समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको नयाँ प्रधानमन्त्रीको रूपमा सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारीमा छन्। शुक्रबार राति, नेपाली कांग्रेसको समर्थनमा, ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेश गर्न समय दिएका थिए।
राष्ट्रपति कार्यालयले जारी गरेको आह्वान प्रस्तावमा समय सीमाको अन्त्य आइतबार साँझ सम्म रहेकाले सोमबार मात्र शपथ ग्रहण हुनेछ। ‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अघि बढ्छ,’ राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले भने। सूचना अनुसार, आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। ‘आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी छ,’ स्रोतले भन्यो।
ओलीले शपथ लिएपछि एमालेका विष्णुप्रसाद पौडेल र कांग्रेसका प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनेछन्। सोमबार नै अरु मन्त्रीहरूको शपथ गराउने तयारी भइरहेको छ। ‘सम्भवतः १५ जनाको मन्त्रिपरिषद् सोमबार नै गठन हुनेछ, त्यसैको तयारी भइरहेको छ,’ स्रोतले भन्यो।