समाचार सुन्नुहोस :
काठमाडौँ – करिब साढे ४ किलो सुन जस्तो देखिने लेपन गरिएको कपडासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। बिहीबार दिउँसो सवा १ बजे एफ जेड ५७३ नम्बरको फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा ६२ वर्षीय विनयकुमार गोविन्दाभाई सागर र ५८ वर्षीय जितेन्द्रकुमार बालुभाई ढाकन रहेका छन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ क्षेत्र पार गरेर अन्तर्राष्ट्रिय आगमन टर्मिनल प्रवेशद्वारबाट नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत विकले जानकारी दिए।
उनका अनुसार, उनीहरूको झोला जाँच गर्दा भन्सार छली लुकाएर ल्याइएको सुन जस्तो देखिने पहेँलो रंगको लेपन गरिएको कपडासहित करिब साढे ४ किलोको सामान बरामद गरिएको छ। बरामद गरिएको सामान र पक्राउ परेकाहरूलाई थप सोधपुछ र अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको एसएसपी विकले बताए।