समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा असर नपर्ने गरी संविधान संशोधन हुने बताए। उनले भने, “दश वर्षको अवधिमा संविधान कार्यान्वयनको क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक छ।”
महामन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच भएको सात बुँदे समझदारीलाई पालना गरिने बताए। उनका अनुसार, पहिलो चरणमा एमालेको नेतृत्वमा सरकार बन्नेछ। पार्टीको कार्यसम्पादन समितिमा सात बुँदे समझदारीबारे व्यापक छलफल भइसकेको र यसलाई पार्टीले स्वीकार गरेको पनि उनले बताए। यस लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा नलिनुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने तापनि प्रतिपक्ष कमजोर बन्न नहुने बताए। उनले भने, “प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्छ। संविधानको अक्षरश: पालना गर्दै त्रुटि सच्याउँदै जानुपर्छ। संविधानको मूल मर्ममा कुनै संशोधन हुने छैन।”