‘धिक्कार गरिबलाई त मासेरै छाड्ने भो ! असार मासमा पनि के को जुन लागेर बसेको हो ? रोपेको कोदो पनि सोरे भो अब । पोहोर साल पनि यस्तै भो मेला जान पाईएन । पछि सामालको जो हुन नसक्दा सिस्नो खोज्न जानु पर्ने भो । यसपाली पनि त्यस्तै हुने भो ।’ढाड कुप्रिएको, लफ्रक्कै भिजेको फरिया र रंग उडेको मझेत्रो ओडेकी जुनेली रछ्नमा रोपेको कोदो हेर्दै आकाशतिर फर्किन् । ‘दिउँसो त ठूलै पानी पर्ला जस्तो थियो अहिले त आकाशमा बादलको चिनै छैन् । टहटह जुन पो लागेको छ ।’
‘आमै अझै सुत्नु भएको छैन्’ । नजिकैबाट चिनेको आवाज आयो । ‘ए मास्टर पो बोलेका रहेछन्, अँ बाबु राती पानी आउँछकी भनेर आकाश तिर हेर्न लागेको बादलको त टुक्रै पो छैन्, गरीबलाई मार्ने भो बाबु यसपाली ।’ जुनेलीले एक्कै स्वाँसमा बोली । ‘अनि यो राती कता, भोली गैरीखेत रोप्ने भनेको होईन बाबु त्यही भएर खेतमा पुगेर आको ?’‘ अँ काकी खेतमा पुगे, कुलामा पानी थोप्पै छैन् । त्यही भएर काकीलाई भोली मेलामा आउनुपर्दैन पनि भनौं भनेर आको थिए । काकी त सुत्नु भो होला भनेको अझै सुत्नु भएको रहेनछ् ।’ मास्टरले मेलामा नआउन भन्यो ।
‘अब के गर्नु पानी नै नभएपछि के को मेला आउनु र बाबु’ । आँगनको डिलमा उभिएकी जुनेलीले भनिन् । ‘ए काकीले त कोदो पनि रोपि सक्नुभएछ । एक्लै मान्छे कति छिटो काम सकेर बसेको । कति वर्षको हुनु भो काकी’ उसले स्वाँसै नफेरी भन्यो । ‘खेतबाट आएको होला बस न बाबु नुनपानी पकाउछु खाएर जानु ।’ मास्टरले मुन्टो हल्लायो । ‘प्राय तिमी त हाम्रो घरमा छोरो बितेपछि आएकै छैनौं । खाली मास्टरनी आँउछे त्यो पनि कहिले काँही । हिजो रबि नाती आको थियो मेलामा आउनु रे हजुरआमा भन्थ्यो । छोरो त खुब असल रहेछ, तिमी जस्तै मिठो बोल्छ, जहिल्यै हजुरआमा भन्छ । त्यत्ति सानो छ खुब विवेकी रहेछ । म कोदो रोप्दै थिए । अलिक बेर बस्यो । अलिकति बारी खनिदियो र अन्तिममा जाने बेलामा मेला आउन भन्यो मैले त हार्नै सकिनं ।’
‘मास्टरनी आउँदा पनि त्यसै गर्थि । परिवार चाही तिम्रो खुब राम्रो छ है बाबु । छोरो खुब मिजासको लाग्यो । पहिला पहिला तिमी पनि त्यस्तै थियौं । काकी आमा भन्थ्यौं । के गर्नु बाबु आफ्नो त कर्मै यस्तै रहेछ । उमेरमा पनि एक्लै भईयो । बुढेस कालमा त झन एक्लो भईयो । नुनपानी हो समात ।’ कपमा चिया दिँदै जुनेली भन्न लागिन ‘के गर्नु चिनीको भाउ पनि कत्ति बढेको हाम्रो मास्टर गएपछि त !’ बुढी चिनी ल्याईदिने मान्छे कोही भएनन् मनमनले भनेझै गरी टक्क बोल्न अडिन् । मास्टरले चिया समाते । घर धुवाँले भरिएकाले मास्टरले माथि हेरयो ‘माथ्लो तलमा बुहारी बस्छिन काकी अनि भरयाङ टालेको ?’‘ अँ बाबु छोरा बितेको केही वर्ष त बुहारीसँग मिलियो । ससुरा पनि बितेपछि त उसको साहरा कोही भएन । माईत गएर बसेकी थिई । पोहोर साल राज्यले सहिदहरुलाई पैसा दिने भए पछि आएकी थिईन् । म बुढी उनी भर्खरकी कुरा मिल्ने कुरा भएन । अनि भिन्नो भईन बाबु अहिले त फेरी माईतै गएर बसेकी छन् । असारमा पनि आईनन् । खेतबारी बाँझो राखिदिनु पनि भएन । त्यही भएर तल्ला घरे काईलालाई खेत रोपिदिन भनेको छु बाबु । के गर्नु एक हलको मेलो मात्रै भए पनि रोप्नै परयो ।’
मास्टरले जुनेलीलाई रोक्दै भन्यो । ‘आमा अनि त्यो पैसा कसका नाममा राखेको छ । जे भए पनि हरिकै अनुहारको त्यो अभागी आकाश छ । उमेर पुगेपछि त्यसैको नाममा निकाल्न पाउने गरी राखिदिएको छ बाबु । म आमा भएपनि अस्ताउँदी घाम हुँ, उमेरकी बुहारीको के भरोसा । पछि त्यो बिथला पर्ला भनेर नाती कै नाममा राखुँ भनिदिएँ बाबु ।’‘हेडमास्टर आएका थिए । उनले पनि त्यसै भने । अध्यक्ष बुढा पनि आएका थिए बुहारीको नाममा पैसा राख्नु हुन्न नाती कै नाममा राख्नु पर्छ भने । पार्टीका मान्छेहरुले चाही पैसा बैंकमा राख्नु हुन्न कुनै आयआर्जन हुने ठाउँमा लगाउनुपर्छ भनेका थिए, मन मानेन । छोरो नभए पनि छोरो जस्तै नाती छ । त्यसको मुख पनि हेरिदिनै परयो । मैले त मेरो सास नगइन्जेल यो खेतबारीको लालपूर्जा समेत बुहारीलाई नदिने निर्णय गरेको छु । सक्छे कमार खानु परयो । न सके के गर्नु ?’
मास्टरले चिया खाईसक्यो । ‘काकी आमा भोली मेलामा नआउनुस् है म अहिले हिडे ।’ मास्टर हिड्यो । बुढीले ढोका लगाईन् । र खाटे ओछ्यानमा लगाएको ओछ्यानमा गएर पल्टिन । जस्केलामा बाँधेका बाख्राहरु बाहेक बुढीको साथी ठूलो पानासोनिक रेडियो थियो । कति बजो होला बुढिले रेडियो खोलिन् । रेडियो नेपालले नौ बजेको समाचार भन्दै थियो । बत्ति निभाएर सुत्नु परयो भनेर बुढी स्वीच थिच्न उठिन । स्वीचकै छेउमा पार्टीले बनाएर पठाएको छोराको सहिद क. हरि लेखिएको फोटो थियो । निधारमा रातो टिका, गलामा माला पहिरिएको सेनाको कपडा लगाएर हातले लाल सलाम गरेको हँसिलो अनुहारलाई उनी जहिल्यै सुत्ने बेलामा हेरेर मात्रै सुत्थिन् । आज पनि फोटो हेरेर सुत्न आँटेकी थिईन् ।
