Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

टोकियो – एनआरएन आईसीसीका बहालवाला अध्यक्ष देवमान हिराचनले पुनः अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । यहि अक्टोबर १२ देखि १४ सम्म राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम्मेलनले एनआरएनको नेतृत्वसहित आगामी दुइ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गर्दैछ । नयाँ बन्ने कार्यसमितिमा पुनः नेतृत्वको दाबी गर्दै हिराचनले उम्मेदवारीको घोषणा गर्नुभएको हो । उम्मेदवारीको घोषणा संगै उहाँले आफ्नो प्रतिबद्धता पत्र पनि सार्बजनिक गर्नुभएको छ ।

उहाँले सार्बजनिक गर्नुभएको प्रतिबद्धता पत्रको पूर्ण पाठ यसप्रकार छ ।
आगामी कार्यकाल २०११-२०१३ का लागि मेरा प्रतिवद्धताहरू
– देवमान हिराचन
गैरआवासीय नेपाली संघ (एनआरएनए)  स्थापना भएको ९ वर्ष पूरा भएको छ । यस नौ वर्षको अवधिमा एनआरएनएले विश्वका धेरै मुलकहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ र हाम्रो संघ यथार्थमा एउटा महासंघको रुपमा स्थापित भएको छ । नौ वर्षको यस दौडानमा हाम्रो यस संस्थालाई गरिमामय प्रतिष्ठा र पहुंचमा पुर्‍याउन विभिन्न तरिकाले लाग्नुभएका एनआरएनएका मित्रहरूलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

विश्वका ५६ भन्दा बढी मुलुकमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरू गठन भइसकेका छन् र तिनै एनसीसीहरू नै एनआरएनएका प्राण उर्जा हुन् । नौ वर्षको यस कार्यकालमा हाम्रो संस्थाले दुइ अध्यक्षहरू पायो । जसमध्ये ७ वर्ष डा. उपेन्द्र महतोले अध्यक्षता गर्नुभयो भने दुइ वर्ष अर्थात् एक कार्यकालको जिम्मेवारी मैले निर्वाह गरेको छु । यस दुइवर्षको कार्यकालमा संगठनलाई संस्थागत रुपले अघि बढाउने र यसलाई मजबुत तुल्याउने कार्यमा यथासम्भव म लागें । यसबीच धेरै महत्वपुर्ण कामहरू भएका छन्, कैयन काम कार्यान्वयनकै क्रममा अर्थात् अधुरै छन् भने कतिपय योजना सुरु गर्नुपर्ने अवस्थामै पनि छन् । मेरो अनुभव या भोगाइले आफूलाई सम्झाएको एउटा कुरा म सेयर गर्न चाहन्छु कि धेरै काम गर्छु भनेर लागेको व्यक्तिका लागि दुइ वर्षको कार्यकाल त निकै छोटो पो हुंदोरहेछ । मेरो कार्यकालमा सम्पन्न कार्यहरूबारे यस घोषणापत्रसंगै मैले एउटा सूची पनि संलग्न गरेको छु ।

एनआरएनए आज पांचौ विश्वसम्मेलनको संघारमा छ । ‘हाम्रो सञ्जाल-हाम्रो पहिचान: समृद्ध नेपाल’ भन्ने यस पांचौ सम्मेलनको मुल नारा तय भएको छ । हामी गैरआवासीय नेपालीहरूको यो एक साझा अभियान भएकोले संस्थागत रुपमा यसको मजबुती अत्यन्त आवश्यक छ । संस्था बलियो भएन भने यो व्यक्तिवादी भएर जान्छ । हाम्रो संस्थाले केवल धनी या सम्पन्न र उद्योगपतिहरूलाई मात्र अध्यक्ष बनाउने उद्देश्य राखेको होइन भन्ने म यहांनेर स्मरण गराउन चाहन्छु । भिजन भएका व्यक्तिहरू व्यवसायी नभए पनि संस्थाको नेतृत्वपंक्तिमा आउन सक्ने बनाउनु पर्छ भन्ने मेरो धारणा सुरुदेखि नै रहीआएको छ । त्यसको एउटै विकल्प भनेको संस्था बलियो बनाउनु हो । संस्था बलियो बनाउन यसलाई कानूनी या वैधानिकताको कसीमा खरो रुपले स्थापित गराउनु जरुरी पर्छ । नौ वर्षसम्म संस्थाले कानूनी रुपमा स्थापित हुन नसक्नु भनेको लाजमर्दो विषय नै हो । तर विगत दुइ वर्षमा यस क्षेत्रको काम द्रुत गतिमा अगाडि बढेको कुरा जानकारी गराउन पाउंदा व्यक्तिगत रुपले समेत म अत्यन्त हर्षित छु ।

