिना अगाडि पर्स चोरिँदा लाइसेन्स पनि हराएको थियो । उहाँले ब्लुबुक बुझाउनुभयो ।
प्रहरीले दुवै गाडी राखेपछि हाम्रो त बिचल्ली भइगो नि । त्यतिवेला साढे ११ जति बजेको थियो । हामी तीनजना अलपत्र पर्‍यौं । नियमअनुसार हाम्रो गाडी लिइसकेपछि प्रहरीले कि ट्याक्सी खोजेर पठाउनुपर्ने कि प्रहरी भ्यानमै पुर्‍याइदिनुपर्ने व्यवस्था रहेछ । तर, उनीहरूले दुवै गरेनन् । हामी यत्तिकै लुरुलुरु हिंड्न थाल्यौं ।
हामी हिंडेर अन्नपूर्णको अफिसतिर आइपुग्दा एउटा गाडी लर्बरिंदै आयो । गाडीभित्र दुईजना थिए । हामीनजिक आएर उनीहरूको गाडी रोकियो । साइडमा बस्ने रक्सीले झल्लु रहेछ । उसले गाडीको सिसा खोलेर  ‘दीपकजी समातियो’ भन्दै गिज्यायो । मैले ‘हो’ मात्रै भने र हामी सरासर हिंड्यौं। एकैछिनमा फेरि त्यही गाडी हामी नजिकै आएर रोकियो । फेरि त्यो मान्छे करायो, ‘दीपकजी आउनुस्, हामी लिफ्ट दिन्छौं ।’ रक्सीले मातेको मान्छे भएको गाडीमा दुईजना महिलालाई लिएर कसरी चढ्नु ? त्यसैले ‘पर्दैन’ भनेर जवाफ दिएँ । त्यसपछि ऊ रन्कियो । ‘के को पर्दैन ? ठूलो मान्छे हुने’ भन्दै बम्किन थाल्यो । मैले ‘अहिले म तनावमा छु, तपार्इं जानुस्’ भन्दै आफ्नो सुरमा हिडें । तर, उसले त एकाएक आमाचकारी गाली पो गर्न थाल्यो । ‘ओइ दीपके’ भन्दै ५–७ वटा अपशब्द बोल्यो ।
त्यसपछि मलाई के गर्ने, कसो गर्ने भइहाल्यो । अनि त रक्सीले मातेको मान्छेसित के डराउनु भनेर मैले पनि हिम्मत निकालेर भने ‘लु बाहिर निस्की, सिंगल–सिंगल भिडौँ ।’ मैले त्यसरी थर्काएपछि गाडी हाँक्नेचाहिँ डराएछ क्यारे, गाडी हुँइक्यायो । त्यतिवेला मैले त्यो गाडीको नम्बर टिप्न भ्याइसकेको थिएँ । पछि, त्यो नम्बर प्रहरीलाई पनि दिएँ । के कारबाही भयो ? थाहा छैन ।
त्यतिवेला कसैलाई फोन गर्नुभएन ?
जँड्याहाले सताएपछि हिँडेर जान निकै डर लाग्यो । दीपाजी र कविताजीलाई बानेश्वर जानु थियो भने मलाई सिनामंगल । मैले तीतो सत्यको ‘गैंडा’ निर्मल शर्माजीलाई फोन गरेर हालत बताएँ । उहाँले आफ्नो ड्राइभरलाई ट्याक्सीमा पठाइदिनुभएछ । ड्रिंक नगरेको ड्राइभरलाई गाडी दिन्छ होला भनेर माग्न पठायौं । तर, मिल्दैन भनेर फर्काएछ । त्यसपछि सबैजना ट्याक्सी चढेर गयौं ।
लाइसेन्स समातिएपछि अर्को दिन ट्राफिक क्लास लिन किन जानुभएन ? मान्छेले चिन्लान् भनेर ?
