समाचार सुन्नुहोस :
काठमाडौँ – अस्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ। यो मे महिनामा ४.० प्रतिशत थियो। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रम बलको तथ्याङ्कले यो देखाएको छ।
तथ्याङ्क अनुसार, मे-जुन महिनाको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको संख्या ५०,२०० ले बढेको थियो। यसै अवधिमा बेरोजगारहरूको संख्या ९,७०० ले बढ्दा बेरोजगारी दर वृद्धि भएको हो। सहभागिता दर, जसले काम गर्ने उमेरका अस्ट्रेलियालीहरूको अनुपात मापन गर्छ, मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसका अनुसार, जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम थियो। समग्रमा, अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्ति जुन महिनामा सक्रिय रूपमा काम खोज्दै थिए। उनले भने कि बेरोजगारी दर गत वर्षको जूनको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्चको तुलनामा १.१ प्रतिशतले कम छ।
एबीएसको तथ्याङ्क अनुसार, मे-जुन महिनाको बीचमा अस्ट्रेलियालीहरूले काम गर्ने घण्टाको संख्या ०.८ प्रतिशतले बढेको छ। बिरामी भएकाले ४.५ प्रतिशत अस्ट्रेलियालीहरूले जून महिनामा सामान्य रूपमा काम गर्न सकेका छैनन्।