कुनै पनि जिम्मेवारी निर्वाह गर्ने काम सजिलो हुनसक्दैन । त्यसमाथि गैरआवासीय नेपाली संघ जस्तो विश्वव्यापी रुपमा सदस्यहरू फैलिएर रहेको संस्थाको भूमिका र त्यस्तो संगठनको व्यवस्थापन गर्दै अघि बढ्ने कार्य कति चुनौतीपूर्ण हुन्छ भन्ने सम्झाइरहनु पर्ने विषय होइन । यसअनुसार आफ्नो कार्यकालको दौरानमा मैले पनि अनेक प्रतिकुलता, अप्ठ्यारा र चुनौतीहरू ब्यहोर्नु पर्‍यो, तर कर्मठ कार्यसमितिका साथै आम एनआरएन सदस्य साथीहरूको सहयोग, सुझाव, सद्भाव एवं इमान्दार प्रयत्न लगाएर सुझबुझका साथ व्यवधानहरू चिर्ने काम भयो । कामका क्रममा हरदम प्रतिकुलता रहन्छन् भन्ने पनि होइन, कैयन काम-कुराहरू सहजताका साथ सम्पन्न भएका पनि छन् । यसरी आज एनआरएनएको यात्राले निकै जंघारहरू पार गरिसकेको छ । यसको मतलब यो पनि होइन कि चुनौती र समस्याहरू समाप्त भए । समय परिस्थितिअनुसार नयां-नयां आवश्यकता, समस्या र चुनौतीहरू हाम्रा सामु सिर्जना भएकै छन् । दृढ मनोबल तथा सुझबुझपूर्ण कदमका साथ त्यसलाई चिर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।

आफू जन्मिएको माटोसंग जोडिएर रहने र मातृभूमिका लागि केही गर्ने अठोट बोकेका प्रत्येक गैरआवासीय नेपालीको चाहना र अठोट साकार तुल्याउन संघले निरन्तर प्रयत्न गर्दैआएको छ । जहां रहेपनि नेपालीले आफू जन्मिएको देशसंग जोडिन पाइरहुन् भन्ने सोचलाई ध्यानमा राख्दै स्वदेशको नागरिकता कायम नै रहने व्यवस्था बन्न लागेको नयां संविधानले सुनिश्चित गरोस् भन्नेमा हामी अत्यन्त जोडबलले लागिपरिरहेका छौं । यसलाई हाम्रो स्वार्थको रुपमा मात्र नबुझेर राज्यले मुलुककै हितको अर्थमा बुझ्नुपर्छ । र निकै हदसम्म राज्यका निकाय तथा राजनीतिक दलहरूलाई बुझाउन सफल भएका छौं ।

राजनीतिक वातावरण नसङ्लिएसम्म देशमा आएर लगानी गर्न र भएको लगानी विस्तार गर्न नसकिने भएकोले सहमतिबाट छिटै राजनीतिक समस्या टुङ्ग्याएर आर्थिक विकासतिर ध्यान केन्द्रित गर्न सबै राजनीतिक दलहरूलाई म संघका तर्फबाट हार्दिक अनुरोध गर्दछु । गैरआवासीय नेपालीहरूको भूमिका बढाउन, मुलुकको समग्र विकास प्रक्रियामा सरिक तुल्याउनका लागि जमीन तयार गर्ने कार्यमा सरकारको अहम् भूमिका रहने भएकोले यसका लागि नेपाल सरकार हरदम सचेत, संवेदनशील र सहयोगी रहन पुनः म आग्रह र अनुरोध गर्दछु ।

