काठमाडौं – विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने खतरामा छन् । ‘इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर’ (आईसीयूएन)ले हालै प्रकाशित गरेको रिपोर्टले विश्वभरमा रुखविरुवाका ३८ प्रतिशत प्रजाति लोप हुने अवस्थामा पुगेको देखाएको छ ।
रुख विरुवाको विलुप्तीको खतराका बारेमा प्रकाशित यो पहिलो रिपोर्ट हो । आईसीयूएनका अनुसार विश्वभरका ४७ हजार २८२ प्रजातिका रुखविरुवा मध्ये कम्तीमा १६ हजार ४२५ प्रजातिका रुखविरुवा लोप हुने अवस्थामा छन् ।
रुखविरुवाको सबैभन्दा धेरै विविधता भएको दक्षिण अमेरिकाका १३ हजार ६६८ प्रजातिमध्ये दुई हजार २५६ प्रजाति विलुप्त हुने अवस्थामा पुगेका छन् । कृषि र पशुपालन गर्न गरिने वन विनाशले रुखविरुवा संकटमा परेको आईसीयूएनको रिपोर्टले देखाएको छ ।
पृथ्वीबाट रुखविरुवा लोप भएमा यसले पारिस्थितिक प्रणालीमा समेत गडबडी हुने खतरा आईसीयूएनले औंल्याएको छ । पाँच हजारभन्दा बढी प्रजातिका रुखविरुवा फर्निचरका लागि प्रयोग गर्ने गरिन्छ भने दुई हजारभन्दा बढी रुखविरुवाका प्रजातिबाट औषधि, भोजन र इन्धनका लागि उपभोग गरिन्छन् ।