नढाँटी भन्ने हो भने अप्ठेरो लागेरै हो । हुन त मास्क र चश्मा लगाएर जाँदा अरूले चिन्दैनन् । थुप्रै व्यक्ति त्यसरी नै जाँदा रैछन् । तर, पनि लामो लाइन बस्नुपर्ने झन्झटले गर्दा अप्ठेरो लागिरहेको थियो । ट्राफिकले दिएको चिटको भरमा गाडी हाँकिरहेको थिएँ । त्यत्तिकैमा ६–७ दिनपछि डिआइजी उपेन्द्रकान्त अर्यालले फोन गर्नुभयो । उहाँसित पहिलेदेखि नै राम्रै चिनजान थियो । हामीले उहाँकै अनुरोधमा ट्राफिकका लागि थुप्रै सचेतनामूलक कार्यक्रम बनाएका थियौं । उहाँले फोन गरेर गाडीसमेत पठाएपछि म गएँ । उहाँले ‘तपाईंको सहयोग लिन बोलाएको’ भन्नुभयो । त्यहाँ डिएसपीदेखि इन्सपेक्टरसम्म थुप्रै हाकिम बसिरहेका थिए । अर्यालले मलाई ट्राफिकको एउटा चेतनामूलक डकुमेन्ट्री बनाइदिन अनुरोध गर्नुभयो । उहाँले मापसे चेकिङको भिजुअल देखाउनुभयो । क्लास लिएको देखाउनुभयो ।
त्यतिवेला त्यहाँ उपस्थित तीतो सत्यमा खेल्ने कलाकार तथा डिएसपी कृष्ण सिवाकोटीले ‘यसैलाई दीपकजीको क्लास मान्न सकिन्छ’ भन्नुभयो । कानुनी रूपमा ठीक नभए पनि व्यावहारिक रूपमा यो पनि क्लासभन्दा कम नभएको उहाँले बताउनुभयो ।
डिआइजीसाबको आग्रहअनुसार म र दीपाजी मिलेर सानोठिमी जाने बाटोमा सुटिङ गरेर एउटा भिडियो बनायौं । नि:शुल्क रूपमा त्यो भिडियो ट्राफिकलाई उपलब्ध गरायौं । त्यही भिडियोलाई ट्राफिकले अहिले सचेतना कक्षामा प्रयोग गर्ने गरेको रहेछ ।
तर, तपाईंले जारी गरेको विज्ञप्तिमा त नि:शुल्क भिडियो बनाइदिएमा लाइसेन्स फिर्ता दिने वचन डिआइजी अर्यालले दिनुभएको उल्लेख छ नि ? 
त्यसमा भाषा अलिकति यताउता भयो होला । उहाँले आफ्नै मुखले भन्नुभएको होइन । डिएसपी सिवाकोटीले मलाई ‘अब यति गरेपछि तपाईंले क्लास नलिए पनि लाइसेन्स पाउनुहुन्छ’ भनेर आश्वासन दिनुभएको हो । सायद डिआइजीसाबकै निर्देशनअनुसार उहाँले त्यस्तो आश्वासन दिएको हुनुपर्छ ।
तपाईंजस्तो सेलिब्रेटीले नियमबमोजिम नचलेर अर्को बाटो समात्न खोज्नु ठीक हो र ? नियमअनुसार क्लास लिनुभएको भए के बिग्रिन्थ्यो ? 
हुन त म पनि आममानिस नै हुं । तर, मैले माथि भनिहालेँ– क्लास लिने प्रक्रिया साह्रै झन्झटिलो छ । मेरा लागि मात्र होइन, अरू मानिसका लागि पनि यस्तै हो । त्यसमाथि ट्राफिकका हाकिम आफैले त्यसो भनेपछि मैले के गर्नु ?
अनि किन लाइसेन्स फिर्ता पाउनुभएन त ? 
क्लास लिन नपर्ने भएपछि म ढुक्क भएर ६ एकान ६ को सुटिङ गर्नतिर लागे । यत्तिकैमा डिआइजीको सरुवा भएको समाचार टिभीले बजाउँदा पो झसंग भएँ । उहाँको ठाउँमा मिडियाक्रेजी डिआइजी आउनुभएछ । उहाँले टेलिभिजनलाई आफैले सूचना दिनुभएछ । अनि, टेलिभिजनले पनि लगातार बजाए, ‘ट्राफिक सन्देश दिने दीपकराज गिरी आफै फन्दामा परे’ भनेर । त्यसमा डिआइजी अधिकारीले छाती फुलाएर ‘कलाकार–सलाकारलाई छाडिन्न’ भन्दै अन्तर्वार्ता दिइरहेका थिए ।
मैले एकचोटि तीतो सत्यमा टेलिभिजन च्यानलहरूमा पीडित पत्रकार कर्मचारीको अवस्थाबारे कथा बनाएको थिएँ । त्यसले धेरै टेलिभिजन मालिकलाई दबाब परेको थियो । त्यसको बदला लिन खोजेका हुन् कि भन्ने पनि शंका लाग्यो । जे होस्, मैले ती समाचार पचाइसकेको थिएँ । तर, बिस्तारै पत्रिकामा पनि आउन थाले । मानौँ, मैले बलात्कारै गरेको छु वा हत्या नै गरेको छु जसरी समाचार आएपछि मलाई तनाव भयो । अनि, विज्ञप्ति निकाल्न बाध्य भएँ ।
 
त्यसपछि क्लास लिन जाने निर्णय कसरी गर्नुभयो ?
