समाचार सुन्नुहोस :
काठमाडौँ – बंगलादेशमा हिंसा भड्किएपछि त्यहाँका कलेज तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। आरक्षणको विरोधमा भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि ४०० विद्यार्थी स्वदेश फर्किसकेका छन्। ढाकास्थित नेपाली दूतावासले विद्यार्थीलाई भारतीय सीमातर्फ सुरक्षित रूपमा जान सहजीकरण गरेको छ।
परराष्ट्र मन्त्रालयले बंगलादेशमै बस्न चाहने विद्यार्थीको सुरक्षाका लागि त्यहाँको सरकार र शैक्षिक संस्थासँग समन्वय गरेको छ।हिंसात्मक प्रदर्शनपछि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुँदा नेपाली विद्यार्थीहरूसँग सम्पर्क कठिन भएको छ। बंगलादेशमा करिब तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन्, जसमा अधिकांश चिकित्साशास्त्रका छन्। हिंसात्मक झडपका कारण उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
राजधानी ढाकामा इन्टरनेट र टेलिफोन सेवा बन्द छ। प्रधानमन्त्री शेख हसिनाले शान्त रहन आग्रह गरेकी छन्। बंगलादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्।