Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – टोकियोमा आइतवार एक दिवसीय ओशोधारा ध्यान शिविर सम्पन्न भएको छ ।

ओशोधारा जापान च्याप्टरको आयोजनामा ध्यान एवं तनावरहित जीवन जिउने कला विषयक प्रवचन सहित एक दिवसिय ध्यान शिविर सम्पन्न भएको हो ।

मानिसले आफ्नो जीवनमा, सुख शान्ति र आनन्द चाहन्छ, आफु मात्र होइन घर, छिमेक अनि राष्ट्रमा पनि शान्ति छावोस् भन्ने चाहन्छ । त्यसैले त मानिस जन्मदेखि सुख र शान्तिका लागि अनेकौं कर्महरु गर्दै आइरहेको छ । धनको माध्यमबाट पदको माध्यमबाट आफुलाई सुरक्षित र सुखी राख्ने प्रयत्न गर्दैछ । तर पनि मानिस अझैं जीवनमा केहि कुराको कमि भएको महसुस गर्दछ र कतै मेरो खोज के हो आफै अल्मल्लिएको त होइन भन्ने स्थितिमा पुग्दछ । या त मैले त ठिकै गरेको थिएँ अरुको कारण म दू:खको भुमरीमा परेको छु भन्न पछि पर्दैन । सन्त कवीरको एउटा श्लोक छ –
बुरा खोजन मै चला, बुरा न मिलिया कोई । जो अंतस देखा आपणा, मुझ सा बुरा न कोई  । उहाँ भन्नुहुन्छ खराव को छ भनेर सारा संसार मैले खोजें कोही पनि भेटिएन् । अन्तमा, आफ्नो अंतस्करणमा नियालेर हेर्दा आफूभन्दा खराव कोही पनि भेटिएन् । यो श्लोकमा जीवन रुपान्तरणको सार-सुत्र लुकेको छ । अरुलाई सुधार्न खोज्ने मान्छेले आफ्नो हीरा जस्तो जीवनलाई ढुंगाको मूल्यमा बेच्छ, र आँफूभित्र खोज्ने र स्वयंलाई नै सुधार्न खोज्ने मान्छेले आँफुभित्र नै हीरा प्राप्त गर्दछ ।

तर यो कुरा प्राप्त गर्न कुनै न कुनै गुरुको सहाराको आबश्यकता पर्दछ । गुरु त्यो हो जसले हामीलाई आँफूतिर फर्कने प्रेरणा दिन्छ र विधि बताईदिन्छ । धर्म हाम्रो स्वभाव हो भने, असली ध्यान हो विचारभन्दा पर जानु र स्वकेन्द्रमा प्रतिष्ठित हुनु । आँफूलाई सुधार्न खोज्ने मान्छेको अर्को लक्षण के हो भने आँफूले जे गहिरोबाट जानेको छ र प्रयोगमा ल्याएको छ त्यही नै बोल्छ र अरुलाई पनि त्यहि अनुरुप नै सिकाउँछ । यसरी उसको जीवन सत्यमा आधारित हुन थाल्छ र ऊ सत्यको जीवित प्रतिमूर्ति हुन पुग्छ । जो व्यक्तिको जीवन सत्यले भरिएको हुन्छ, उसको व्यक्तित्व र सौन्दर्य आँफै उसको जीवनमा अवतरित हुन थाल्दछ। परमगुरु ओशोका यिनै दर्शनहरु कसरी ब्यबहारिक जीवनमा लागु गर्ने भन्ने कुरा ध्यान, योगा र प्रज्ञा सत्रका माध्यमबाट ओशोधारा मैत्रीसंघ नेपालका अचार्यश्री ओशो निराकारले प्रस्तुति दिनुभएको थियो भने सहाचार्यको भूमिका डा .नम्रता पाण्डेले निभाउनु भएको थियो । सहभागीहरुका अनुभवहरुलाइ समेत समेटी सहभागितामुलक रुपमा गरिएको उक्त ध्यान शिविरले उपस्थित सहभागीहरुलाई जीवन जिउने कला प्राप्त भएको कुरा ब्यक्त गरेका थिए ।

कार्यक्रमपश्चात सहभागीहरुको अनुभव:
महेशकुमार श्रेष्ठ: मानिसलाई भौतिक र अध्यात्मिक दुवै जगतको बोध हुनु जरुरी छ भन्ने थाहा थियो तर आध्यात्मिक यात्रा भनेको बुढेसकालमा गर्ने कुरा ठानेको थिएँ, त्यो होइन रहेछ यो जीवन संसारको भागदौडमै बित्दा आफ्नो पनि उमेरले नेटो काटिसकेको हुन्छ त्यति बेला जीवन पूर्णरुपमा जिउन सकिएन भन्ने पश्चाताप गरेर केहि फाइदा रहेनछ । आज र अहिले नै सांसारिक जीवन पूर्णरुपले जिउने र आध्यात्मिक ज्ञानको पनि संगै बोध हुनु जरुरी रहेछ । त्यो बोधको लागि ध्यानको जरुरत रहेछ, जसले निर्मल, कोमल, शान्त अनि प्रेमपूर्ण बनाउदो रहेछ। ध्यानले मानिसको सोच विचारमा सकारात्मकता, प्रभावकारी एवं सन्तुलित व्यक्तित्वको निर्माण गर्दै आत्मविश्वास, उत्साह, आँट एवं जाँगरमा अभिवृद्धि गर्ने कुरामा दुइमत छैन । विचारमाथि नियन्त्रण, सिक्ने क्षमता, स्मरण शक्ति एवं एकाग्रतामा अभिवृद्धि, निर्णय एवं संकल्प क्षमताको विकास पनि ध्यानका फाइदा हुन् । बाहिर प्रेम र भित्र ध्यान भएमात्र ब्यक्ति स्वयम शान्त भएर जिउन सक्ने रहेछ ।

