Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
बिशेष सम्पादकीय

विदेशमा बस्ने नेपालीहरुको ज्ञान, सीप, प्रविधि र पूँजी नेपाल भित्र्याएर समृद्ध नेपाल निर्माणमा ठोस योगदान दिने गैरआवासीय नेपाली संघको उद्देश्य अझै सतहमा देखिने गरी कार्यान्वयनमा आउन सकेको छैन । यस बीचमा सामाजिक क्षेत्र वा परोपकारी कामका लागि गैरआवासीय नेपालीहरुले सहकार्यको थालनी गरे पनि राष्ट्रको अपेक्षाअनुसार ठूलाठूला आयोजनाहरु अभियानकारुपमा अघि बढ्न सकेका छैनन् । तर अब भने कम्तिमा तीनवटा आयोजनाले केही गति लिएको र संयुक्त लगानीको राम्रो संभावना देखिएको छ । तिनीहरु मध्ये अहिले सर्वाधिक चर्चामा रहेको जलविद्युतमा लगानीको विषय एउटा हो । सिंगो गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिले जलबिद्युतमा लगानी गर्ने विषयलाई प्रमुख एजेण्डा बनाएर हरेक देशमा समितिहरु समेत बनाएकाले स्वभाविकरुपमा यो विषयले प्राथमिकता पाउने र गति लिने देखिन्छ । अझ यसमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संसारभरबाट गरिने लगानी बराबर आफू एक्लैले लगानी गरिदिने र कसैले गरेको लगानी रकम फिर्ता लिन चाहेमा त्यसको ग्यारेन्टी पनि आफूले गरिदिने बताएपछि लगानीकर्ताहरु खुलेर आउने अपेक्षा गरिएको छ । संघको अष्ट्रेलियाको सिड्नीमा हुन गईरहेको सम्मेलनबाट यसबारेका धेरै कुरा प्रष्ट हुने अनुमान गर्न सकिन्छ । खेर गैरहेको प्राकृतिक स्रोतको उपयोग गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने अभियानमा सबैको साथ सहयोग हुनै पर्छ ।

संयुक्त लगानीको नमूना प्रदर्शन हुन सक्ने दोस्रो आयोजनाकारुपमा बीबी एयरवेज अगाडि आएको छ । जापानका चर्चित व्यवसायी भवन भट्टको अगुवाइमा सञ्चालनको नजिकै आइपुगेको यो एयरवेजको पहिलो उडान आगामी सेप्टेम्बर १३ मा नेपालबाट मलेसिया र जापानबाट आगामी अक्टोबर १३ मा हुने उदघोष भैसकेको छ । अन्तरराष्ट्रिय क्षेत्रमा सेवा सञ्चालन गर्दै आएको नेपालको एक मात्र राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको अवस्था अत्यन्त कमजोर र सेवाक्षेत्र साँघुरिदै गएका वेलामा निजी क्षेत्रबाट छोटो समयमै उडान तालिका सार्वजनिक गरेर बीबी एयरवेजले यतिखेर चर्चाको शिखर छोएको छ । नेपाल विदेशी हवाई कम्पनीहरुको आकर्षक थलो बन्दै गैरहेको र ३० लाख भन्दा बढी नेपालीहरु विश्वका विभिन्न देशबाट नेपाल जान तिनै विदेशी कम्पनीमा भर पर्नुपर्ने अवस्थामा बीबी एयरवेजको आगमन अत्यन्त समय सान्दर्भिक र लगानीयोग्य क्षेत्रकारुपमा देखिएको छ । यसैबीच बीबी एयरवेजले यो आयोजनालाई साझा अभियानकारुपमा अगाडि बढाउने उद्देश्यकासाथ लगानीको ढोका खुल्ला गर्दै करिब नेपाली एकलाख सम्मको लगानीलाई पनि स्थान दिने जानकारी गराएर जापानबाटै उक्त अभियानको शुरुवात गर्न लागेबाट लगानी गर्न इच्छुकहरुको चासो निकै बढेको छ । मुनाफालाई अलग राखेर सोच्दा पनि यस्ता आयोजनामा गरिने लगानी गर्व गर्न लायक देखिन्छन् । लगानी थोरै नै किन नहोस् आफ्नो लगानीको वायुयानमा चढेर मातृभूमि र कर्मभूमि गर्न पाउनुको आनन्दानुभूति अकल्पनीय हुनेछ । त्यसैकारण पनि लगानीका लागि चासो बढ्नु स्वभाविक छ ।

तेस्रो ठूलो आयोजनामा द्रुतमार्ग (फाष्ट ट्रयाक) पनि चर्चामा छ । यो आयोजना पनि अभियानकैरुपमा अघि नबढाउँदा सम्पन्न गर्न सहज छैन । काठमाडौंबाट हेटौंडा वा प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थल निजगढसम्म जोड्ने कम समयको उक्त मार्ग नेपालको चौतर्फी विकासको लागि आधारस्तम्भ हुनसक्छ । यस्ता आयोजनाहरुमा संयुक्त लगानीको संस्कार बस्न सक्यो र ति आयोजनाहरुले सफलताको सिंढी चढ्न थाले भने कल्पनामा रहेको समृद्ध नेपाल अर्थात नयाँ नेपालको निर्माणकार्य थालनी हुन सक्छ । राजनीतिक दल र तिनका शीर्षस्थ नेताहरुमा देखिएको राष्ट्रिय चिन्तनको कमी र सीमित स्वार्थमा रुमल्लिरहने सँस्कारलाई पाठ सिकाउन पनि संयुक्त लगानीको अवधारणा र यसको सफल कार्यान्वयन वर्तमान पुस्ताका आम नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण विषय बनेको छ । यी र अन्य यस्ता आयोजनाहरुमा सबैको सक्दो लगानी सहभागिता अपरिहार्य छ । ***

तपाईको प्रतिक्रिया