Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा सरकारलाई राजस्व स्वरुप तिर्ने रकम बराबरको टाँसिने टिकट Syunyu Inshi को बारेमा जानकारी गराउने प्रयास गरिएको छ । जापानमा सम्झौतापत्र वा नगदी रसिद काट्दा कर तिर्नुपर्ने हुन्छ, त्यसबापत टिकट टाँस्नुपर्ने हुन्छ । राजस्व टिकट हुलाक अफिस अथवा कन्भिनियन्स स्टोरहरु किन्न पाईन्छ । व्यवसायिक सम्झौतापत्र वा नगदी रसिद जस्ता रकमी कारोवारका कागजात बनाउँदा प्रमाणित स्वरुप राजस्व टिकट टाँस्नु अनिवार्य हुन्छ । कागजातमा राजस्व स्वरुप टिकट टाँस्नुको अर्थ यसको प्रमाणीकरण हो । यसप्रकारका कागजातहरुमा टिकट टाँसिएको छैन भने यसको मान्यता हुँदैन र राज्यलाई तिर्नुपर्ने राजस्व नतिरी नियम उल्लङ्घन गरेको अर्थ लाग्छ ।

नगदी रसिदमा राजस्व स्वरुप देहायअनुसारले टिकट टाँस्नुपर्ने प्रावधान छ । पाँच मान येन सम्मको कारोवार भएको बिल भरपाई गरिएको नगदी रसिदमा टिकट टाँस्न पर्दैन । ५ मानभन्दा माथि १०० मान येन सम्मको कारोवार भएको बिल भरपाई रसिदमा २ सय येन, १ सय मान येनदेखि २ सय मान येन सम्मको रसिदमा ४ सय येन, २ सय मानदेखि ३ सय मानसम्मको रसिदमा ६ सय येन, ३ सय मानदेखि ५ सय मानसम्मको रसिदमा हजार येन, ५ सय मान येनदेखि १ हजार मान येनसम्मको नगदी कारोवार रसिदमा २ हजार येनको टिकट र १ हजार मानदेखि २ हजार मानसम्मको रसिदमा ४ हजार येनको राजस्वस्वरुप टिकट टाँस्नुपर्दछ । ग्राहकलाई यो अनुसार रसिद दिंदा ५ मान येन भन्दा तलको रसिदमा राजस्व टिकट टाँस्नु पर्दैन तर त्यो भन्दा बढिमा २ सय येनको राजस्व टिकट टाँस्नुपर्दछ । रसिदमा राजस्व स्वरुप टिकट टाँसिसकेपछि कम्पनीको छाप अनिवार्य लगाउनुपर्दछ, यदि छाप लगाएको छैन भने रसिद जारी गर्ने कारिन्दाले टिकटमा हस्ताक्षर गर्नुपर्दछ । छाप वा हस्ताक्षर बिनाको नगदी रसिद मान्य हुँदैन । किन भने टाँसिएको टिकट निकालेर अन्यत्र पुनः प्रयोग गर्न पनि सकिने भएकाले हो । त्यसैले ब्यवसाय गर्नेहरुले २ सय येनको टिकट सँधै जोहो गरिराख्नु उपयुक्त हुन्छ । यदि ५ मान येन भन्दा बढिको नगदी रसिदमा राजस्व स्वरुप लाग्ने टिकट टाँसिएको छैन नियमअनुसार लाग्ने टिकट बराबरको ३ गुणा रकम जरिवाना तिर्नुपर्ने हुन्छ ।

यसैगरी दुई वा दुईभन्दा बढि कम्पनी वा पक्षबीच गरिने ब्यवसायिक वा अन्य सम्झौता वा करारनामा पत्रमा देहायअनुसारको राजस्वस्वरुप टिकट टाँस्नुपर्ने प्रावधान छ । भौतिक संरचना निर्माण कार्य, ग्योउमु इताकु (आउट सोर्सिङ), रोजगारी, मानव संशाधन लगायतका काम सम्बन्धि समझदारी वा करारनामा पत्रमा लाग्ने टिकटको महशुल दर यसप्रकार छ ।

१ मान येन सम्मको कागजातमा टिकट टाँस्नुपर्दैन । १ मान येनदेखि १०० मान येन सम्मको कागजातमा २ सय येन, १ सय मान येनदेखि २ सय मान येन सम्मको लागि ४ सय येन, २ सय मान येनदेखि ३ सय मान येन सम्म १ हजार येन, ३ सय मान येन देखि ५ सय मान येन सम्मको लागि २ हजार येन, ५ सय मान येन देखि १ हजार मान येन सम्मका लागि १ मान येनको राजस्व बापत टिकट टाँस्नुपर्दछ ।

यसैगरी ऋण (कर्जा) लिएको सम्झौतापत्र अर्थात तमसुकमा १ मान येन सम्मको हो भने टिकट टाँस्न पर्दैन । १ मान येनदेखि १० मान येन सम्मका लागि २ सय येन, १० मान येनदेखि ५० मान येन सम्मका लागि ४ सय येन, ५० मान येनदेखि १ सय मान येन सम्मका लागि १ हजार येन, १ सय मान येनदेखि ५ सय मान येनसम्मका लागि २ हजार येन र ५ सय मान येनदेखि १ हजार मान येनसम्मका लागि १ मान येनको राजस्व स्वरुप टिकट टाँस्नुपर्दछ र टिकटमा पर्ने गरी अनिवार्य छाप वा हस्ताक्षर गर्नुपर्दछ ।

यसैगरी बिजनेस भिसा आबेदन गर्दा कसैबाट ऋण लिएको कागजात इमिग्रेशनमा बुझाउँदा राजस्व टिकट नटाँसिएको वा टाँसेको भएता पनि हस्ताक्षर नभएको भेटिने गरेको पाईएको छ । त्यस्तो अवस्थामा भिसा अस्वीकृत भएको घटनाहरु पनि प्रशस्त छन् ।

यसबाहेक अन्य कागजात सम्बन्धमा खाबुसिकी खाइस्या वा गोउदोउ खाइस्या स्थापना गर्ने बेलामा तेइखान (प्रवन्धपत्र) मा राजस्व स्वरुप टिकट ४ मान येन लाग्दछ । तर कम्प्युटरबाट तेइखान तयार गरी प्रक्रिया गरिएको अवस्थामा भने टिकट नटाँसे पनि हुन्छ । इन्भोइस (भौचरमा) भने टिकट टाँस्न पर्दैन । राजस्व टिकट भनेको हुलाक टिकट भन्दा फरक चीज हो एउटै होइन । राष्ट्रलाई तिर्ने कर बापत टिकट टाँस्ने हो । हुलाक टिकट भनेको हुलाकबाट चिठीपत्र पठाउँदा लाग्ने दुवानी खर्च हो । यस बिषयमा झुक्किन पनि सकिन्छ, सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
(पाठकहरुको अनुरोधमा पुनः प्रकाशित गरिएको)

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob. 080-5802-8

तपाईको प्रतिक्रिया