विदेशमा बसेका नेपालीले भोग्नुपरेको पीडा र समस्याबारे एनआरएनए जस्तै नेपाल सरकार पनि चनाखो र संवेदनशील रहनुपर्छ । किनकि,  हामी संधैंका लागि मातृभूमि त्यागेर विदेशिएका होइनौं। हामी मध्ये धेरै सक्षम र सम्पन्न भएपछि स्वदेशमै आफ्नो पूंजी, सीप, विद्या र बुद्धि खर्चन तयार छौं । त्यसैले सरकारसंग सहकार्यको कुरा हामीले उठाइरहेका हौं । अस्तित्व र पहिचान, संरक्षण र सम्मान, अनि सहजता र सुरक्षा बारेका सवाल नै यतिबेला एनआरएनहरूले अनुभूत गरिरहेका समस्या हुन् । विदेशमा रहेका नेपालीप्रति देशले महत्व देखाउन नसकेको कुराले हामीलाई जति बिझाउंछ विदेशमा रहेका नेपालीहरूले पनि राष्ट्रको लागि आफ्नो क्षमताको प्रयोग अपेक्षित रुपमा नगरेको भन्ने आरोपप्रति उत्तिकै संवेदनशील हुन सक्नुपर्छ । नेपाल शान्त र समृद्ध भएमा संसारभरका नेपालीको मनोबल मात्र होइन सम्मान पनि उकासिने छ । तसर्थ नेपालको शान्ति र समृद्धिका लागि हामीले आफ्नो ठाउंबाट पूरापुर जिम्मेवारी बहन गर्नुपर्छ ।

हाम्रा आरम्भका दिनहरू सहज थिएनन् तर त्यसलाई सुझबुझका साथ चिर्ने काम भयो । यसको मतलब चुनौती र समस्याहरू समाप्त भए भन्ने होइन । बरु समय-परिस्थितिअनुसार नयां-नयां समस्या र चुनौतीहरू हाम्रा सामु सिर्जना भएकै छन् र दृढ मनोबल तथा सुझबुझपर्ण कदमका साथ त्यसलाई चिर्नुपर्ने आवश्यकता छ ।

परिस्थितिजन्य विभिन्न कारणले विगतमा गरिएका घोषणापत्रका प्रतिवद्धताहरू सबै कार्यान्वयन हुन नसकिरहेको अवस्थाले हामीलाई निर्देश गरिरहेको छ कि हामीले आफ्नो बारेमा आत्मसमीक्षा गर्दै भावी रणनीतिहरू तय गर्नुपर्छ । यस घोषणापत्रमा मैले मेरो दोस्रो कार्यकालका लागि भावी रणनीतिहरू पेश गर्दै कार्यान्वयनको समयतालिका समेत प्रस्तुत गरेको छु, ताकि देश एवम् विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूले मेरो दोस्रो कार्यकालको मूल्याङ्कन यिनै लिखित एजेण्डाको आधारमा गर्नु हुनेछ । हामीलाई संस्थाभित्र सिस्टम बसाल्नु पर्ने आवश्यकता छ । यो घोषणापत्र पनि त्यही हेतूबाट तयार पारिएको अवगत गराउंदै आफूले सुरु गरेका कैयन कामलाई पूर्णता दिने, नयां योजना तथा कामको जग बसाल्ने र गैरआवासीय नेपाली संघलाई अझै फराकिलो, मजबुत एवम् विश्वका जुनकुनै कुनामा रहेका जुनसुकै वर्गका नेपालीको एक साझा चौतारीका रुपमा थप विकसित गर्ने ध्येयले पुनः अर्को कार्यकालका लागि आफूलाई अध्यक्षको उम्मेद्वार बनाएको सविनय जानकारी गराउंछु । आजसम्म मलाई चौतर्फी रुपमा हासिल भएको साथ, सहयोग र समर्थन निरन्तर रहने आशा एवम् विश्वासका साथ आफ्ना भावी कार्यक्रमहरू प्रस्तुत गर्दछु ।

वृहत्तर अन्तरराष्ट्रिय सञ्जालको लागि दुइ वर्षको कार्यकाल छोटो भएको विगतको अनुभवले पनि पुष्टि गरिसकेको अवस्थामा मैले पूरा गर्न अझै बांकी धेरै कामहरू रहेकोले आगामी कार्यकालको लागि निम्नानुसारको प्रतिवद्धताहरू यहांहरू समक्ष राख्न चाहन्छु –

