समाचार सुन्नुहोस :
काठमाडौँ – बंगलादेशमा प्रदर्शन र झडपका घटनाहरू बढेपछि देशभर कर्फ्यु घोषणा गरिएको छ। प्रधानमन्त्री कार्यालयले राजधानी ढाका लगायत विभिन्न सहरहरूमा हिंसाका घटनाहरू निरन्तर बढेपछि यो कदम चालेको हो। बीबीसीका अनुसार धेरै स्थानहरूमा सुरक्षा बललाई व्यापक रूपमा तैनाथ गरिएको छ।
प्रहरी र प्रदर्शनकारीबीच विभिन्न ठाउँहरूमा झडप भएका छन्। शुक्रबार नरसिङदीको कारागारमा आक्रमण भएको थियो । उक्त कारागारबाट सयौं कैदी भागेका छन् ।
सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले शान्ति र सुरक्षा कायम गर्न सेना परिचालन गर्ने योजना बनाएको बताएका छन्। बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन तीव्र बनेको छ जसका कारण दोहोरो झडपमा ३५ जनाको मृत्यु भइसकेको छ।