समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन दरो रहेको र भत्किने सम्भावना नरहेको दाबी गरेका छन्। डडेल्धुरामा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि लिखित सहमति भएको बताएका छन्।
उनका अनुसार पहिलो दुई वर्ष एमालेको नेतृत्वमा ओलीको सरकार रहनेछ भने त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति छ। देउवाले संविधानलाई राष्ट्रिय हित अनुसार संशोधन गर्न तयार रहेको बताएका छन्। संविधान संशोधनका लागि दुई ठूला दलबीच सहमति रहेको र यसमा अन्य दलहरूलाई समेत सहभागी गराउने योजना रहेको उनले उल्लेख गरे।
सहकारी ठगीको विषयमा प्रतिक्रिया दिँदै उनले सरकार र प्रहरीलाई दोष लगाउनु गलत भएको बताए। “कानुनअनुसार काम भइरहेको छ, दोषीलाई कारबाही गरिनेछ,” उनले भने। डडेल्धुरामा शिवशिखर सहकारीले ४२ करोड रुपैयाँ हिनामिना गरेको विषयमा उनले पीडित बचतकर्ताको रकम सुरक्षित गर्ने आश्वासन दिए।