काठमाडौं – युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिएका छन् ।
जेलेन्स्कीले भनेका छन्, ‘अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङटनमा सहयोग जुटाउनका निम्ति काम गरिरहेको छ ।’
युक्रेनको उच्च प्राथमिकता रुसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । उनले भनेका छन्, ‘विभिन्न स्तरमा बैठकहरू भएका छन् र हाम्रो शीर्ष प्राथमिकतामध्ये एक हाम्रो रक्षा बलहरूका निम्ति दीर्घकालीन क्षमताहरू सुरक्षित गर्नु हो । खार्किभ र युक्रेनका अरू सहरहरूले सहन बाध्य भएको आतंकलाई रोक्न यो महत्त्वपूर्ण छ ।’
जेलेन्स्कीले सहरहरू र ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीसँग हवाई प्रतिरक्षाका बारेमा छलफल गरिरहेको पनि बताएका छन् ।