समाचार सुन्नुहोस :
काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन्। आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्दा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिए।
यादवले काठमाडौंवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे। उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु।”
यादवले काठमाडौँमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण र डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए। साथै, तराई–मधेसमा पानीको समस्या समाधान गर्न चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको बताए।