१) संविधान नबनिसकेको वर्तमान अवस्थामा ऐनमा संसोधन गरी नागरिकता कायम रहने व्यवस्था र अब बन्ने नयां संविधानमार्फत नै ‘एकपटकको नेपाली सधैंको लागि नेपाली’ हुने निश्चितताका लागि पहल गर्ने,
२) विदेशमा बसेर पनि नेपालीले मतदान गर्न पाउने या गर्न सक्ने व्यवस्थाका लागि आवश्यक संयन्त्र निर्माणमा पहल गर्ने,
३) २५ सयभन्दा बढी नेपाली बसेका कुनै पनि देशलाई नेपालमा उसको आवासीय दूतावास खोल्न पहल गर्ने,
४) दुबई, कतार, मलेसियालगायत अन्य देशमा फासी र अन्य कठोर सजाय दिइएका एनआरएनहरूको जीवन रक्षाका लागि सम्पूर्ण तवरबाट पहल गर्ने,
५) एनआर वैज्ञानिक र नेपाली वैज्ञानिकका बीचमा सेमिनार गर्ने र विज्ञानप्रविधिको क्षेत्रमा गर्ने कार्यको रणनीति बनाउने,
६) स्वदेशमा आइपर्ने हरेक समस्याहरूमा पूर्ण जिम्मेवारीका साथ समस्या समाधानका गर्न छुट्टै सचिवालय स्थापना गर्ने,
७) स्वदेश तथा विदेशमा एनआरएनको लगानी सुरक्षित तुल्याउन आवश्यक कानूनी प्रावधानको व्यवस्था गर्ने र जस्तोसुकै पहलकदमी लिने,
८) संस्थालाई बलियो बनाई हरेक एनआरएनलाई नेतृत्वमा ल्याउन सकिने वातावरण अनुसारको सांगठनिक संरचना बनाउन रणनीति निर्माण गर्ने,
९) घरेलु कामदारका रुपमा दुबई लगायतका मुलुकमा पुग्ने महिलाका लागि सजिलैसंग नेपालबाट जान र दूतावासको पत्रबिना पनि सजिलै प्रवेशको वातावरण बनाइदिन नेपालसरकारसंग पहल गर्ने,
१०) नेपाल सरकारसंग पहल गरी एकचोटी श्रमको कागज बनाइसकेपछि पटकपटक बनाइरहन नपर्ने व्यवस्था गर्ने,
११) यूएइ सरकार र नेपाल सरकारबीच भएको श्रम सम्झौताको कार्यान्वयन नगर्दा नेपाली दिदीबहिनीहरू अहिले पनि डिएचएस ५००।- मा काम गर्नुपरेको अवस्था छ । यसले नेपालको महंगीलाई थेग्न नसक्दा कैयौं दिदीबहिनीले बढी तलबको लागि भागेर ज्यान जोखिममा पार्दै काम गर्नु पर्ने बाध्यता झेलिरहेका छन् । त्यसरी गैरकानूनी ठहरिएका कामदारलाई मुलुक फर्काउन धेरै कठिनाइ झेल्नुपरेको छ । यो अवस्था अन्त्य गरी नेपाल सरकार र युएई सरकारबीच पटकपटक भएका श्रम सम्झौताहरू कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै दुइ देशको भिजिट गरी नेपाल र नेपालीलाई अहिलेको महंगीसंग जुझ्न सक्ने स्तरको तलब सुविधा बनाउन गर्न गम्भीर पहलकदमी लिने,
१२) एनआरएन महिला संजालको चूस्त सांगठनिक संरचना र आवश्यक नीति तथा कार्यक्रम तय गर्न थप गृहकार्य गर्ने,
१३) मिडिल इस्ट या मलेसियामा रोजगारमा जांदा नेपाली युवाले तिरेको दस्तुरबाट जम्मा भई नेपाल सरकारसंग अहिले मौज्दात रहेको ९२ करोड रकमबाट केही प्रतिशत नेपाल एम्बेसी र एनआरएनएलाई उपलब्ध गराउन पहल गर्ने र सो फण्डबाट विदेशमा समस्यामा परेका नेपालीलाई अस्थायी सेल्टर प्रदान गर्न ‘एनआरएन घर’को व्यवस्था गर्ने,
१४) एनसिसी र त्यहांका नेपाली समुदायको सामूहिक स्वामित्वमा नेपाल हाउस (नेपाली सांस्कृतिक भवन) बनाउने अभियानलाई प्राथमिकता दिने, सो को लागि नेपाल सरकार तथा विभिन्न दातृ निकायको तर्फबाट हुन सक्ने अधिकतम सहुलियत तथा सहयोगको लागि पहल गर्ने,
१५) स्थानीय विकास र श्रम मन्त्रालयसंग समन्वय गरी हरेक गाविसलाई वैदेशिक रोजगार स्रोत सूचना केन्द्र बनाउने,
१६) एनआरएनए र नेपाल सरकार एवम् स्थानीय निकायका संस्थासंगको सहकार्यमा नेपालका विभिन्न जिल्लामा माइक्रो इन्टरप्राइज डेभलोपमेन्ट परियोजना संचालन गर्ने,
१७)  निर्वाचित भएको सय दिनभित्र समष्टिगत कार्ययोजना सार्वजनिक गरिने र उक्त कार्ययोजनाको प्रगति विवरण वेबसाइटमार्फत अनुगमन गर्न मिल्ने,
१८) उद्योग एवम् कृषिमा एनआरएनको विशेषज्ञतालाई नेपाल भित्र्याउने र निःशुल्क तालिम कार्यक्रम सञ्चालन गर्ने,
१९) प्रतिवर्ष ५ जनालाई एनआरएनए प्रेसिडेन्सियल फेलोसिप प्रदान गरी विदेशमा अध्ययनको व्यवस्था मिलाउने,
२०) नेपाली खेलाडीहरूलाई विदेशमा तालिमको लागि एनआरएन कोष खडा गर्न पहल गर्ने,
२१)  अर्थ, परराष्ट्र, उद्योग मन्त्रालयहरूसंग समन्वय गरी एनआरएनको समग्र हित प्रवर्द्धन गर्ने,
२२)  बाहिर काम गर्न गएर घर फ़र्कदा आफूले प्रयोग गरी ल्याएका सामानको कर नलाग्ने व्यवस्था गराउन पहल गर्ने,
२३) यूरोप लगायतका मुलूकहरूबाट यथेष्ट प्रमाणविना नेपाली भाषा बोलेकै आधारमा गरिने डिपोर्ट प्रक्रियालाई अविलम्व रोक्न नेपाल सरकार र सम्बन्धित निकायसंग आवश्यक छलफल गर्न तुरुन्त गृहकार्य शुरु गर्ने,
२४) संस्थाको संस्थागत आन्तरिक सुदृढिकरण तथा दिगो विकासको लागि एनसीसीहरूको भूमिकालाई अरू बढावा दिने । निरन्तर सूचना प्रवाह तथा अनुगमनको लागि प्रभावकारी संयन्त्रको विकास गर्ने,
२५) संस्थाको वेभसाइटको अझ स्तरोन्नति गरि सवै एनसिसीहरूको कार्य प्रगति विवरण र सूचनाहरू आवधिक अपडेट गर्दै जाने ।
यी बुंदागत कार्य योजनाका अलावा गैरआवासीय नेपाली संघलाई नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि प्रभावकारी उत्प्रेरक तुल्याउन तथा कुनै पनि मूलुकका सरकारलाई सोझै नेपालमा आर्थिक सहयोग गराउन वा लगानी गराउन भरपर्दो पुलको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । नेपालमा लगानी गर्न आवश्यक वातावरण निर्माण गर्न प्रभावकारी भूमिका खेल्न सक्ने संस्थाको रुपमा गैरआवासीय नेपाली संघलाई सक्षम बनाउनु पर्दछ । संयुक्त लगानीका लागि अलग्गै लगानीकर्ताहरू, वित्तीय व्यवस्थापनमा दखल भएका व्यक्तिहरू, ठूला परियोजना सञ्चालनमा ज्ञान अनुभव भएका व्यक्तिहरू संलग्न भएको सेयर निष्कासन गर्न सक्ने कम्पनीको स्थापना गर्न र त्यस्ता कम्पनीहरूमार्फ़त गैरआवासीय नेपालीहरूको पुंजी परिचालन गर्नु एनआरएन र मुलुक दुबैका लागि हितकर हुने हुनाले यसका लागि पहल गर्न प्रतिवद्ध छु ।

