समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। आज आफ्नो निजी निवास खुमलटारमा तीनवटै सुरक्षा अङ्गका प्रमुखलाई बोलाएर उनले यो निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, दाहालले दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिँदै सबै उपायको प्रयोग गरेर खोजी कार्यलाई तीव्र बनाउने निर्देशन दिए। सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत, र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई उनले धन्यवाद दिए।
साथै, दाहालले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, र डुबान जस्ता प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। उनले राजनीतिक परिस्थितिका बाबजुद, स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित रुपमा जनताको सेवामा लाग्न आग्रह गरे।