समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता बलियो बनाउन र आपसी सद्भावलाई अझ सुदृढ पार्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा रहेको वर्गीय, जातीय, लैङ्गिक लगायतका सबै प्रकारका विभेद र कुरीतिहरूको अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई एकतामा बाँध्न छठ पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
राष्ट्रपति पौडेलले यस पर्वले नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र समृद्धि ल्याउने शुभकामना व्यक्त गर्दै, छठ पर्वले समाजमा रहेका सबै प्रकारका विभेद र विसङ्गतिलाई अन्त्य गर्न मद्दत पुर्याओस् भन्ने कामना गरेका छन्। सूर्य देवता र छठी माताको पूजा गरी रातभर जाग्राम बसी, खोला तथा पोखरीका किनारमा मनाइने यस पर्वले हाम्रो संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान गर्ने उनको विश्वास छ।
विशेषगरी तराई-मधेश क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरूमा पनि श्रद्धा र भक्तिपूर्वक मनाउन थालिएकोमा उनले खुसी व्यक्त गरेका छन्।