जति धेरै गैरआवासीय नेपालीहरू समृद्ध र सफल हुनेछन् त्यति नै मात्रामा नेपालमा परोपकारी काम गर्न सहयोग गर्नेछन्, नेपालमा लगानी गर्न सक्नेछन् र नेपालको समृद्धिका लागि दरिलो स्तम्भ हुन सक्ने भएकाले सानो संख्यामा रहेका केही सफल व्यापारी/व्यावसायी गैरआवासीय नेपालीहरूको सीप, ज्ञान र अनुभवहरूलाई अन्य गैरआवासीय नेपालीहरूमा समेत विस्तार गर्दै व्यापार-व्यावसायमा संलग्न हुन उत्प्रेरित गर्ने र विश्वका विभिन्न मुलुकहरूका विभिन्न क्षेत्रहरूमा लगानी गर्न जानकारी आदानप्रदान गर्ने प्लेटफ़र्मको रुपमा गैरआवासीय नेपाली संघलाई स्थापित गर्नु जरुरी ठानेको छु र यसको लागि पनि म प्रतिवद्ध छु ।
गैरआवासीय नेपाली संघको संस्थागत विकास भएमा मात्रै यसले सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई नेपाल र नेपालीको हितका लागि योगदान गर्न नेतृत्व प्रदान गर्न सक्छ भन्ने मेरो बुझाइ हो र यसप्रति म विश्वस्त छु । उदार विचार, सद्भाव, हार्दिकता र सहि आत्मसमीक्षा एवं मूल्यङ्कनले मात्र गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा विकास गराउन सकिन्छ । समस्त गैरआवासीय नेपालीहरूको आस्थाको केन्द्रको रुपमा संघलाई स्थापना गर्न यसको संस्थागत विकास अनिवार्य छ । संस्थागत विकासका लागि निम्न आधारभुत कुराहरू लागु गर्ने तर्फ मेरो विशेष पहलकदमी रहने छ :

१. पारदर्शिता
संस्थामा भए-गरेका गतिविधिहरू यसका आमसदस्यहरू खासगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी सदस्यहरू समक्ष खुलारुपमा राख्न सकिएन भने कालान्तरमा यसले संस्थाको र खासगरी संस्था नेतृत्व गरिरहेको नेतृत्वको सम्बन्धमा अविश्वास पैदा गर्ने पृष्ठभूमि तयार पार्दछ र गैरआवासीय नेपाली संघ जस्तो गहन उदेश्य बोकेको संस्थाले सबैको मन जितेर काम गर्न असम्भव हुनेछ । त्यसैले, मेरो पहिलो प्राथमिकता संस्थाको पारदर्शितामा रहनेछ । संघले प्रष्ट नीति अवलम्बन, नीति बमोजिमका कार्यक्रमहरूको सञ्चालन, ती नीति बमोजिमका कार्यक्रम र गतिविधिहरूको अद्यावधिक जानकारीलाई नियमित रुपमा संस्थाका सबै अंगहरूमा पठाउन सक्दा मात्रै पनि निकै हदसम्म संस्थालाई पारदर्शी बनाइ राख्न सकिन्छ भन्ने मेरो बुझाई छ ।

२. एकरुपता:
गैरआवासीय नेपाली संघको विश्वव्यापी संरचनालाई सुदृढ र प्रभावकारी बनाउनका लागि संस्थाका विभिन्न मुलुकमा क्रियाशील राष्ट्रिय समन्वय परिषदहरूको बीचमा एकरुपता आउन आवश्यक छ । गैरआवासीय नेपाली संघको विधानले संस्थामा एकरुपता कायम गर्न पर्याप्त आधारहरू प्रदान गरेको छ । यसका लागि सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरू र ती राष्ट्रिय समन्वय परिषदहरूमार्फत गैरआवासीय नेपालीहरूमाझ सघन छलफल गरी गैरआवासीय नेपाली संघको विधानअर्न्तर्गत नियम र संस्था सञ्चालनका कार्यविधिहरूको प्रष्ट व्यवस्था गरी कडाइका साथ लागु गर्नेछु ।

