Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – सिरहामा पाँच जना लागुऔषध सेवनकर्ताले फिल्मी शैलीमा आफ्नै साथीको हत्या गरेको खुलेको छ ।गोलबजार नगरपालिका-१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

गत असोज २८ गते बिहान सिरहाको सुखिपुर नगरपालिका-१० स्थित गागनखोलाको डिलमा आधा शरीर गाडिएको अवस्थामा प्रहरीले एक जनाको शव बरामद गरेको थियो । उक्त शव सिरहाकै गोलबजार नगरपालिका १३ डंग्राहा टोल बस्ने श्रीदेव मोचीका २१ वर्षीय छोरा कृष्णकुमार महराको रहेको पहिचान भयो ।

महराको हत्या गरी शव गाडिएको घटना भएको प्रष्ट भएपछि प्रहरीले अनुसन्धान अगाडि बढायो । शव भेटिएको अघिल्लो दिन अर्थात् असोज २७ गते राति गोलबजार-१३ का १९ वर्षीय रोहितकुमार महरा कृष्णकुमारसँगै घरबाट सुखिपुर नगरपालिका-१० शिव चौकमा दुर्गा मेलाको अवसरमा आयोजित नाचगान कार्यक्रम हेर्न आएका थिए । कार्यक्रममा साथीहरुसँग मोहम्मद जमसेद, धिरजकुमार राम, धर्मेन्द्र महरा र संतोष कुमार महरा पनि सहभागी हुन पुगे। सबै साथीको जमघट भएपछि नशा सेवन गर्नुपर्छ भनेर सल्लाह भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु कार्यक्रम स्थलदेखि पूर्व खोला नजिकैको चौरमा गएर पानीको बोतलको बंकर बनाई सो बंकरबाट गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

नशामा लठ्ठिएपछि कृष्णकुमारले नामथर नखुलेकी केटी साथीलाई बोलाउन फोन गरे । तर, उनका बाँकी साथीहरुले हामी पनि भेट्छौं भन्दा कृष्णकुमारले मानेनन् । विवाद सुरु भयो । विवाद बढ्दै गएपछि मोहम्मद जमसेद, धिरज, धर्मेन्द्र, सन्तोष, रोहित र अरविनकुमार महरा समेतले मिलेर कृष्णकुमारको हत्या गर्ने योजना बनाएको अनुसन्धानमा देखिएको छ । चारैतिरबाट घेरा हाली कृष्णकुमारलाई धारिलो कैचीले घाँटी तथा पेटमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यापछि कृष्णकुमारको शवलाई गागनखोलाको पश्चिमपट्टीको डिलमा खाल्टो खनेर कम्मर भन्दामाथिको भाग बालुवाले छोपेर उनीहरु भागेका थिए । उनीहरुले आफ्नै साथीको हत्या फिल्मी शैलीमा गरेको प्रहरीले जनाएको छ ।

कृष्णकुमारको हत्यामा संलग्न उनका पाँचै जना साथीहरुलाई कात्तिक २ गते पक्राउ गरी प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अगाडि बढाइसकेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिएका छन् । गोलबजार नगरपालिका–१३ डंग्राहा टोल बस्ने उदयनारायण महराका छोरा २७ वर्षीय सन्तोष कुमार महरा, श्यामकुमार महराका छोरा १९ वर्षीय रोहितकुमार महरा, गर्भा चमारका छोरा २१ वर्षीय धर्मेन्द्र महरा, सियालाल महराको छोरा १९ वर्षीय धिरज कुमार राम, मनसुर महमदको छोरा २० वर्षीय मोहम्मद जमसेदलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसन्धान भइरहेको एसपी पण्डितले जानकारी दिए ।

तपाईको प्रतिक्रिया