काठमाडौं – दक्षिण कोरियाको संसद्ले राष्ट्रपति यून सुक यउललाई १२ दिन अघि संक्षिप्त अवधिका लागि उनले लगाएको ‘मार्शल ल’ घोषणाका लागि महाभियोग लगाएको छ । यसअघिको महाभियोग विफल भएको भएपनि शनिवार दोस्रो पटक उक्त प्रस्तावमा मतदान हुँदा त्यो पारित भएको हो ।
उक्त प्रस्तावको पक्षमा २०४ मत परेको थियो भने ८५ मत विपक्षमा खसेको थियो । तीन जना सांसद अनुपस्थित भएका थिए र आठ वटा मत बदर भएको थियो। दक्षिण कोरियाको संसद्मा ३०० जना छन् । दुई तिहाई सांसदले महाअभियोगका पक्षमा मतदान गरेपछि सभामुखले महाभियोग पारित भएको घोषणा गरेका थिए ।
संसद् भवनबाहिर यो निर्णयप्रति खुसी व्यक्त गर्दै प्रदर्शनहरू भइरहेका छन् । यून अब राष्ट्रपतिबाट निलम्बित भएका छन् र दक्षिण कोरियाको संवैधानिक अदालतलाई उनको राजनीतिक भविष्यबारे निर्णय गर्न १८० दिनको समय हुनेछ । त्यसले उनलाई पदबाट हटाउन पनि सक्छ वा पुनर्बहाली पनि गर्नसक्छ । यो निर्णयसँगै दक्षिण कोरियाका प्रधानमन्त्री हान डक-सो कार्यवाहक राष्ट्रपति बनेका छन् । उनले स्थिर शासन दिन आफूले सकेको गर्ने बताएका छन् ।-बीबीसी