समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीले आगामी चीन भ्रमणका तयारीका लागि सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतसँग परामर्शका लागि बैठक आयोजना गरेका थिए। तर डा. भट्टराईले गृहजिल्ला गोरखा जान लागेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन्।
डा. भट्टराईले एक्समा प्रधानमन्त्रीलाई केही सुझाव समेत दिएका छन्। उनले नेपाललाई दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा चिनाउँदै भ्रमणका क्रममा यसलाई ख्याल गर्न आग्रह गरेका छन्। त्यसैगरी, नेपालले चीन र भारतजस्ता दुई उदयमान शक्तिहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै विशिष्ट भूरणनीतिक र भूआर्थिक स्थितिलाई व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले नेपालको कमजोर अर्थतन्त्रलाई सुधार गर्दै वैदेशिक व्यापार, पूँजी, प्रविधि, ज्ञान र सहयोगको अधिकतम उपयोग गर्नुपर्ने र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट विशेष फाइदा उठाउन सरकारलाई सुझाव दिएका छन्। पार्टीको तर्फबाट प्रधानमन्त्री र उनको टोलीलाई चीन भ्रमणका लागि शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।