समाचार सुन्नुहोस :
काठमाडौँ – सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्तिका कारण राष्ट्रिय परिचयपत्र बनाउन कठिनाई भएकोले तत्कालका लागि यो निर्णय लागू नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।यसअघि, सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवाहरू लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो।
उक्त सूचनाअनुसार, सरकारको स्वामित्वमा रहेका निकायहरू, संस्था, तथा निजी क्षेत्रबाट प्रदान गरिने सार्वजनिक सेवाहरू प्राप्त गर्न वा माग गर्न १ साउनदेखि नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने भनिएको थियो।यसमा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, पेन्सन, कर तिर्न, सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो।
तर, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतलाई भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा भत्ता नै नपाउने अवस्था आउने भन्दै विरोध भएपछि यो निर्णय स्थगित गर्ने निर्णय गरिएको हो।