शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौ- पार्टी एकताका लागि पद त्याग्न तयार रहेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले असन्तुष्ट उपाध्यक्ष मोहन वैद्यपक्षमा तरंग ल्याएको छ । यसबारे वैद्य शिविरभित्र दुईथरी धारणा छ, एकथरीले यसलाई दाहालको रणनीतिमात्र भएको ठानेका छन् भने अर्काथरीले साँच्चिकै एकताको पहल । जे भए पनि अध्यक्ष पद छाड्ने भनी दाहालले फ्याँकेको ‘अस्त्र’ ले पार्टी फुटाउने प्रक्रिया थालिसकेको वैद्यपक्षलाई फेरि एकपटक अलमल्याइदिएको छ ।
वैद्य पक्षका एकथरी नेता दाहालको उक्त अभिव्यक्ति मनैदेखि आएको विश्लेषण गर्न थालेका छन् । अर्काथरी ुहार्डलाइनरु भने दाहालको पद छाड्ने घोषणा ुनाटकु मात्र भएको टिप्पणी गर्दै नयाँ पार्टी गठनको विकल्प नभएको बताउँछन् । पद छाड्ने दाहालको भनाइले माओवादीमा होइन, बाहिर पनि तरंग ल्याएको छ । साँच्चिकै दाहालले पद छाडेर पार्टी एकता गराउन लागेका हुन कि एजेन्डा मात्रै फालेका हुन् रु जे भए पनि अध्यक्ष त्याग्ने बताएर उनले पछिका लागि ठाउँ बनाएका छन्, यसका बाबजुद वैद्य पक्षले पार्टी फुटाए ‘आफूले त्याग गर्न खोज्दा पनि विभाजनकारीले पार्टी फुटाइछाडे’ भन्न ।
करिब २३ वर्षदेखि पार्टी नेतृत्व गर्दै आएका दाहालले एकाएक अध्यक्ष पद छाड्ने अभिव्यक्ति दिनुका पछाडि केही कारण छन् । जस्तो, अहिले पनि संस्थापनसँग बहुमत छ । उनले तत्काल पद छाडेर महाधिवेशन घोषणा गर्ने प्रस्ताव राख्न सक्छन् । माओवादीभित्र लामो समयदेखि महाधिवेशनको माग पनि भइरहेको छ ।
त्यस बेलासम्मका लागि वैद्य पार्टी अध्यक्ष भए पनि महाधिवेशन भए बहुमतले पुनः दाहाललाई अध्यक्षमा चयन गर्ने सम्भावना बलियो छ । र, त्यसबेलासम्म दलहरूबीच सहमति बनेर निर्वाचन भयो भने राष्ट्रपतिको उम्मेदवार बन्न दाहालको मार्ग प्रशस्त हुनेछ र पार्टी एक रहँदा उनले जित्ने सम्भावना पनि । यसो हुँदा दाहालले दुवै लडाइँ जित्नेछन्, पार्टी अध्यक्ष र राष्ट्रपति हुने अवसर प्राप्त गर्नेछन् ।
छोटो समयका लागि अध्यक्ष पद छाड्दा कुनै फरक नपर्ने रणनीति दाहालको हुनसक्छ । त्यो बुझेर हुनुपर्छ, वैद्य पक्षका नेताहरूले दाहालले विकल्पसहित दुई कुरा पूरा गरेमात्र पार्टी एक हुनसक्ने कडा प्रस्ताव राख्न थालेका छन् । पहिलो अध्यक्ष पद वैद्यका लागि छाड्नुपर्ने, दोस्रो प्रधानमन्त्री बाबुराम भट्टराईसँग सम्बन्ध तोडी उनलाई प्रधानमन्त्रीबाट हटाएर महासचिव रामबहादुर थापालाई सरकारको नेतृत्व दिनुपर्ने ।
