शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य समूहसँग पार्टी फुटाउने हिम्मत नभएको दाबी गरेका छन्। वैद्य समूहबाट नयाँ एकतावादी धार अलग्गिएको उनले बताएका छन्। ‘किरणजीहरुसँग नेतृत्वको अभाव छ। एजेन्डा नभएकाले पार्टी फुटाउने हिम्मत गरेका छैनन्,’ बुधबार राजधानीमा कोचिला राज्यसमिति-काठमाडौं सम्पर्क समितिका कार्यकर्ता प्रशिक्षणमा दाहालले भने, ‘बरु त्यो समूहमै पार्टी एकता हुनुपर्छ भन्ने तेस्रो धार जन्मिसकेको छ।’
आफूले पहिचानसहितको संघीयता नछाडेकाले वैद्य समूहको एजेण्डा समाप्त भएको दाहालले बताए। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षणमा दाहालले भने, ‘मैले पहिचानसहितको संघीयतामा अडान लिएपछि वैद्य समूहमा अर्को मुद्दा के लिएर जाने भन्ने नयाँ धार निस्केको छ।’
नयाँ धारले आफूलाई पार्टी एकताको प्रस्ताव गरेको उनले बताए। ‘त्यहीँभित्रबाट पार्टी मिलाइदिनुपर्‍यो भन्दै आएका छन्। त्यहाँ अहिले तेस्रो धार जन्मिसक्यो,’ दाहाललाई उद्धृत गर्दै कोचिलाका एक नेताले भने, ‘विप्लव (नेत्रविक्रम चन्द) ले नेतृत्व गर्ने कुरा गरेका छन्, उनलाई अन्य नेताहरूले जुनियर भनेका छन्। कसरी पार्टी नेतृत्व गर्ने भन्ने अन्योल छ।’
उनले कटवाल प्रकरणमा राष्ट्रपतिविरुद्ध नागरिक सर्वोच्चताको आन्दोलन गर्ने, अहिले प्रधानमन्त्री भट्टराईलाई अपदस्थ गर्न आग्रह गर्दा वैद्य समूहमा नैतिक संकट थपिएको टिप्पणी पनि गरे।
‘किरणजीले सेना त बुझाउनुभयो, संविधानमा के गर्नुहुन्छ भनेर जेठ १४ अघि प्रश्न गर्नुभएको थियो, मैले पहिचानसहितको संघीयतामा अडान लिएँ। १५ गते बोलाएर
फेरि अब के गर्नुहुन्छ भने। पार्टी एकताका लागि अध्यक्ष पद पनि छाडिदिन्छु भने। उहाँले आफ्नो समूहमा ती कुरा राख्न नसक्ने बताउनुभयो,’ दाहालले वैद्यसँगको सवालजवाफ खोले।
पार्टीमा पद मिलाउन विस्तारित बैठक वा सम्मेलन राख्ने प्रस्ताव गरेर एकताका लागि पद त्याग्छु भन्दा पनि वैद्यले नमानेको दाहालले प्रशिक्षणमा बताए। ‘०४५ सालमा मलाई जसरी महामन्त्री छाडिदिनुभयो, म त्यसरी नै तपाईंलाई अध्यक्ष पद छाडिदिन्छु। एकमात्र सर्त पार्टी एकता हो, क्रान्तिका लागि,’ वैद्यसँग राखेको प्रस्तावबारे दाहालले जानकारी गराए।
उक्त प्रस्तावमा वैद्यको जवाफ उद्धृत गर्दै दाहालले प्रशिक्षणमा भने, ‘यो कुरा सबै ठीक हुन् तर म साथीहरूसँग राख्न सक्दिनँ।’
सामूहिक रूपमा राष्ट्रिय सम्मेलन वा विस्तारित बैठक डाकेर छलफल गर्न आफूले गरेको प्रस्ताव लत्याउँदै वैद्य समूहले एक्लै राष्ट्रिय भेला आयोजना गरेको दाहालले आरोप लगाए।
प्रशिक्षणमा स्थायी समिति सदस्य कृष्णबहादुर महराले वैद्य समूह फुट्दा धेरै क्षति नहुने बताए। आफूले देशभरको पार्टी अवस्था नियालेको भन्दै उनले प्रशिक्षणमा रिपोर्ट गरे, वैद्यजीहरू फुटेर जाँदा खासै असर पर्दैन। जति क्षति हुन्छ, त्यो हामीले तीन महिनामा फर्काउने अवस्था छ। देशभरि अवस्था यही छ।
कोचिला राज्यसमिति अन्तर्गतका झापा, सुनसरी, मोरङ र मजदुरका इन्चार्जहरूले आफूहरूको ठाउँमा फुटको असर खासै नपर्ने रिपोर्टिङ गरेका थिए। इन्चार्जहरूले प्रशिक्षणमा भने, ‘केही साथीहरू जान्छन्। त्यसले खासै क्षति पुर्‍याउँदैन। जति क्षति हुन्छ, ती ठाउँमा राजनीतिमा अहिले संलग्न नभएकालाई स्थापित गरेर जाने आधार छन्।’
महरा र कोचिलाअन्तर्गतका इन्चार्जहरूको रिपोर्ट सुनेपछि दाहालले आफूसँग आएको रिपोर्ट मेल खाएको बताएका थिए। ‘हामीले एजेन्डा छाडेका छैनौं। किरणजीहरू फुट्दा जति क्षति हुन्छ, त्यो कांग्रेस, एमालेबाट पूरा हुन्छ,’ दाहालले प्रशिक्षित गरे।
दलहरुबीच सबै विषयमा सहमति भए संविधानसभा पुनर्स्थापना गर्न सकिने दाहालले दोहोर्‍याए। पुनर्स्थापना विषय खुला राखेर कांग्रेस, एमालेसँग संवाद अघि बढाउने उनले बताए। दाहालले भने, पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति चुनिनेलगायत विषयमा सहमति भए संविधान घोषणा गर्न पुनर्स्थापना गर्न सकिन्छ।’
अन्तिम समयमा माओवादीले पहिचानबिनाको प्रदेशसहित संविधान घोषणा गर्छ भन्ने भारतको अड्कललाई आफूले ‘चक्मा खुवाइदिएको’ दाहालले दाबी गरे। ‘अन्तिम समयमा संकटकाल लगाएर भए पनि माओवादीले संविधानसभालाई रूपान्तरित संसदमा लान्छ भन्ने भारतको अड्कल थियो। हामीले त्यो गरेनौं, यो भारतलाई अर्को चक्मा हो,’ उनले भने।
पहिचानसहितको प्रदेशमा कांग्रेस, एमालेसँग कुरा नमिलेपछि नयाँ संविधानसभा चुनाव घोषणा गर्नुको विकल्प नरहेको दाहालले बताए। ‘सकंटकाल लगाएर जाऔं भनेर कांग्रेस र एमालेका नेता आएका थिए। भित्र मन्त्रिपरिषद बैठक बसेर नयाँ संविधानसभा चुनावको घोषणा गर्दै थियो। मन्त्रिपरिषद बैठकमा पस्ने कुरा भएन, मैले कांग्रेस, एमालेका नेताहरूलाई बाहिरैबाट फर्काइदिएको हुँ,’ दाहालले जेठ १४ रातिको फेहरिस्त प्रशिक्षणमा राखे।  ***
तपाईको प्रतिक्रिया