काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न असफल भएको टिप्पणी गरेका छन् । आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।
विश्वका विकसित देशहरूले जनताको गरिबीको अवस्थालाई सुधार गर्न नसकेको उनको भनाई छ । ‘सयौँ वर्षदेखि समृद्धि हासिल गरेका र विकसित देशका रूपमा चिनिएका राष्ट्रहरूले पनि गरिबी निवारण गर्न सकेका छैनन्,’ उनले भने, ‘जनतालाई भोकमरी र अभावको अवस्थामा नै छोडिएको छ ।’
प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी मात्र जनताको हितमा वास्तविक परिवर्तन ल्याउन सक्षम हुने दाबी गरे । उनले चीनको उदाहरण दिँदै भने, ‘चीनले केही पनि नभएको अवस्थामा हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्दै अभूतपूर्व विकास गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट सिक्न सकिन्छ कि कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्छ ।’