Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – ५७ मुलुकमा छरिएरका नेपाली सहभागी गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्दैछ। वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एनआरएनको अभियान विगतमा भन्दा कमजोर मानिएको अहिलेको अवस्थामा यो नयाँ जिम्मेवारी लिन अध्यक्षको उम्मेदवारी घोषणा गरेका दुवै प्रत्यासीसँगको कुराकानी :

 

जलविद्युतमा लगानी गर्छौं : जीवा लामिछाने

गैरआवासीय नेपाली संघको अध्यक्षका लागि तपाईंको उम्मेदवारी किन?

मेरो उम्मेदवारी संस्थालाई अगाडि बढाउनका लागि हो। विगतदेखि नै सामूहिक लगानीको विषय हामीले उठाउँदै आएका थियौं। मेरो योजना सामूहिक लगानीका लागि कोष नै बनाउने हो। यो कोषमा साना, मझौला र ठूला पुँजीलाई एकत्रित गरी विशेष गरी जलविद्युतमा लगानी गरिने छ। चालु आर्थिक वर्षको बजेटमा १ सय मेगावाटका विद्युत आयोजनाका लागि गैरआवासीय नेपालीहरुलाइ आह्वान गर्ने व्यवस्थासमेत भएकाले यो क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छ।

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउने अर्को एजेन्डा छ। सामाजिक क्षेत्रमा काम कम भएको गुनासोलाई सम्बोधन गर्न अझ प्रभावकारी रुपमा काम अगाडि बढाइनेछ।

एनआरएनलाई दोहोरो नागरिकताको सट्टा नेपाली नागरिकताको निरन्तरता दिनुपर्छ भन्ने माग राखेका छौं। एकपटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई नयाँ संविधानमा राख्नका लागि पहल गरेका छौं। अर्को मुलुकमा नागरिकता लिए पनि नेपाली नागरिकता छोडनु नपर्ने मागलाई अहिले राजनीतिक दलले समेत सकारात्मक रुपमा लिएका छन्।

५७ मुलुकमा संगठन विस्तार भएको यो संस्थाको आर्थिक र वैधानिक स्थायित्व आवश्यक छ। यसका लागि आवश्यक योजना बनाएको छु। अहिलेसम्म स्वयंसेवक भएर पदाधिकारीबाट चलेको छ। यसरी सधैंभरि चलाउन सकिंदैन। सुधार गर्नुपर्छ।

वर्तमान अध्यक्ष देवमान हिराचन र तपाईंले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सहमतिको सम्भावना छ कि छैन?

सहमतिको सम्भावना छ। वर्तमान अध्यक्ष हिराचनले पहिले नै एक कार्यकालका लागि भन्नुभएको थियो। अन्तिम समयमा प्रतिबद्धता पूरा गरेर वचन राख्नुहुन्छ भन्ने विश्वास छ। उच्च तहमा सहमतिका लागि प्रयास गरिरहेको छ। मैले धेरैपटक उहाँसँग कुरा गरिसकें। हिराचनले सुरुदेखि नै मलाई नै आगामी अध्यक्ष भन्दै आउनुभएको थियो। उहाँजस्तो सम्मानित व्यक्तित्वले आफ्नो वचन पूरा गर्नुहुन्छ भन्ने लाग्छ। म पनि एक कार्यकालका लागि मात्रै हो। अर्कोपटक नयाँलाई सहयोग गर्नेछु।

एनआरएन अभियान पहिलेभन्दा कमजोर हुँदै गएको हो?

मलाई त्यस्तो लाग्दैन। क्षमताभन्दा बढी अपेक्षा भएकाले पनि केही भ्रम सिर्जना भएका होलान्। हामी पहिलो पुस्ताको डायस्पोरा हौं। संख्या ठूलो छ र स्रोत जुटाउन सकिन्छ। एनआरएनसँग जहिले पनि ठूलो लगानी जोडिन्छ। व्यक्तिगत र समूहमा शिक्षा, स्वास्थ्य, जलविद्युत, सञ्चार लगायत क्षेत्रमा लगानी आएको छ।

कुरा धेरै भए काम भएनन् भन्ने धेरैको गुनासो छ। तपाईं के भन्नुहुन्छ?

