समाचार सुन्नुहोस :
काठमाडौँ – अल्लू अर्जुन अभिनित फिल्म पुष्पा २: द रूल बक्स अफिसमा लगातार सफलताको नयाँ अध्याय लेखिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, दोस्रो हप्ता सम्पन्न हुँदा यसले वर्ल्डवाइड १४०० करोड भारु भन्दा बढीको आम्दानी गरेको छ। फिल्मको कमाईमा अल्लू अर्जुनको गिरफ्तारीले नकारात्मक असर पार्ने भनिएता पनि, यो घटनाले उल्टै फिल्मको प्रचारमा मद्दत गरेको विश्लेषकहरूले बताएका छन्। १३ डिसेम्बरमा सन्ध्या थिएटर बाहिर भएको भागदौडका क्रममा एक महिलाको मृत्यु हुँदा अर्जुनलाई पक्राउ गरिएको थियो। उनी केही समयपछि रिहा भए पनि घटना व्यापक चर्चामा रह्यो।
ट्रेड विश्लेषक रमेश बालाका अनुसार, ‘गिरफ्तारी वीकेंडको सुरुवातमा भएकाले यसले प्रचारको काम गर्यो। चाहे राम्रो होस् वा नराम्रो, कुनै पनि प्रचार अन्ततः फिल्मका लागि फाइदाजनक हुन सक्छ।’ यो घटनापछि दर्शकहरूमा फिल्मप्रति रुचि बढेको उनले बताए। साथै, अर्जुनले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेपछि दर्शकहरूले उनको मानवीय पक्षको प्रशंसा गरेका छन्। विवादले फिल्मको प्रभाव र लोकप्रियतामा कुनै कमी ल्याउन नसकेको पुष्टि भएको छ।
अब, तेस्रो हप्तामा प्रवेश गरेको पुष्पा २ ले बलिउड स्टार शाहरुख खानको आवाजमा बनेको मुफासा: द लायन किंगसँग प्रतिस्पर्धा गर्नेछ। तर, पुष्पा २ ले यसबीच आफ्नो कमाईको आँकडा थप बलियो बनाइसकेको विश्लेषकहरूको अनुमान छ।