समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बेचन झाको गिरफ्तारीपछि सरकार ढल्यो भन्ने गलत धारणा नबनाउन आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले नेताहरूबीचको सहमति नमिलेकै कारणले वर्तमान सरकार ढलेको स्पष्ट पारे।
शाहीले भने, “टोपबहादुर रायमाझी संसद्को सदस्य हुन्, उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने। तर बेचन झा पक्राउ गर्दा सरकार ढल्ने भन्ने गलत धारणा नबनाऔं। सहमति नमिलेको, नेताहरूको शर्त नमिलेको कारणले सरकार ढलेको हो।” सांसद शाहीले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप लगाए।
उनले भने, “सरकारले कुनै एक व्यक्तिलाई पनि जेल हाल्न सकेको छैन। निर्मला पन्तको हत्यारा पत्ता लागेको छैन, जीबी राई पक्राउ परेका छैनन्, सहकारी ठगीका दोषीहरू जेलमा छैनन्, भुटानी शरणार्थी प्रकरणमा पनि केही मात्र व्यक्तिहरू जेलमा छन्।” उनले वर्तमान व्यवस्थामा सुधार आवश्यक रहेको र राप्रपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने बताए।