हामीसँग सीमित स्रोत छ। क्षमताभन्दा बढी अपेक्षा भयो। एनआरएन विदेशमा स्थापित हुन संघर्षरत छन्। ठूलो संख्यामा विदेश जाने परम्परा सुरु भएको २० वर्षमात्रै भयो। २०४६ पछि मात्रै धेरै नेपाली विदेश जान थालेका हुन्। २० वर्षमा डायस्पोराले जति काम गरेको छ त्यसलाई कम भन्न मिल्दैन। द्वन्द्व अवधि र अहिले पनि विदेशबाट नेपालमा भित्रिएको रेमिट्यान्सको ठूलो सहयोग गरेको छ। त्यसकारण कुरो धेरै भए काम भएनन् भन्ने तर्कमा दम छैन।

एनआरएनको लगानी उल्लेख्य रुपमा आउन नसक्नुको बाधक के हो?

अभियान सुरु हुँदा लगानीका लागि धेरै काम भए। एनआरएनसँग प्रत्यक्ष विदेशी लगानी ल्याउन सक्ने समूह धेरै छन्। उनीहरुले विदेशमा लगानी गर्न खोजिरहेका छन्। प्रत्यक्ष वैदेशिक लगानी नआउनुमा लगानी मैत्री वातावरण नहुनु नै प्रमुख बाधक हो। एनआरएनले अप्ठेरो बेलामा गर्ने काम गर्ने हो। राम्रो अवस्थामा लगानी गर्न आउने धेरै छन्।

एनआरएन ऐन र परिचयपत्रको माग पूरा भइसकेको छ। फेरि दोहोरो नागरिकताको माग गर्दै आउनुभएको छ। आवश्यक कानुनी व्यवस्था भइसकेपछि माग मात्रै गर्ने काम चाहिँ केही नगर्ने आरोप एनआरएनलाई लाग्न थालेको छ नि? हामीले त्यसरी माग केही पनि राखेका छैनौं। हिजोको नागरिकतालाई निरन्तरता देऊ भन्ने हो। नागरिकता खारेज नहोस भनेको हो। यसमा सबै सकारात्मक छन्। नागरिकता र लगानी जोडेर हेर्नु हुँदैन।

कुनै पनि देशको नागरिक १ सय ८३ दिन विदेश बसेमा एनआरएन हुन्छ। जहाँ बसेको छ त्यहाँ कर लाग्छ यो अवधिमा। २०६४ मा ऐन आउँदा यही परिभाषा रहेन। सरकारी परिभाषा अनुसार एनआरएन हुन २ वर्ष बाहिर बसेको हुनुपर्ने व्यवस्था छ। ६० मुलुकमा ३० लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। हाम्रो अनुरुप ऐन अझसम्म परिमार्जन भएको छैन। परिमार्जन भएमा संघ दर्ता हुने बाटो खुल्छ। अहिलेसम्म संघ दर्ता हुन नसक्नुमा ऐन नै बाधक छ।

एनआरएनलाई आम नेपालीले कसरी बुझ्ने?

सार्क मुलुकबाहेक नेपालभन्दा बाहिर बस्ने सबै एनआरएन हुन्। नेपालको जनसंख्याको १० प्रतिशत नेपाली विदेशमा छन्। शरीर बाहिर भए पनि मन यहीं छ। नेपालको आर्थिक सामाजिक विकासका लागि प्रयासरत समूहका रुपमा हामीलाई बुझ्दा हुन्छ।

 

एनआरएन पुल बन्नुपर्छ : देवमान हिराचन

गैरआवासीय नेपाली संघको अध्यक्षका लागि तपाईंको उम्मेदवारी किन?

एनआरएनको अभियानमा बाटो तयार भएको छ। यो अभियानबाट एनआरएनलाई ‘पुल’ बनाउन आवश्यक छ। अहिले ५७ देशमा रहेको नेटवर्कले ५७ योजना यो देशमा ल्याउन सकिन्छ। विदेशमा बस्ने नेपाली, स्वदेशी र गैरसरकारी संस्था लगायतका लागि एनआरएनलाई पुल बनाउन मैले पुन उम्मेदवारी दिन लागेको हो। एकपटकको नेपाली सधैंको नेपाली बनाउन नयाँ संविधानमा दोहारो नागरिकता राख्न सबै सहमत भइसकेका छन्। यसको १० प्रतिशत काम बाँकी छ। संस्था दर्ता गर्नुपर्ने काम छ। अरु धेरै काम मेरो घोषणा पत्रमा छन्। धेरै योजनाका लागि प्रस्ताव तयार पार्नुपर्नेछ।

उपाध्यक्ष जीवा लामिछाने र तपाईं दुवैले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। सहमतिको सम्भावना छ छैन?