३. प्रभावकारी सञ्चार:
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् संघको नीति तथा कार्यक्रम तय गर्ने महत्वपूर्ण निकाय भएता पनि निर्णय कार्यान्वयन गर्नका लागि प्रत्येक राष्ट्रिय समन्वय परिषदहरूको भूमिका महत्वपूर्ण रहेको हुन्छ । अन्तरराष्ट्रिय समन्वय परिषदका हरेक निर्णयहरू संस्थाको हरेक तहसम्म प्रभावकारी रुपमा सञ्चार हुन नसकेमा निर्णयहरू कार्यान्वयनको तहसम्म लैजान मुस्किल हुन्छ । तसर्थ, सचिवालयलाई साधन-श्रोतसम्पन्न र प्रभावकारी बनाई हरेक निर्णय र निर्णय बमोजिमका कार्यक्रमहरूको अद्योपान्त विवरण वा योजनाहरू र सबैको भूमिका प्रष्ट उल्लेखित दस्तावेज अनिवार्य रुपमा पठाउनका लागि व्यवस्था गर्नेछु ।

४. मुद्धा वा विषयहरूको पहिचान र सम्बोधन:
गैरआवासीय नेपाली संघ विभिन्न मुलुकमा बसोवास गर्ने गैरआवासीय नेपालीहरूको साझा संस्था भएको हुनाले सबै क्षेत्र वा मुलुकका गैरआवासीय नेपालीहरूका सवल तथा दुर्वल पक्ष र आवश्यकताहरू समान किसिमका नभई फरक-फरक रहेका छन् । यो तथ्यलाई बुझेर विभिन्न विषयहरूको पहिचान गरि कसरी सम्बोधन गर्न सकिन्छ त्यसको खाका तयार गर्न आवश्यक छ र यसका लागि राष्ट्रिय समन्वय परिषदहरूलाई सक्दो सहयोग गर्न जरुरी छ भन्ने मेरो ठम्याई छ ।

अन्तमा, घोषणापत्रहरूमा गरिएका प्रतिवद्धताको समीक्षा र तिनको कार्यान्वयनको तालिका निर्माण गरी अघि बढ्ने मेरो अवधारणा रहेको जानकारी गराउंदछु । जस्तो कि,
क. समय: निर्वाचित भएको दुइहप्ताभित्र तालिका सार्वजनिक गर्न म प्रतिबद्ध छु ।
ख. कार्यान्वयनको अपडेट गर्न वेबसाइटको व्यवस्था: यसमार्फत काम वा योजनाहरू कार्यान्वयन भए-नभएको सार्वजनिक रुपमा अनुगमन गर्न सकिने छ ।
ग. कार्यान्वयनको मासिक प्रगति विवरण वेबसाइटमा राखिने छ ।
माथि उल्लेखित योजना वा रणनीतिहरूका अलावा विश्वभरका एनआरएन समुदाय, नेपाल सरकार तथा आमनेपाली, शुभचिन्तक, सहयोगी सबै क्षेत्र एवम् तह-तप्काबाट आउने सुझाव, उठ्नसक्ने मुद्दा जस्ता विषयहरूलाई प्राथमिकताका आधारमा समेट्दै एनआरएनएको कार्यक्रमका रुपमा अघि बढाइने छ । मेरा यी भावी कार्यक्रमहरूको अध्ययन, मनन र मूल्याङ्कन गर्दै अर्को कार्यकालका लागि समर्थन र सहयोग गरिदिनु हुन समस्त एनआरएन सदस्य मित्रहरूमा हार्दिक अनुरोध गर्दछु । यहांहरूको साथ, सहयोग र समर्थनको पूर्ण विश्वास एवम् आशा गर्दै बडा दशैं, शुभ दिपावली र छठ पर्व २०६८ को शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

 

 

तपाईको प्रतिक्रिया