काठमाडौँ – मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतका कार्यालयमा मनोनयन दर्ता गर्न सकिनेछ। साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ।
उपनिर्वाचनको तयारी पूरा भइसकेको छ। ३८ निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्, जसमा ३२ मुख्य र ६ सहायक कार्यालय छन्। मनोनयन दर्तापछि उम्मेदवारविरुद्ध उजुरी गर्ने समय मंसिर ३ मा बिहान १० देखि अपराह्न ३ बजेसम्म छ। उजुरी तथा मनोनयनको छानबिन गरी मंसिर ४ मा उम्मेदवारहरूको नामावली सार्वजनिक हुनेछ। मंसिर ५ मा उम्मेदवारले नाम फिर्ता गर्न सक्नेछन्, र त्यस दिनै अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ।
यो उपनिर्वाचन ४४ रिक्त पद पूर्तिका लागि आयोजना गरिएको हो। रिक्त पदमा जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिका प्रमुख/उपप्रमुख र विभिन्न वडाध्यक्षका पदहरू समावेश छन्। निर्वाचन ऐन, २०७३ अनुसार पद रिक्त भएमा र एक वर्षभन्दा बढी अवधि बाँकी रहेको अवस्थामा उपनिर्वाचनमार्फत पद पूर्ति गर्ने व्यवस्था छ।