उनको हात अनायासै नजिकै रहेको रातो भेष्टमा गयो । भेष्ट समातेकी मात्र के थिएन । आँखाबाट आँशू थोपाहरु बग्न थालेछन् । मुजा परेका गालाबाट झरेका आँशुका थोपाहरु मुखमा पर्न थाले । उनी भेष्ट लिएर ओछ्यानमा पुगिन् । उनलाई खोकिलामा भेष्ट हालेर सुत्न मन लाग्यो । उनलाई हरि ७ वर्षको हुँदा बाले गान्टुकबाट ल्याएको रातो भेष्ट लाएर आफूसँग सुत्न लागेको गोरो, चुचो नाक भएको, पातलो ज्यानको नयाँ भेष्ट लाएर खुसीले साँझमै सुतेको हरिको याद आयो । उनि कोल्टे फर्किन । १० वर्ष अगाडि उही अगि भेट्न आएको हर्के मास्टर र छोरालाई भेट्न आएका पार्टीका मान्छेको याद आयो । झण्डै आफ्नै छोराका उमेरका ७ जना लोग्ने मान्छेर ४ वटी छोरी मान्छेहरु असारमा उनीहरुका घरमा आएका थिए ।
उनीहरुले २ दिनसम्म खेत रोपि दिएका थिए र असार पन्घ्र गते बेलुका पूर्णिमाको दिनमा यस्तै टहटह जुनलागिरहेको बेलामा गाँउलेहरुलाई भेला गराएर साँस्कृतिक कार्यक्रम गरेका थिए । सोही दिन बेलुका उनको हरि पनि तिनीहरुसँगै पार्टीमा हिडेको थियो । दिनभरि कोदो रोपेर बेलुका कार्यक्रममा के–के गीत तिनीहरुले गाएका थिए तर जुनेलीले मात्र ‘यो सरिर ढल्यो साथी हो लाल झण्डा झुक्न नदिनु क्रान्तिका लागि मरेर गयो आमालाई भन्दिनु, आमाले आँशु बगाउनु होला नरुनु भन्दिनु, पार्टीलाई मेरो यो कमिज दिनु सहिद भो भन्दिनु’ भनेर गाएको गीत मात्रै याद छ । जब छोरो तिनीहरुसँगै हिड्यो अनि जुनेलीले त्यो छोराले खेत रोप्दा लाएको रातो भेष्ट धोएर राखेकी थिईन् ।
छोरो बीचमा धेरै पटक घरमा आएको थियो ।उनले पार्टीमा नजान घरमा बस्न भनेकी हुन् । धेरै पटक उनी हरिसँग रोएकी पनि थिईन् । ‘बाबु यदि तिमी केहि भई हाल्यौं भने बाबु बुढा भएका छन् । बुहारी भर्खरकी छ । छोरा १ वर्षको मात्रै भो । तिमी नजिकै स्कुलमा मास्टर पनि भएका छौं, पार्टीमा नजाउ’ भनेकी थिईन् । ‘तर हरिले आमा म अहिलेसम्म तपाईको मात्रै छोरो थिए तपाईले मलाई माया गर्नुहुन्छ । आज भोलि आम नेपालीको छोरो भएको छु, तपाईका हिजोसम्म म र दिदीमात्रै छोरा छोरी थियौं अब तपाईका छोरा छोरी धेरै भएका छन् तपाईले आँशू नझार्नु होला । देशका लागि हिडेको छोरो केही भए हाले पनि नरुनुस् आमा म केही भईहाले भने पनि त साथीहरुले सबै व्यवस्था मिलाउँछन् पिर नमान्नु’ भनेर आफैले आँशु पुछि दिएर हिडेको थियो ।