राजन प्रधानांग: मानिसमा बाहिरी ज्ञान, धन, पद सबै आवश्यक छ तर प्रेमपूर्ण, सहयोगी भावना अनि स्वयम शान्त रहन ध्यान चाहिने रहेछ । ध्यान गर्ने व्यक्तिले हरेक कर्मलाई ध्यानको गहिराईमा डुब्ने अवसरको रूपमा देख्ने र त्यसैअनुरुप ब्यबहारिक रुपमा प्रयोग गर्न सक्छ भन्ने कुराको बोध भयो । यस्ता कार्यक्रम जापानमा रहनुहुने नेपालीहरुलाई समय समयमा दिनु जरुरी छ । जो सौभाग्यशाली छ उसले मात्र यो अवसरको फाइदा उठाउन सक्छ ।

राजु ढकाल: बिगत केहि समयदेखि आफुमा आध्यात्मिक जागरण बढेको र यो कार्यक्रमले त्यो जागरणलाइ अरु मदत गर्ने छ । बाहिरको प्रगति बाहिर मात्र देखिन्छ तर भित्रबाट शान्त, शितल हुनु ज्यादै आनन्दको अनुभूति रहेछ । जब मानिसमा भित्रि दिप जल्छ तब बाहिरको अन्धकार आफै हटेर जांदोरहेछ। त्यो परम शान्ति र आनन्द प्राप्त गर्ने माध्यम ध्यान रहेछ ।

पबित्रा भट्टराई: जीवनमा हामीले जे गरेका छौं त्यो आफ्नो रोजाई र चाहनाले गरेका छौं । आफै कुनै पनि कुरामा दु:ख आउदैन, हाम्रो अपेक्षा पुरा भएन भने दु:ख लाग्दोरहेछ । दुख र सुख भन्दा माथिको आनन्द प्राप्त गर्न ध्यान नै अन्तिम उपाय रहेछ । ओशोधाराका कार्यक्रममा बेला बेलामा सहभागी हुने हुँदा यो कला मैले प्राप्त गरेको छु । यसलाई निरन्तरता दिन सकेमा आफ्नै जीवन आनन्दित बन्छ, यो आफैले प्राप्त गर्ने कुरा, आफैभित्र रहेको कुरा हो । अरुले दिन सक्दैन, तर गुरुको साहारा चाहिन्छ ।

पेम्बा लामा: जीवन सुखलेनै जिउने हो भन्दा भन्दै उमेर बितेको पत्तै भएन । कुन र कस्तो सुख खोजेको हो त्यो थाहा पाउन सक्नुपर्दो रहेछ । बाहिरी सुख र सम्पन्नताले भित्रको दु:ख नास हुदो रहेनछ । सुखको बाटो रोज्ने कि दु:खको त्यो आफ्नो हातमा रहेछ । आनन्दपूर्वक खुलेर जिउने हो भने ध्यान र ज्ञान, संसार र अध्यात्म दुवै चाहिने रहेछ । यो कार्यक्रमले मेरो आँखा खुलाईदिएको छ । यसलाई ब्यबहारिकतामा उतार्ने प्रयास गर्ने छु ।

शान्ति कार्की: हामीले आफ्नो वशमा भएको कुरा मात्र गर्न सक्छौं । अरुको वशमा भएको कुरा गर्न सक्दैनौं । सुख, शान्ति, आनन्द लिने कुरा हाम्रो हातमा छ त्यो हामी आफै गर्न सक्छौं । त्यसको लागि प्रज्ञा र ध्यानको आबश्यकता पर्नेरहेछ, जुन हामीले आफ्नै लागि आफुले मात्र गर्न सक्दा रहेछौं ।

समग्रमा सहभागीहरुले अरु कार्यक्रम अरुको लागि गरिइन्छ भने ध्यान, योगा भनेको आफ्नै लागि रहेछ । बाहिर बाहिर भड्केर, दौडेर मात्र शान्ति र आनन्द प्राप्त हुदोरहेनछ त्यसको लागि स्वयम् भित्र फर्कनुपर्ने , स्वयम्लाइ जान्नुपर्ने रहेछ त्यसैले हरेक कुराको सुभारम्भ आफैंबाट गर्नुपर्दछ । हामी आफ्नो मालिक आफै हौं । आफ्नो जीवनको ड्राइभर आफै हौं, त्यसैले जीवनको गाडी कुदाउनु अगाडी आफ्नो गन्तब्य थाहा पाउनु जरुरी छ भन्ने कुरालाई ध्यान शिविरले प्रयोगात्मक रुपमा प्रस्ट पारिदिएको र आफ्नो यो दिन अमुल्य, आनन्दित रहेको बताएका थिए।

अन्त्यमा डा.  नम्रता पाण्डेले सहभागी मित्रहरुलाई एवं आचार्यश्री ओशो निराकारको अदभुत प्रस्तुतिको लागि अहोभाव ब्यक्त गर्नुभएको थियो भने आचार्यश्री ओशो निराकारले यस्तो सुन्दर कार्यक्रमको आयोजना गरी आफ्नो प्रस्तुति राख्ने अवसर एवं कार्यक्रमको सुन्दर ब्यबस्थापन मिलाईदिनुहुने महेश श्रेष्ठ, राजन प्रधानांग र बिष्णु बानियालाइ अहोभाव ब्यक्त गर्दै, म्युजिकमा सहयोग गर्ने बिराज बानिया, धिराज बानियालाई धन्यवाद व्यक्त सहित सम्पूर्ण सहभागीहरुलाई आभार ब्यक्तका साथ नृत्यसंगै कार्यक्रमको समापन गर्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया