समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ। तिहार सकिएपछि गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थानहरूमा छठको तयारी तिव्र भएको हो। उपत्यकाका विभिन्न नदी किनार र पोखरीहरू सिंगारिएका छन्। जहाँ श्रद्धालुहरूले चार दिनसम्म छठ पूजा मनाउने तयारी गरेका छन्।
छठ पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी अरबा-अरबाईन भोजन गर्छन्। दोस्रो दिन खरना पूजा गरी चामल, सक्खर र दूधको खिर प्रसादको रूपमा ग्रहण गर्छन्। तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको विधिवत समापन हुन्छ।
कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले तयारी लगभग सकिएको जानकारी दिएका छन्। उनका अनुसार कमलपोखरीमा २६० वटा टेन्ट निर्माण गरिए पनि बुकिङ चाहनेको संख्या ३ सयभन्दा बढी पुगेको छ। अर्का स्थानीय जितेन्द्र झाले छठलाई प्राकृतिक पूजा मानेर भगवान सूर्यनारायणको आराधना गरिने बताए। उपत्यकाका अन्य स्थानमा पनि छठको तयारीसँगै सरसफाई र सजावटको काम भइरहेको छ।