पार्टीका मान्छे जति खेर आउँदा पनि उनले आफ्नै छोरा सम्झेर पनि खाना खान दिने, राम्रो हेरचाह गर्ने गर्थिन । ‘गाँउलेले तेरो छोरो मर्छ, यो बुढी आतंककारीकी आमा हो’ भन्दा पनि चुप लागेर सहेर बसेकी थिईन् । छोरो हिडेपछि मात्रै हर्क मास्टरले हरिकै ठाँउमा गणित पढाउन पाएको थियो । हरि गाँउमा बसुन्जेल गाँउका बुढा बुढी जम्मा पारेर परोढ पढाउँथ्यो । गाँउमा जाँड रक्सी नियन्त्रण भएको थियो । उ बेलुका बेलुका गाँउका भुराभरी जम्मा पारेर टिउसन पढाउँथ्यो । पढाउँदा पढाउँदै भुरा भुरीले नाँचगान गर्ने भने भने आफै हारमोनियम निकालेर बजाउँथ्यो । गाँउका सबैले हारमोनियम, मादल बजाउन हरिबाटै सिकेका थिए । हरि भनेपछि के बुढाबुढी के केटाकेटी सबै मरिहत्ते गर्थे । हरि पार्टीमा हिडेपछि हेडमास्टरले समेत आएर ‘गाँउनै सुन्ने भयो’ भनेका थिए । गाविस अध्यक्ष बुढाले आएर ‘हरि नभएको दशै नै आएन’ भनेर प्रत्येक दशैमा भन्ने गर्थे । दशै आउँदा हरि १५ दिन देखिनै साँस्कृतिक कार्यक्रमको तयारीमा हुन्थ्यो । केटा केटीहरुले त पोहोरको दशैमा समेत हरिदाई नभएर दशै नै आएन आमा भनेर घरमा नै आएर भनेका थिए । ‘हरि गयो की गाँउकै सह गयो आमा’ भनेर अस्ति मात्रै उसको केटाकेटी देखिको साथी हर्क मास्टरले पनि भनेको थियो ।
०५९ सालको असार ११ गते बेलुका पनि यस्तै जुन लागेको रात जुनेली रेडियो नेपाल सुनिरहेकी थिईन् । नौ बजेको समाचारले नै हो । सिमबेसी चौकी आक्रमण गर्न आएका आतंककारीहरु मध्ये ५ जना आतंककारीको घटना स्थलमै मृत्यू दर्जनौं घाईते, आक्रमण निस्तेज पारियो भन्ने समाचार भनेको । आमाको मन प्रत्येक घटना हुँदा आत्तिने गर्थ्यो । यो घटनामा झन बेसी आत्तियो । किनकी हरि त्यही क्षेत्रमा काम गर्ने गरेको खबर अलिक अगाडि मात्रै उनले थाहा पाएकी थिईन् । उनले रात्ति सपनामा छोरो रगतले लिथ्रुक्कै भिजेर पानी पानी भनेको देखिन । विहान भालेको डाकमा उठ्ने उनले आमा पानी भनेर छोरो रोएको देख्दै गर्दा तल्ला घरेको भालेको डाकले उनलाई उठाएको थियो । तत्कालै उनले ‘हरिका बा’ भनेर सँगै सुतेका श्रीमानलाई बोलाएर सबै सपना सुनाएका थिइन् । हरिको बाले उनलाई हाम्रो छोरालाई केही हुँदैन् । ‘जनताको लागि हिडेको छोरालाई ईश्वरले हात थाप्छन् ढुक्क हो’ भनेर सम्झाएका थिए । नभन्दै तीन दिन पछि त्यही एरियामा काम गर्ने एरिया सेक्रेटरी निमार्ण र त्यही आज आउने हर्क सर् आएर लामो फेहरिस्त सुनाएर अन्तममा ‘क. हरिले देश र जनताका लागि जीवन अपर्ण गरी आफ्नो मरणलाई पहाड भन्दा गह्रौं, सगरमाथा भन्दा उच्च, सागर भन्दा निर्मल बनाएर गएको बताएर आफूलाई हरि सम्झन भने र हरिले पुरा गर्ने सम्पूर्ण जिम्मेवारी पुरा गर्ने र उसको सपना साकार पार्ने प्रतिवद्धता जनाएका थिए । जुनेलीको लामो रुवाबासी तिनै प्रतिवद्धतामा आशाको दियो बालेर अड्किएको थियो । उनले अन्तमा ‘क. निर्माणलाई छोराले लिएको बाटो सफल पार्नु’भनेकि थिईन् ।
जब उनीहरुले छोरो सहिद भएको समाचार सुने । त्यसै दिनबाट गणना हुने गरी आफ्नो संस्कार अनुसार काजक्रिया गर्न थाले । रोगले सताएका हरिका बुबाले नावालक नातीलाई क्रिया गर्न नलागाएर आफै काजक्रिया गरे । उनको रोग र शोकका कारण १३ औं पूण्य तीथिकै मितिमा उनको पनि देहवासन भयो । झन जुनेली शोकमा परिन । दोहोरो क्रिया हुँदै गर्दा १ दिन क. निर्माण आएर क्रिया खर्च दिएर गएका थिए । त्यस पछि उनले निर्माणलाई अहिलेसम्म भेटेकी छैनन् । उनी यतिबेला कहाँ छन् कसैले पनि उनलाई बताएका छैनन् र उनले खोज्न पनि चाहेकी छैनन् । विगतका केही वर्षहरुमा त पार्टीका साथीहरु नियमित उनको घरमा आएर भैपरि आउँदा सहयोग गर्ने गर्थे । संकटकाल लागेको बेलामा पनि राति राति उनीहरु आउने गर्थे तर पछि पार्टी संविधान सभाको चुनावमा गएको थियो । संविधान सभाको चुनावमा पार्टीले उनलाई सहिद परिवारकी आमा भनेर खुब सम्मान गरयो । उनी धेरै कार्यक्रममा अतिथि पनि भएकी थिईन् । उनलाई आफ्नो ६१ वर्षीय उमेर पनि १६ वर्षे जस्तै लागेको थियो । टेक्नलाई लौरो टेकेर हिडेपनि उनी सबैलाई उत्साह दिने गर्थिन । उनले बारम्बार आफ्नो हरि र सभासदको उम्मेदवार निर्माणलाई एकै मानेकि थिईन । उनी भन्ने गर्थिन् मेरो हरिको खबर लिएर आउने मेरो छोरो पनि यहि निर्माण हो । यसले देशलाई नयाँ बनाउछ । देशमा शान्ति ल्याउछ । अब कुनै हरिहरुले देशलाई रगत बगाउनु पर्दैन् । हाम्रो दुःखका दिन गए बाबुहरु भन्दै भोट मागेकी थिईन् ।
उनले त्यसरी भोट मागेर जिताएको पनि २ वर्ष बितेर यति आयो । तर त्यस पछि निर्माण कहाँ छ । उनलाई थाहा छैन् । अस्ति गाउँको क्याम्पस उदघाटन गर्न निर्माण आउँछ भनेर उनी त्यहाँ गएकी थिईन् । निर्माण आउन त कार्यक्रममा आयो तर निर्माणसँग उसको छोरो पार्टीमा हिडेको छ । यो बुढी ले पार्टीका मान्छे पाल्छे भनेर पुलिसलाई खबर दिने गाउँको अध्यक्षको छोरो प्रल्हाद घिमिरेसँग पो आएको रहेछ । अगि पछि कहिल्यै बाटो नकाट्ने निर्माण त्यसदिन त्यही प्रल्हादकोमा खाना खाएर कार्यक्रममा आएको थाहा पाए पछि बुढीले निर्माणलाई नभेट्ने निर्णय गरिन र कार्यक्रम हेर्न गएको भए पनि बाख्रालाई घाँस काट्ने निउले तल हरिले जागिर खाएपछि सर्वप्रथम किनेको खेतमा पुगेर आएकी थिइन् ।
उनीलाई विगतमा हरिले गर्ने गरेका सबै कामहरु एकाएक आउन थाले । हरिकै अनुहारको नाती आकाशको पनि याद आयो । अनि तिनै बुढा जो आफू १५ वर्षकी हुँदा माईतबाट अन्माईएपछि ३८ वर्षसँगै बस्दा भोगेका दुःख सुखका सम्पूर्ण घटना सम्झिन् । उनलाई माईतमा आफू ७ वर्षकी हुँदा यही असारकै बेलामा खेत रोप्दा रोप्दै गोरुलाई खाजाका लागि घाँस काट्न जाँदा भिरबाट लडेर आमाको मृत्व भएको दिनको पनि याद आयो । उनी यस्तै असारमा जुनलागेको रात असार २९ गते जन्मिएकी थिईन र उनकी मावली हजुरआमाले जुनेली नाम राखिदिएकी थिईन् । असारकोबीचमा जुन लाग्नु अशुभ हो तर असार अन्तिममा जुन लाग्नु शुभ हो भनेर उनको नाम जुनेली राखिएको कुरा हजुर आमाले बारम्बार भन्ने गरेको उनी सम्झन्छिन् । तर उनी जन्मेदेखि कहिल्यै सुखि रहिनन् । आमाको मृत्यूको दिनपछि सौतेनी आमाले गरेको व्यवहार र त्यसपछि साँसुले दिएको सबै वर्तनहरु उनले सम्झिन् । उनको आशा त्यही छोरामा मात्रै अड्किएको थियो । उनले सँधै असार लागेपछि अर्काको मेलामा दिएको खाजा पोल्टामा ल्याएर दिएको सम्झिन । खरले छापेको घरमा ठूलो पानी पर्दा सुतेको बेलामा चुहिएको पानी छल्न र छोरो निन्द्राबाट नबिउझोस् भनेर आफ्नै काखी भित्र माउँ पोथीले चल्ला छोपे जसरी छोपेर राखेको सम्झिन । अनि छोरो मास्टर हुँदाको बन्दोबस्ती पनि सम्झिन र पोहोरसाल दशैमा चामल नभएर जुवाई छोरी टिका लगाउन आँउदा तिनै हर्केकी मास्टरनीबाट अक्षता सापट ल्याउनुपरेको सम्झिन् । पर्सीको दिनबाट उनेको फुर्सद थिएन् । पोहोर ज्वरोले गलाउँदा सापटी लिएको ७ सय पैसा तिर्न पनि अध्यक्ष बुढाकोमा मेला नै गइदिनुपर्ने थियो । नयाँ वर्षमा खसीको मासु पनि मेलामा आइदिने कवुलमा नकै खाएकी थिईन्।
उनलाई रातको कति घडि बित्यो पत्तै भएन् । उनी ढुक्क भईन जत्तिसुकै बजोस् पानी आको छैन् भोली मेलामा जानुछैन् । जे सुकै होस् भनेर कोल्टे फेरिन । उनको सम्झनाको त्यान्द्रो लम्बिदैथियो । धिक्कार यत्रो घर बनायो । राम्रो पढ्यो । गाँउको मास्टर थियो । सम्पती जोडेकै थियो । बुहारी असल थिईन् । तर आज ति सबै छैन । म पापीनी बालखैमा आमा टोके, उमेरमै छोरो र श्रीमान टोके । किन मलाई चाही आउँदैन पापी काल भनेर खोकिलामा च्यापेको भेष्टलाई हरि जन्मेको दिन जसरी उनले दुई हातले समातेर म्वाई खाएकी थिईन त्यसै गरी म्वाई खान खोज्दै थिईन त्यत्तिकैमा तल्ला घरे कार्इलाको भाले बास्यो । बुढी सहिदकी आमा जुनेली सँधैझै उठिन् र एक पटक सहिद हरिको फोटोलाई म्वाई खाईन र भेष्ट सधैको ठाँउमा झुण्ड्याएर चोखो पानी ल्याएर हरिलाई चढाउने निर्णय गरेर पँधेरातिर लागिन ।