Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

नेपालीहरुबीच परस्परमा संवाद गर्न, अनुभव तथा विचार आदानप्रदान गर्न र मनको बह जस्ताको तस्तै पोख्न हामीलाई हाम्रै नेपाली भाषा चाहिन्छ । विदेशी भाषामा हामी जतिसुकै दखल भएता पनि भावनाको गहिराईमा पुगेर मनको भित्री तहको फिलिङ्सलाई ब्यक्त गर्न आफ्नै भाषाको आवश्यकता पर्दछ । अनि मात्र भन्न खोजिएको जस्ताको तस्तै ब्यक्त गर्न सकिन्छ र मनलाई हलुका बनाउन सकिन्छ ।

देशब्यापी सञ्चारमाध्यमको पनि माध्यम बनेको र राष्ट्रभाषाको प्रतिष्ठा पाएको नेपाली भाषा दिनप्रतिदिन समृद्ध र सशक्त बन्दै जानुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । अति विशिष्ट ओहदामा पुगेका उच्च शिक्षित वर्गले पनि नेपाली भाषाको सहि प्रयोग गरेको पाईदैन भने बिहानदेखि बेलुकासम्म नेपाली भाषाको मात्रै प्रयोग हुने काम गर्नुपर्ने कारिन्दाहरु समेत नेपाली भाषा सिक्न र भाषा राम्रो बनाउन आवश्यक ठान्दैनन् । आफ्नो भाषाप्रतिको उपेक्षाले आवश्यक पर्दा आफ्नो अभिब्यक्तिलाई सुन्दर ढंगले ब्यक्त गर्न नसक्दा निजको ब्यक्तित्वमा पनि असर पर्दछ ।
सचेत मानिने र सजिव मानवजगत आज प्रविधियुक्त सुबिधाले निर्जीव डिभाइसको दास बन्दै गईरहेको अवस्था छ । आफ्नो दैनिकीको अत्यधिक समय त्यहि डिभाइस चलाएर बिताउनेको जमात अहिले घट्दो हैन बढ्दो छ । तर त्यहि डिभाइसको प्रयोगबाट संसारकै उत्कृष्ट मानिएका ज्ञानगुन हासिल गर्न भने हामीलाई जाँगर चल्दैन । प्रत्यक्ष-अप्रत्यक्षरुपमा त्यसैको मारमा हाम्रो भाषा पनि परिरहेको छ । हाम्रो भाषालाई हामीले माया नगरेर कसले गर्ने ? हाम्रो भाषामाथि हामीबाटै अन्याय भईरहेको हामीले टुलुटुलु हेरेर बसिरहेका छौं । यस बिषयमा सरोकारवला क्षेत्र गम्भीर हुन आवश्यक छ । अतिरिक्त पहल गर्न नसकेता पनि सजग एवं सचेत हुन र गराउन भने अवश्य सकिन्छ ।

सञ्चारकर्मी, साहित्य फाँट, कलाकर्मी, प्राध्यापक, वकिल जस्ता समाजको अगुवाई गर्ने हैसियत राख्ने विशिष्ट वर्गबाटै नेपाली भाषाको सहि प्रयोग नभएको उदाहरणहरु हामी सामाजिक सञ्जालमा दिनहुँ देखिरहेका हुन्छौं । हाम्रो भाषाप्रतिको मोह जगाउन पुस्तक, पत्रपत्रिका पढ्ने, भाषामा निखार ल्याउने, नेपाली भाषा लेखनमा ध्यान दिने जस्ता कार्यमा प्रोत्साहित गर्नुपर्ने देखिन्छ । समाजका अति विशिष्ट मानिएका ब्यक्तिहरु पनि अन्धाधुन्ध आँखा चिम्लेर, शब्दको जीवन नै नछामी वर्षौदेखि कतिधेरै अशुद्ध र त्रुटि पालेर बसेको पाईन्छ । जसले गर्दा निजहरुको ब्यक्तित्व मापन भईरहेको स्वयमले पत्तो पाईरहेका हुँदैनन् ।

भनिन्छ, पत्रकारिताको खेल भाषाको मैदानमा खेलिन्छ, मैदान ठीक नभएसम्म खेल खेलजस्तो नभएर खेलाँची मात्र हुन्छ । भाषिक त्रुटि र अदक्षताले प्रस्तुती प्रभावकारी र दमदार बन्न सक्दैन । हामी पत्रकारहरुमा देखिने भाषागत कमजोरी कुनै जमानामा कापीको पानामा कोरिएका टिपोट टाइपराइटरमा उतारिन्थ्यो अझै पनि लगभग उस्तै छ । हामीसंग प्रविधि छ, सुबिधा छ, चाह्यौ भने तत्काल गुगल गरेर कुन सहि र कुन गलत छुट्याउन सक्छौं तर हामी सुध्रिएनौ, जाँगर चलाएनौ, पत्रकार भईरहन त खोज्यौं तर हाइसञ्चोलाई रोज्यौं, लठ्ठी सोझ्यायो लाइभ गर्‍यो सकियो, अक्षरसंग खेल्ने झञ्झट नै नरहेपछि निजहरुबाट नेपाली भाषालाई समृद्ध बनाउने अभ्यास र अपेक्षा रहने कुरै भएन ।

भाषाको मैदानमा देखिएका यस्ता बल्ग्रेल्ती खाल्डाखुल्डी र अमिल्दा उखडबाखडलाई देखाउने अनि त्यसलाई सम्याउने उपाय बारे बहस गर्न सरोकारवलाहरुको ध्यान जानुपर्ने हो । जतिसकिन्छ आफ्नो नेपाली भाषाको शुद्ध प्रयोग गरौं, सकिदैन भने आफ्नै भाषामाथि जबरजस्ती अन्याय नथोपरौं, भाषाको माध्यम नेपाली रोज्ने तर अक्षरचाँही अंग्रेजी रोमनमा स्ट्याटस लेख्नेहरुमा पढेलेखेकै जमात ठूलो छ । यसले उहाँहरुको कद अग्लो बनाउँदैन । ‘जेठा मामाको त भाङ्ग्राको धोती, कान्छा मामाको झन के गति’ भनिएझै हामी पढेलेखेका भनिएका पत्रकार, साहित्यकार, कलाकार, वकिल, प्राध्यापकहरुको यो हालत भए अरु सर्वसाधारणबाट के अपेक्षा गर्ने ? सहजै अनुमान गर्न सकिन्छ । बोलीचालीमा खासै समस्या नभएपनि पढ्ने र विशेषगरी लेखनमा नेपालीहरुको आफ्नै नेपाली भाषाप्रतिको उपेक्षा र उदासिनता उदेकलाग्दो छ । आफुलाई मनमा लागेको कुरा आफ्नो भाषामा निर्धक्कसंग लेख्न नजान्ने संसारमा अरु देशका नागरिक विरलै होलान् तर नेपालीहरु प्रायमा भने नेपाली भाषा लेखनमा समस्या छ तर उनीहरुमा सिक्ने चाहना पनि पटक्कै राख्दैनन् । भाषा, साहित्य, कला सँस्कृतिका लागि भनेर खोलिएका अनेकन संघसंस्थाहरुको अहिलेसम्म यतातिर ध्यान किन जाँदैन होला ? यो फेरि अर्को उदेकलाग्दो बिषय हो ।***

तपाईको प्रतिक्रिया