समाचार सुन्नुहोस :
काठमाडौँ – सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार ती व्यक्तिहरूसँग अनुसन्धानका क्रममा सोधपुछ भइरहेको छ।
प्रहरीले घटनामा प्रयोग भएको गाडी र संलग्न व्यक्तिहरूको पहिचान गरिसकेको जानकारी पनि दिएका छन्। स्कोरपियोले आइतबार बिहान नेपाल–भारत सीमा नजिक बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका ४८ वर्षीय यादवलाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि गाडी भारततर्फ फरार भएको थियो।
मृतक यादवको शव परीक्षण लहानस्थित प्रादेशिक अस्पतालमा गरिएपछि आइतबार साँझ नरहा गाउँपालिका–४ स्थित उनको घरमा अन्त्येष्टि गरिएको छ। यसअघि, अवैध मदिरा ओसारपसार गरिरहेको गाडी रोक्न खोज्दा यादवलाई योजनाबद्ध रूपमा किचेर हत्या गरिएको आरोप लगाउँदै उनका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गको लहान खण्ड अवरुद्ध गरेका थिए।