सहमति जुटाउने विषयमा छलफल भइरहेको छ। सहमति नभए लोकतान्त्रिक विधिबाट अगाडि बढ्ने छौं। बुधबारबाट अधिवेशन सुरु भइसकेको छ। सहमतिका लागि कुरा भइरहेको छ। कसरी जाने भन्नेमा छलफल जारी छ।

एनआरएन अभियान पहिलेभन्दा कमजोर हुँदै गएको हो?

यो गलत आरोप हो। केका आधारमा एनआरएन अभियान कमजोर भएको मान्ने र पहिले केहो आधारमा राम्रो थियो भन्न कठिन छ। यो संस्था हो व्यक्तिले होइन सामूहिक रुपमा चलाउने हो। पैसाको लगानीसँगै ज्ञान र सिप नेपालमा आइरहेको छ। खुला विश्वविद्यालयको विषय मन्त्रिपरिषदबाट पारित भइसकेको छ। दोहोरो नागरिकता दिने विषयमा सहमति जुटिसकेको छ। एनआरएन कार्ड जारी भइसकेको छ। सुस्त र ढिला होइन पछिल्लो समयमा धेरै काम भएका छन्।

कुरा धेरै भए काम भएनन् भन्ने धेरैको गुनासो छ। तपाईं के भन्नुहुन्छ?

मिडियामा गलत सोचाइ आएको छ। ९ वर्षको अवधिमा संसारभर रहेका नेपालीलाई जोड्ने नेटवर्क बनाउनु ठूलो सफलता हो। ३० लाख नेपालीलाई साझा ठाउँमा ल्याउनु त्यति सजिलो विषय होइन। तत्कालै धेरै अपेक्षा गरेर धेरै आत्तिनु भएन। कुनै पनि काम गर्दा धैर्य चाहिन्छ। २० देखि ५० वर्षको योजना बनाएर जानुपर्छ। जापानमा एक मान्छे हुर्काउन ५० र बिरुवा हुर्काउन १ सय वर्ष लाग्ने ठानिन्छ। आजको भोलि नै फलको आश गर्नु भएन।

एनआरएनको लगानी उल्लेख्य रुपमा आउन नसक्नुको बाधक के हो?

लगानी आफ्नो क्षेत्रमा भएको छ। मैले पनि २ परियोजना नेपालमा सुरु गर्दैछु। ठूलो लगानी आइरहेको छ। नेपालमा वातावरण नभएपनि एनआरएनले लगानी गरिरहेका छन्। पैसाको लगानी मात्रै हेर्नुभएन अनुभव, ज्ञान र सिपको हस्तान्तरण लगायतलाई हेर्नुपर्छ।

एनआरएन ऐन र परिचयपत्रको माग पूरा भइसकेको छ। फेरि दोहोरो नागरिकताको माग गर्दै आउनुभएको छ। आवश्यक कानुनी व्यवस्था भइसकेपछि माग मात्रै गर्ने काम चाहिँ केही नगर्ने आरोप एनआरएनलाई लाग्न थालेको छ। तपाईं के भन्नुहुन्छ ?

यो आरोप पनि गलत हो। नेपालमा एनआरएनको संगठन दर्ता नजिक पुगेको छ। सरकारको कानुन र एनआरएन विधानमा फरक परेकाले अहिले सम्म संस्था दर्ता हुन ढिलाइ भएको हो। संस्था दर्ता गरेर अब अगाडि बढ्छौं। एनआरएनको उद्देश्य आफ्नो देशमा केही गर्ने भन्ने हो। यसका लागि वातावरण बनाउन अनुरोध गरिएको हो। अनुचित माग छैन।

एनआरएनलाई आम नेपालीले कसरी बुझ्ने?

बाहिर बस्ने नेपाली एक दुई पैसा र जानेको ज्ञान नेपालमा ल्याउन तयार छन्। नेपालमै रहेकासँगै एनआरएन हातेमालो गरेर अगाडि बढनुपर्छ। एनआरएन मात्रैले नेपाल बनाउन सक्दैनन्। विदेश र यहाँ बस्न एक भएर अगाडि बढ्नुपर्छ।

– नागरिकबाट

तपाईको प्रतिक्रिया