वैद्यपक्षका बलिया नेता नेत्रविक्रम चन्दले त वैद्यलाई अध्यक्ष र भट्टराईसँग सम्बन्ध तोडी थापालाई प्रधानमन्त्री दिए पार्टी नफुट्ने सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । ‘तत्काल यी दुई कुरा गरेमात्र पार्टी फुट्नबाट जोगिन्छ,’ उनले भनेका छन्, ‘साथै अध्यक्षले शान्ति र संविधानको कार्यदिशा असफल भएको भन्दै आत्मालोचना गर्नुपर्छ ।’
दाहालका सल्लाहकारले भने अध्यक्ष पद छाडे पनि कार्यदिशा असफल भएको स्वीकारे आगामी राजनीतिक भविष्य अन्योलमा पर्ने भएकाले त्यसो गर्न नहुने सुझाव दिएका छन् । साथै भट्टराईसँग तत्कालै सम्बन्ध तोडेर वैद्यसँग जोडिएमा दाहालमाथि अडान नभएको आरोप लाग्नेछ । यसकारण पनि दाहाल तत्काल भट्टराईसँग सम्बन्ध तोड्ने पक्षमा छैनन् ।
दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले दाहाल व्यक्ति हेरेर अघि नबढ्ने बताए । ‘बाबुरामजीसँग सम्बन्ध तोड्ने प्रस्ताव कतैकतै सुनिँदैछ,’ उनले कान्तिपुरसँग भने, ‘तर व्यक्ति होइन, राजनीतिक कार्यदिशा मुख्य कुरा हो ।’ बीचमा दाहालमा देखिएका केही उतारचढावलाई नजरअन्दाज गर्ने हो भने शान्ति र संविधानको कार्यदिशादेखि संविधानसभाको निर्वाचन घोषणासम्म दाहाल र भट्टराई एक छन् । वैद्य पक्षले भने संविधानसभा निर्वाचनलाई नौटंकी भनेको छ ।
वैद्यपक्षका एक वरिष्ठ पोलिटब्युरो सदस्य भने दाहालले शान्ति र संविधानको कार्यदिशामा जानु गल्ती भएको स्वीकारे स्थिति सहज हुने ठान्छन् । ‘कार्यदिशा गलत थियो भनेर स्वीकारे, अलिकति मन पग्लेला । पद छाडेपछि झन् पग्लेला,’ उनले कान्तिपुरसँग भने, ‘त्यसपछि महाधिवेशन गरेर पुनः अध्यक्ष निर्वाचित भएमा मान्न सकिन्छ ।’ पार्टी जोगाउने कि फुटाउने भन्नेमा अध्यक्षको कोर्टमा बल गएको उनले जनाए ।
वैद्य पक्षले असार पहिलो साता बोलाएको राष्ट्रिय भेलाअघि दाहालले पद छाडी, कार्यदिशामा आत्मालोचना गरेमात्र पार्टी चिरा पर्नबाट जोगिने ती नेताले बताए । दुवै पक्षबीच कुनै चमत्कारिक समझदारी भयो भने संस्थापनले बोलाएको सातौं विस्तारित बैठक र वैद्यको राष्ट्रिय भेला स्थगित भई असार १० को वरिपरि केन्द्रीय कमिटीको बैठक हुनेछ । त्यो बैठकले पार्टी चिरा पर्नबाट जोगाउन सक्छ, जुन उत्तिकै गाह्रो पनि छ ।
किनकि, अहिलेसम्म वैद्य पक्ष पार्टी फुटाउन हिच्किचाउनुको कारण थियो संविधानसभा, जुन विघटन भइसकेको छ । संविधानसभा रहेका बेलाजस्तो संसद्मा ४० प्रतिशत पुर्‍याउने झन्झट नभएकाले पार्टी फुटाउन हिजोभन्दा निकै सजिलो छ र वैद्य पक्षका एकथरी नेता अब दाहालसँग सहकार्य हुनै नसक्ने, गर्नै नमिल्ने अडानमा छन् ।
तपाईको प्रतिक्रिया