मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले रक्षामन्त्री शरतसिंह भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । राजनीतिक समितिको बुधबारको बैठकले भण्डारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अध्यक्ष विजयकुमार गच्छदारले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राजीनामा गराउने निर्णय गरे पनि भण्डारी पक्षले निर्णय अस्वीकार गरेको छ । रक्षामन्त्री भण्डारीले अभिव्यक्तिकै भरमा आफूले राजीनामा नदिने बताउँदै बाहिरिएका थिए ।
राजीनाका विषयमा फोरम लोकतान्त्रिकमा तीब्र विवाद थियो । बुधबार नै राजीनामाबारे फोरम लोकतान्त्रिकले प्रमुख सत्तारुढ घटक मधेसी मोर्चामा आवद्ध दलहरुसँग छलफल गरेको थियो । मन्त्री भण्डारीले गत असोज ९ गते एक अन्तक्रिर्यामा मधेसीलाई बिभेदमा पारिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुन सक्ने अभिव्यक्ति दिएका थिए ।
बिपक्षी दलको दबाबपछि हिन्दु युवा संघ पर्साका अध्यक्ष काशीनाथ तिवारीको हत्याको अभियोग लागेका भुमिसुधार मन्त्री प्रभु साहले राजीनामा दिएपछि फोरम मन्त्री भण्डारीलाई हटाउन दबाब परेको छ । रक्षामन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले एक सातादेखि संसद् अवरुद्ध पार्दै आएका छन् ।
भण्डारीलाई फिर्ता बोलाउने निर्णयको विरोधमा उनीपक्षीय कार्यकर्ताले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । उनीहरुले रक्षामन्त्री नभइ उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदार नै राजीनामा दिनुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया