Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को विभिन्न पदहरुमा उम्मेदवारी घोषणा हुने क्रममा कोषाध्यक्ष पदको लागि जापानबाट ब्यवसायी भवन भट्टले उम्मेदवारीको घोषणा गर्नुभएको छ । यसअघि सोही पदको लागि जापानबाटै नम्रता पाण्डेले उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । लामो समयदेखि जापानमा रहेर व्यवसाय गर्दै आउनुभएका भट्ट नेपाल पर्यटन बर्ष २०११ का लागि अवैतनिक दूत समेत हुनुहुन्छ । उम्मेदवार भट्टद्वारा जारी गरिएको घोषणा पत्रको पूर्ण पाठ यस प्रकार छ ।

कोषाध्यक्ष पदमा उम्मेदवारीका लागि भवन भट्टद्वारा जारी घोषणा-पत्र

महान चाड दशैंसँगै विश्वभर रहेका नेपालीहरुको अर्को महानपर्व पनिसँगै आइरहेको छ । संसारका कुना काप्चामा रहेका नेपालीहरुलाई एकताको भावनात्मक साङ्लोमा गाँस्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) को पाचौं विश्व सम्मेलन हाम्रो सम्मुख रहेको छ । आजभन्दा आठ बर्ष अघि नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ स्थापना भएको गैर आवासीय नेपाली संघले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । यसले सार्क मुलुक बाहेक विश्वका विभिन्न छपन्न मुलुकमा छरिएररहेका नेपालीलाई भावनात्मक सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । एनआरएनए अव एक स्थापित नाम बनिसकेको छ भने नेपाल सरकारले पनि यसलाई सम्वोधन गर्दै ऐन र नियमावली ल्याइसकेको छ ।

पछिल्लो समयमा बाक्लिएको विदेशीने क्रमले करिब तीस लाख नेपाली देश बाहिर रहेका छन् । राष्ट्रको मेरुदण्डकारुपमा रहेका धेरै युवाहरु विदेशमा छन् । यस्तो अवस्थामा एनआरएन अभियानको सार्थकताले अझ महत्व राख्छ भन्ने मेरो बुझाइ छ ।गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापनाकालदेखि मेरो सक्रियताको पहिलो उद्देश्य भनेकै एनआरएन अभियानको निरन्तरता र यसलाई बलियो बनाउनु हो । म यस अभियानमा निरन्तर लागिरहने प्रतिबध्दता प्रकट गर्न चाहन्छु ।

अहिलेको अवस्थालाई नियाल्ने हो भने गैर आवासीय नेपालीहरुले नेपालमा विभिन्न सामाजिक कार्यको सुरुआत गर्नुको साथै स्वदेश र विदेशमा रहेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् । प्रवासमा आफू रहेको देशलाई विपत्ती र समस्या पर्दा पनि तन, मन र धनले सहयोग गरिरहेका छन् । उनीहरुको पीडामा मल्हम लगाउने प्रयास गरिरहेका छन् । एनआरएन जापानले सुनामी पीडितको सहयोगार्थ संचालन गरेको अभियान यसैको उदाहरण हो । एनआरएनको उद्देश्य अनुरुप हामी प्रवासमा रहेका नेपालीहरु जन्मभूमी र कर्मभूमीप्रति हामी उत्तिकै समर्पित हुनै पर्दछ भन्ने मान्यता राखेर तदनुरुप सक्दो गर्दै आएका छौं ।

एनआरएनको स्थापनाकाल देखि सक्रिय मैले एनआरएन जापानको राष्ट्रिय समन्वय परिषदको दुई कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्ष पदमा रहेर सफलतापूर्वक सम्पन्न गरिसकेको छु । त्यसअघि र पछि पनि एनआरएनको गतिविधि र यसको कार्ययोजनासँग अत्यन्त निकट रहेर आफ्नो क्षमताले भ्याएसम्म सघाउने काम गरिरहेको छु ।

२०११ को सेप्टेम्बर १७ र १८ मा एनआरएन जापानको आयोजनामा जापानको टोकियोमा करिब दुइलाख ब्यक्तिहरु सहभागी नेपाल महोत्सव सम्पन्न भएको छ । त्यस अवसरमा मेरो आफ्नै अध्यक्षतामा रहेको आयोजक कमिटीले एनआरएन जापानको पहलमा करिब एकलाख बीस हजार जापानी नागरिकलाई नेपाल बारे जानकारी दिन सफल भएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने छ । स्मरण रहोस, नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष २०११ लाई सफल बनाउन जापानका लागि नेपाल पर्यटन बर्ष नेपाली अवैतनिक दूतका रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छु ।

आफ्नो ब्यवसायका अलावा सामाजिक काम र नेपालीहरुलाई सहयोग नै मेरो ध्येय रहेको छ । एनआरएन जापानको अध्यक्ष रहँदा र अन्य पदमा रहेर कामगर्दाको अनुभव र अव एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदलाई थप मजवुत र गतिशिल बनाएर लैजानु पर्छ, एकपल्टको नेपाली सधैंको नेपाली भन्ने नारा ब्यवहारमा उतार्नुपर्छ भन्ने अभिप्रायले अक्टोवर १२ देखि १४ सम्म काठमाडौंमा हुने पाँचौं विश्व सम्मेलमा अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी ) को कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।

देशको आर्थिक विकास विना अन्य सर्वागिंण विकास असम्भव प्रायनै हुन्छ । त्यसैले देशको आर्थिक विकासकालागि केही योगदान पुगोस भनेर नेपालको पहिलो आर्थिक दैनिकको रुपमा कारोवारको सुरुआत गरेको छु । यो नेपालको आर्थिक विकासमा सहायक सिद्ध हुनुका अतिरिक्त सम्पूर्ण एनआरएनको साझा बन्नेमा विश्वस्त छु । एनआरएनमा मेरो योगदानको मूल्यांकन गर्दै मेरा श्रद्धेय अग्रजहरु, सहयात्री तथा सहकर्मीहरु र सम्पूर्ण एनआरएन साथीहरुले मलाइ यस गरिमामय पदमा निर्वाचित गराउनु हुनेछ भन्ने मेरो विश्वास रहेको छ । एनआरएन अभियानलाई सार्थक बनाउन तथा यसको स्थायित्व र यसका एजेन्डालाई अघि बढाउन सहयोग पाउनेमा आशाबादी रहेको छु ।

एनआरएन आइसीसीको कोषाध्यक्षको रुपमा मेरा केही एजेन्डाहरु

क. संस्थामा आर्थिक पारदर्शिता कायम राख्न पहल गर्ने छु ।

ख. आफ्नो कार्य अवधि अर्थात २ बर्षका बीचमा नेपालमा गैरआवासीय नेपाली संघको आफ्नै भवन निर्माणका लागि क्रियाशिल हुनेछु । दुई बर्षकाबीचमा एनआरएनएको आफ्नै छुट्टै भवन रहने छ ।

ग. एनआरएनए आइसीसीका दैनिक गतिविधि संचालन र यसको निरन्तरताकालागि एउटा कोषको स्थापनाका जोड दिने छु ।

घ. संस्थापक अध्यक्ष तथा एनआरएनएका बर्तमान प्रमुख संरक्षक डा. उपेन्द्र महतोज्यूको योजना हन्ड्रेड मिलियन डलर फन्डलाई ब्यवहारमा उतार्न प्रयत्नसिल रहनेछु । यस अभियानका अग्रजहरुको सहयोग र समर्थन पाएमा यस कार्यलाई अगाडि बढाउन कोषाध्यक्षको हैसियतले प्रमुख जिम्मेवारी लिने सोच बनाएको छु ।

ङ. त्यस्तै नेपालको पर्यटन प्रवर्धनकालागि विशेष ध्यान दिने छु । नेपाली राष्ट्रिय ध्वजाबाहक विमानसेवाको अवस्था राम्रो नभएको सबैलाई जानकारीमा नै रहेको छ । यसले स्वदेशी तथा विदेशी यात्रुलाई आवश्यक सेवा दिन नसकिरहेको र बार्षिकरुपमा अरवौं रकम विदेशिई रहेको छ । यस्तो अवस्थामा निकट भविश्यमा संचालन हुन लागेको भगवान बुद्ध एअरवेजलाई एनआरएनको साझा लगानीको परियोजनाका रुपमा अघि बढाउने प्रयास गर्ने छु । यसले नेपालको पर्यटन र समग्र आर्थिक विकासमा टेवा पुग्ने मेरो विश्वास छ ।

च. नेपालमा एनआरएनहरुको लगानी प्रवर्धनलाई महत्व दिदैं सामूहिक लगानीमा संचालन हुन सक्ने साना तथा ठूला परियोजनाहरु तयार गरी कार्यान्वयनका निम्ति वातावरण तयार विशेष पहल गर्ने छु ।

छ. म्युचुअल फण्ड सरकारले लागु गर्न नसकेको अवस्थामा BVI पद्धतीलाई लागु गरी म्युचुअल फण्ड खडा गर्ने प्रयास गर्ने छु ।

सामुहिक एजेण्डा

एनआरएनएको विकासकालागि हामीहरुसबैको सामूहिक एजेण्डाहरु पनि रहेका छन् ।

नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई सार्थक बनाउनु आवश्यक रहेको छ ।

त्यस्तै, गैरआवासीय नेपाली संघलाई एक टिमको रुपमा अघि बढाई, नेपालको चौतर्फि विकासमा टेवा पुर्याउने लक्ष्य रहेको छ । यसैलाई आधार बनाएर संस्था दर्ता गर्ने .

त्यस्तै, विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता त्याग्न नपर्ने प्रावधान आगामी संविधानमा राख्न राजनीतिक दलहरुलाई अनुरोध गरी तार्किक निष्कर्शमा पुराउनु आवश्यक रहेको छ भने सरकारलाई गैरआवासीय नेपाली ऐनलाई संसोधन गर्न अनुरोध गरि गैरआवासीय नेपालीको परिभाषालाई ऐनमा सच्चाउने र गैरआवासीय नेपाली संघको विधान अनुरुपको १८२ दिन भन्दा बढी सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने नेपाली तथा नेपाली मुलका विदेशीलाई गैरआवासीय नेपालीको परिभाषामा समेट्नु आवश्यक रहेको छ ।

अनुभव

  • कार्यसमिति सदस्य – गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान २००४–२००८
  • अध्यक्ष – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान २००८ -२०१०
  • विशेष सल्लाहकार – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान २०१०-२०११
  • संरक्षक – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान २०११
  • एनआरएन आइसीसीका सम्पूर्ण कार्यक्रममा ब्यक्तिगत र संस्थागत सहभागिता
  • संयोजक – नेपाल फेस्टिबल (जापान) २०११

शिक्षा

  • प्रारम्भिक शिक्षा – सिद्धार्थी बनस्थलि माबि
  • उच्च शिक्षा – टोकाइ विश्वविद्यालय जापान

व्यवसायिक संलग्नता

संस्थापक अध्यक्ष – टीवीआइ ग्रुप जापान (बहुराष्ट्रिय कम्पनी)

अध्यक्ष – टीवीआइ पब्लिकेशन्स काठमाडौं (कारोवार राष्ट्रिय दैनिक )

अन्य संलग्नता

अध्यक्ष – बीबी ट्रस्ट

अध्यक्ष – नेपाली ब्यवसायी संगठन जापान

अवैतनिक दूत – नेपाल पर्यटन बर्ष २०११

निर्देशक – जापान नेपाल सोसाइटी

संस्थापक

यदु भट्ट शिक्षा पुरस्कार एवं बीबी युथ अवार्ड

रचना

हीरा गीति एल्वम (गीत रचना)

यहाँहरुको साथ, सहयोगको आशा र भरोसाको अपेक्षा राख्दै काठमाडौंमा हुने पाँचौ विश्वसम्मेलनमा भेट्ने बाचा गर्दछु ।

भवन भट्ट

टोकियो, जापान

तपाईको प्रतिक्रिया