शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
काठमाडौ- विघटित संविधानसभाका सदस्यहरू संविधान नबनाई त्यसै र्फकनुपर्दा बिहीबार राज्य व्यवस्था समितिमा भावविह्वल मात्र भएनन्, उनीहरूबीच रुवाबासी नै चल्यो । सचिवालयका कर्मचारीले आफ्नो समितिका निवर्तमान सभापति र सदस्यहरूलाई बिहीबार सचिवालयमा बिदाइ कार्यक्रम गर्दा उनीहरूबीच संविधान बन्न नसक्नुको अपजसको भारी लिएर घर कसरी र्फकने भन्दै रुवाबासी चलेको हो ।
प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले तथा मधेसी मोर्चाका शीर्ष नेताका कारण संविधानसभा विघटन भएको र त्यसको दोष आफूहरूले समेत बोकेर जनतासमक्ष र्फकनुपरेको भन्दै कतिपय सभासद कार्यक्रमस्थलमा धुरुधुरु रोए ।
‘म दलित, शोषित तथा उत्पीडित जनताको प्रतिनिधिका रूपमा उनीहरूको पक्षमा संविधान बनाउन उत्साहका साथ आएकी थिएँ । तर, प्रमुख तीन दल र मधेसी मार्चाका शीर्ष नेताहरूले सहमति गर्ने भनेर संविधान नबनाई संविधानसभा हठात् विघटन गराइदिए,’ कांग्रेसकी कृष्णकुमारी परियारले रुँदै भनिन्, ‘नेताहरूले देश र लोकतन्त्रलाई नै धोका दिए । यी नेताले मुलुकको हित गर्दैनन् । संविधानसभाबाट संविधान नबनेको दोष भने हामीले समेत बोकेर घर र्फकनुपरेको छ ।’ बोल्दाबोल्दै डाँको छाडेर रोएकी थिइन् । दुई घन्टा बढी चलेको बिदाइ कार्यक्रममा उनको आँखामा आँसु थामिएका थिएनन् । उनी रोएपछि कार्यक्रममा उपस्थित सबै भावविह्वल बने । कतिका आँखामा आँसु छचल्किएका थिए ।
‘हामीले जिल्लाजिल्लामा गएर जनताका सुझाव ल्यायौं । जनतालाई तपाईंहरूको सुझावअनुसार संविधान बनाउँछौं भनेर आश्वासन बाँड्यौं । शीर्ष नेताहरूले सबै कुरा रद्दीको टोकरीमा हालिदिए । नेताहरूले हामीलाई रुनेबाहेक केही बाँकी राखेनन् । निवर्तमान सभापतिज्यू, हामी कुन मुख लिएर जिल्लामा जाने ?’ उनले भनिन् । आफ्ना सहकर्मीहरूलाई ‘पोखरा आउनुभयो भने मेरो घरमा आउनोस् मैले गुन्द्रक र भात खुवाउँछु,’ भन्दै उनी बिदा भइन् ।
कार्यक्रमकी अन्तिम वक्ता माओवादीकी निरू दर्लामीसमेत रोइन् । उनले संविधान नबन्नुमा आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल बढी दोषी भएको बताइन् । ‘हामी(माओवादी) ले संविधानसभाका निम्ति दसवर्षे जनयुद्ध गरेको हो । संघर्षका क्रममा हजारौं बलिदान भए । संघर्षको उपलब्धिका रूपमा प्राप्त संविधानसभा चुनावमा हामीले समेत आमजनतासमक्ष वर्षौंदेखि शोषित, पीडित र उत्पीडित वर्गको पक्षमा संविधान बनाउने वाचा गरेका थियौं । तर, नेताहरूले संविधानसभामा हामीलाई भूमिकाविहीन बनाइदिए,’ उनले आँसु झार्दै भनिन्, ‘संविधान नबनाई संविधानसभा विघटन भयो । विघटन हुनुमा सबभन्दा ठूलो दलका नेता माओवादी अध्यक्ष प्रचण्डसमेत कलंकको टीका लाग्नबाट अछुतो रहनुभएन । नेताकै कारण लामो संघर्षबाट उपलब्धि संस्थागत हुन सकेन । कुन मुख लिएर आमजनतासमक्ष जाने ?’ दर्लामीले बोलिरहँदा पटकपटक आँसु पुछिरहेकी थिइन् । बिदाइ भएर बाहिर निस्कँदासमेत दर्लामी र परियारका आँखामा आँसु थिए ।
जनमोर्चाका नेता चित्रबहादुर केसीले संघीयतासहितको संविधान नबनेकामा देशभरबाट आफूले जितेको भनेर बधाई आइरहेको उल्लेख गर्दै भने, ‘मैले त संघीयताबिनाको संविधान बनाऊ भनेको थिएँ । ठूला दलका नेताका कारण संविधान नै नबनेर देशले हारेको बेला मैले कसरी जितें ?’
कांग्रेसका जगदीशनरसिंह केसीले संविधानसभाका विभिन्न समितिबाट सभासदहरूले संविधानको काम सकेर नेताहरूलाई सुम्पिएर आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै प्रमुख दलका नेताकै कारण संविधान नबनेको उल्लेख गरे । ‘प्रमुख सबै दलका शीर्ष नेताले संविधान निर्माणका सवालमा आ-आफ्नो जिम्मेवारी पूरा गर्न सकेनन् । हामी होइन, सबै दलका शीर्ष नेता असफल भएका हुन्,’ उनले भने । ‘नेताहरूबाट यतिसम्म बेइमानी होलाजस्तो लागेको थिएन’ भन्दै एमालेका राजबहादुर बुढाले भने ।
तपाईको प्रतिक्रिया