समाचार सुन्नुहोस :
काठमाडौँ – भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपालले जानाजानी सीमा विवाद उत्पन्न गराएको आरोप लगाएका छन्। शनिबार ‘राष्ट्रिय एकता अभियान’द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले लिपुलेकजस्ता विवादित क्षेत्रलाई नक्सामा समेटेकोमा असन्तुष्टि व्यक्त गरे।
उनले नेपालको नयाँ नोटमा विवादित भूभागको चित्र राखिएको विषयप्रति दुःख व्यक्त गर्दै भने, “मैले ९४ देश भ्रमण गरेको छु, तर कुनै देशले छिमेकीसँगको सीमा विवादको चित्र आफ्नो नोटमा छापेको देखेको छैन।” भारत र चीनबीच पनि सीमाविवाद भए तापनि कसैले त्यसलाई नोटमा नछापेको उल्लेख गर्दै उनले यस विषयलाई संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखे।
जोलीले नेपाल-भारत सम्बन्धलाई ‘बेटी-रोटी’को ऐतिहासिक सम्बन्धभन्दा गहिरो बताउँदै दुई देशबीचको सांस्कृतिक र आपसी एकता बलियो राख्नुपर्नेमा जोड दिए। धर्म परिवर्तनको बढ्दो गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमा धर्म परिवर्तनविरुद्धको कानुन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।
नाकाबन्दीका बेला नेपालले भारतविरुद्ध संयुक्त राष्ट्र संघमा गुनासो पुर्याएकोमा पनि उनले असन्तोष व्यक्त गरे। दुवै देशबीच संवाद र सुझबुझका माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उनको धारणा थियो।