मेरो समाचार छ्याप्छ्याप्ती भएपछि साथीहरूले ‘तपाईं प्रक्रिया पूरा गर्नुस्, लाइसेन्स हात पार्नुस् अनि ट्राफिकविरुद्ध लड्नुस्’ भनेर सुझाब दिए । मलाई पनि ठीकै लाग्यो । त्यसैले मंगलबार दिउँसो दीपाजी र म क्लास लिन गयौं । अहिले लाइसेन्स मेरो खल्तीमा छ । अब म सुरक्षित रूपमा ट्राफिकविरुद्ध युद्ध लड्न सक्छु । अब मलाई उहाँहरूविरुद्ध बोल्न गाह्रो छैन । दीपाजीको चाहिं लाइसेन्स नभएकाले ब्लुबुक फिर्ता पाउनुभएन । उहाँले प्रतिलिपिका लागि निवेदन दिनुभएको छ ।
ट्राफिकले गल्ती के गर्‍यो र युद्ध लड्नुपर्ने ? उनीहरू नियमबमोजिम नै चलेको देखियो, होइन ? 
अरू कुरामा मलाई गुनासो होइन । तर, डिआइजी केशव अधिकारीले मेरो सूचना तथा भिजुअल टेलिभिजनलाई दिएर मेरो मानहानी गरे । मेरो पनि व्यक्तिगत कुरा गोप्य रहन पाउनुपर्छ । त्यसैमा मेरो आपत्ति हो ।

अब के तीतो सत्यलाई ट्राफिकविरुद्ध प्रयोग गर्नुहुन्छ ? 
होइन, गर्दिनँ । अबको २–३ महिना ट्राफिकको विषय छुँदै छुन्नँ तीतो सत्यमा । केवल मिडियामार्फत आफ्ना कुरा राख्छु । म आफूसित रहेको हतियारको दुरुपयोग गर्दिनँ । हिजो हामी ट्राफिकको अनौपचारिक दूत थियौं । तर, अब रहेनौं। अबचाहिं ट्राफिकबाट मानिसले पाएको मानसिक दुर्वब्यवहार बारे  बोल्नेछौं ।
पहिला त्यही संस्थाको वकालत गर्ने, आफूलाई परेपछि चाहिँ विरोध गर्ने प्रवृत्ति ठीक हो र ? 
होइन, पहिला पनि ट्राफिकका नकारात्मक पक्षलाई तीतो सत्यमा प्रस्तुत गर्दै आएका हौ । अहिले केशव अधिकारी आएपछि झनै विकृति बढेको रहेछ । एउटा ट्राफिकलाई पाँचजना मापसेमा समाउनै पर्ने नियम बनाइएको छ भन्ने सुनेको छु । त्यसैले उनीहरू चेकिङ गर्दा मापसे भेटियो भने प्रफुल्ल हुँदा रहेछन्, भेटिएन भने खिस्रिक्क पर्दा रहेछन् । ट्राफिकलाई यसरी सेल्सम्यानको जस्तो कोटा दिने काम आपत्तिजनक छ । यस्ता प्रवृत्तिविरुद्ध अभियानै चलाउनेछु । यो मलाई दिइएको सजायप्रतिको आक्रोशचाहिँ होइन ।
ट्राफिकको सचेतना कक्षा कस्तो लाग्यो त ?
म दुई बजे गएँ । बिहानको जस्तो लामो लाइन थिएन । सजिलै भयो । मास्क पनि नलाईकन सामान्य रूपमा गएको थिएँ । चिन्नेहरूले नमस्कार गरे, मैले हाँसेर फर्काएँ । हामी करिब ५० जना जति थियौँ । असईले क्लास लिएका थिए । उनको क्लास मलाई राम्रो लाग्यो । हामी आफ़ैले बनाएको भिजुअल भने देखाइएन । एक घन्टा लामो क्लासमा इन्जोई नै गरेँ । अहिले रिलिफ महसुस भएको छ ।
हामी सुटुक्क कसैलाई खबर नगरी गएका थियौं । तर, ट्राफिक कार्यालयबाट मिडियामा खबर पुगिसकेछ । हामी बाहिर निस्किँदा क्यामेराहरू प्रतीक्षा गरिरहेका थिए । मैले सामान्य रूपमा प्रतिक्रिया दिएँ ।
यस घटनाबाट के शिक्षा पाउनुभयो ?
सबैभन्दा ठूलो शिक्षा भनेको मापसे गरेर अब जिन्दगीमा कहिल्यै गाडी चलाउनेछैन । यही हो । ***
तपाईको प्रतिक्रिया