शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024
बाबु, मलाई र रणबहादुरलाई गोली लाग्यो। खै कसले हान्यो थाहा छैन,’ एक्कासी हाँस्य कलाकार दिपकराज गिरीलाई बिहीबार ११:१५ मा बुबा राम गिरीको फोन आयो ।  हिजो बेलुका सर्वोच्चका न्यायाधीश रणबहादुर बमसँग कलङ्कीमा बस्न गएका राम गिरीले बिहान मर्निङ वाक गरेर घर आउने जानकारी गराएका थिए।
‘बुबाको फोन सुन्दा एक्कासी डराएँ। हत्तारिँदै अस्पताल पुग्दा बुबालाई अपरेसन थिएटरमा लगिसकेको रहेछ,’ दिपकले भने। उनका कान्छा भाइ ३ वर्षअघि आजैको दिन  बितेका थिए। राम गिरीको हात र पेटमा गरी ३ वटा गोली लागेको छ। उनकाअनुसार बुबा र रणबहादुर बम मिल्ने साथी हुन्। दिपकलाई बुबाले घटनास्थलबाटै फोन गरेका थिए। कामको व्यस्तताले हिजो बाबुसँग दिपकले कुरा गर्न पाएका थिएनन्।
‘हिजो रणबहादुर अंकलसँग फोनमा कुरा भएको थियो। ‘आज तिम्रो ड्याडी मसँगै बस्नु हुन्छ है,’ फोनमा भएको कुरा दिपकले सुनाए। नर्भिक पुर्‍याउनुअघि उनलाई अल्का अस्पताल पुर्‍याइएको थियो। ‘भर्खर पेटको गोली निकाल्यो। अब दुई वटा गोली निकाल्नको लागि अपरेसन भइरहेको छ,’ उनले भने। दीपकराज गिरी सिनामंगलमा बस्छन्। अवकाशप्राप्त ६६ वर्षीय राम गिरी कृषि विकास बैंकमा थिए। थानकोटमा भएको मोटरसाइकल दुघर्टनामा आजैको दिन उनको भाइको मृत्यु भएको थियो। ***
तपाईको प्रतिक्रिया